गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द नेपाली पोखरेल नियुक्त भएका छन् । पोखरेललाई काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए । स्वतन्त्र सांसद राजिब गुरुङले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै पोखरेललाई समर्थन गरे । नेकपा एमाले नेतृत्वको सरकारमा उनी मन्त्री समेत थिए । तर मन्त्री पद छोडेर गुरुङ विपक्षी गठबन्धन तर्फ उभिएका थिए । उनी पोखरेलको पक्षमा उभिएपछि ६० सदस्यीय प्रदेशसभामा ३१ सांसदको समर्थन सहित काँग्रेस नेता मुख्यमन्त्री नियुक्त भएका छन् । २०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्रको गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका थिए । तर एमाले र माओवादी केन्द्र बीच एकता भएर नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) बनेपछि पृथ्वीसुब्बा गुरुङ पाँच वर्षका लागि मुख्यमन्त्री बनेको अनुमान थियो ।
तर राजनीतिमा अप्रिय निर्णय र घटनाक्रम रोकिएन । गएको ५ पुसमा नेकपा विभाजित भयो । विभाजित नेकपामा पनि गुरुङको पद सुरक्षित नै थियो । २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रिया भंग गरिदियो । यसपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आयो । माओवादी अलग भएपछि एमाले नेतृत्वको सरकार धर्मराउन पुगेको थियो । नेकपा एमाले विभाजनको मोडमा छदैछ । तर गृरुङले मुख्यमन्त्री पद जोगाउने अनेक प्रयास गरे । नयाँ वर्षकै दिन अविश्वासको प्रस्ताव आउने भएपछि हठात् संसद् अधिवेशन नै अन्त्य गरिएको थियो । यसपछि विपक्षी गठबन्धनले विशेष अधिबेशनको माग गरे । १३ वैशाखमा अधिवेशन बोलाइयो । तर जनमोर्चाका सांसदहरु एक नरहेपछि विपक्षीको बहुमत बन्न सकेन । यसैबीच राजीब गुरुङ मन्त्री बनेका थिए ।
अनेक प्रयास गर्दा पनि पृथ्वीसुब्बा गुरुङले पद जोगाउन सकेनन् । नयाँ मुख्यमन्त्री निर्वाचित भएका थिए । यसले संसद् जोगिएको छ, तर पाँच वर्षे राजनीतिक स्थीरताको चाहना भने पूरा भएन । संभवतः अब कानूनले राखेको बाध्यकारी प्रावधान बाहेकले पूरा कार्यकाल कुनैपनि मुख्यमन्त्री टिक्न नसक्ने नजीर स्थापित भएको छ । यसले संघीयता कार्यान्वयनमा समेत आशंका उत्पन्न भएको छ । किनभने नेपालको संसदीय अभ्यास बिकृत हुँदा राजनीतिप्रतिको बुझाइ समेत नकारात्मक छ । अझ आमसमाजको विश्वास जित्ने अवसर समेत गुमेको छ । यसको प्रमुख कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्दै आएका असंवैधानिक र अराजनीतिक कदम नै हो । कुनै समयमा राजनीतिक नेतृत्वमा रहेकाले पनि यसको नैतिक जिम्मेवारी ओलीले लिनुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies