२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

बजेटमा सत्तारुढकै असन्तुष्टि

shivam cement
२०८२ असार ७ गते ०६:३५
बजेटमा सत्तारुढकै असन्तुष्टि

काठमाडौं : बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि देखा परेको छ । प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरू नरम सुन्छिन् । तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दलका सांसदहरू सरकार र मन्त्रीको आलोचनामा खुलेरै प्रस्तुत भएका छन् । 

जनता समाजवादी पार्टी सरकारमा छ । यो पार्टीकी सांसद रन्जुकुमारी झा सत्तारुढ भएकाले मागेको योजनामा बजेट पर्ने अपेक्षामा थिइन् । त्यसो हुन नसेकेको भनेर उनले संसद्मा दुःख व्यक्त गरिन् । 

‘चार वटा योजना दिएको थिएँ वैशाखमै । एउटा योजना पनि परेन’ उनले सुनाइन् । बजेटमाथिको छलफलमा को सत्तापक्ष र को प्रतिपक्ष छुट्टिन नसकेको उनको भनाइ छ ।

सांसद झाको प्रश्न छ, ‘यो बजेटप्रति न सत्तापक्ष सन्तुष्ट छ न प्रतिपक्ष नै । बजेट गयो कहाँ ? पैसा गयो कहाँ ? ७७ जिल्लाको समस्या किन समाधान गर्न सक्दैन बजेट ? गम्भीर समीक्षा जरुरी छ ।’ 

प्रमुख सत्तारुढ दल कांग्रेसका सांसदहरू त खुलेरै मन्त्री र प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा बजेट केन्द्रित गरेको आरोप लगाउँछन् । 

कांग्रेसका सांसद दीपक गिरी बजेटले जनता नै नदेखेको बताउँछन् । उनी भन्छन्, ‘यो बजेटले जनतालाई देखेन, न यो विकास मैत्री भयो । न लगानी मैत्री भयो । न त सरकार पक्ष सांसद मैत्री भयो ।’

बजेट शीर्ष नेता र त्यसमा पनि सत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको उनको आरोप छ । अगाडि थप्छन्, ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यही मैत्री बजेट भयो जस्तो मलाई लाग्यो ।’ 

बजेटप्रति आक्रोश पोखिरहेका सांसदहरू संसद्मा मन्त्री नदेखेपछि थप रुष्ट भएका छन् । कांग्रेस सांसद पूर्णबहादुर तामाङले त मन्त्री उपस्थित नभएसम्म आफू पनि नबोल्ने र अरूलाई पनि बोल्न नदिने भनेर रोष्ट्रम कब्जाकै प्रयास गरे । 

भौत्तिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल शुक्रबार संसद्मा थिएनन् । तर, उनी नेतृत्वको मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो । सत्तारुढ दलका सांसदले नै मन्त्री खोजेर रोष्ट्रम कब्जा गर्न खोजेपछि सभामुख देवराज घिमिरे नै अलमलमा परे । त्यसपछि सभाकै बैठक स्थगित गरिदिए । 

भौत्तिक पूर्वाधारमन्त्री पुगेपछि सभाको बैठक पुनः बस्यो । दोस्रो बैठकमा पनि तामाङले समय पाए । सरकारले योजना बनाएर बजेट नल्याएको भनेर आलोचना गरे । साना आयोजना बनाएर बजेट छरेको र त्यो छरेको बजेटपनि निश्चित क्षेत्रमा केन्द्रित गरेको भनेर प्रश्न गरे ।

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दीर्घकालीन नीतिगत सुधार हुने दाबी गरेका थिए । 

अर्थमन्त्री पौडेलले बजेटले नीतिगत सुधारको बाटो अबलम्बन गरेको दाबी गरिरहँदा संसद्मा उनको र सरकारको आलोचना भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise