दोहा कतार : केही दिनयता मध्यपूर्वका दुई देशमा जारी युद्धले कतारलाई पार्न सक्ने प्रभावका बारेमा कतारले सम्भावित सबै परिदृश्यका लागि पूर्ण तयारी गरिसकेको छ । प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजेद बिन मोहम्मद अल अन्सारीले इजरायल र इरानबीच हालै देखिएको तनावबारे पत्रकार सम्मेलनमा कतार पूर्ण तयारीमा रहेको जानकारी दिए ।
उनले भने, “इजरायल र इरानबीच हुने तनावबाट उत्पन्न हुने सम्भावित सबै परिदृश्यका लागि कतार पूर्णरूपमा तयार छ । हामीले यसभन्दा पहिले पनि गम्भीर चुनौतीहरू सामना गरिसकेका छौँ र विजयी भएका छौं ।” प्रवक्ताले यसबीच यस क्षेत्रमा समुद्री यातायात सामान्य रूपमा सञ्चालन भइरहेको बताए । उनले तेल र ग्यास निर्यात पनि निर्वाधरूपमा जारी रहेको र अन्य क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय कम्पनीहरूको कारोबार पनि सामान्य अवस्थामा रहेको बताए ।
उनले तनाव नरोकिएमा यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिँदै सबै पक्षलाई कूटनीतिमार्फत विवाद समाधान गर्न आग्रह गरे । उनले कतारले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गरिरहेको बताउँदै कतारमा रहेका नागरिकहरूको सुरक्षामा कतार सदैव तयार तथा सुरक्षित रहेको बताए ।
दुवै देशले एकअर्काविरुद्ध गरेको मिसाइल आक्रमणका कारण हालसम्म कम्तीमा २४० जनाको मृत्यु भएको छ भने १३०० सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । इजरायलमा हाल करिब ७ हजार नेपाली रहेको अनुमान गरिएको छ ।