काठमाडौं : भिजिट भिसा प्रकरणमा संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक चौथाइ सांसद विदेश यात्रामा निस्किएका छन् ।
सभापति रवि लामिछाने थुनामा रहेको र इन्दिरा रानामगर उपसभामुख भएकाले त्यसैपनि रास्वपाका सांसदको संख्या कम छ । त्यसमाथि रास्वपाका प्रभावशाली सांसदहरू देशबाहिरका कार्यक्रमका लागि निस्किएका छन् । आइतबार बैठकमा रास्वपाका धेरै सांसदहरू अनुपस्थित थिए । उपस्थित सांसदहरूले नाराबाजी र वेल घेराउ गर्र्दै बैठक बहिष्कार गरेका थिए ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, सांसद तोसिमा कार्की, गणेश पराजुली, हरि ढकाल र सोविता गौतम अहिले विदेश यात्रामा छन् । संसदीय उपस्थितिमा आएको यस पातलो उपस्थितिका कारण संसदभित्र पार्टीको प्रभाव खस्किन थालेको नेताहरू बताउँछन् ।
कार्यवाहक सभापति अर्याल कतारमा छन् भने सांसद कार्की अमेरिका भ्रमणमा छिन् । उनीहरूले सामाजिक सञ्जालमार्फत प्रवासी नेपाली समुदायसँगका अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको जानकारी सार्वजनिक गरेका छन् ।
अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने उनको कार्यक्रम छ । उनले फेसबुकमा जुन २१ देखि २९ सम्म विभिन्न शहरमा हुने भेटघाट कार्यक्रमको तालिका रहेको जनाएकी हुन् ।
यस्तै सांसद पराजुली अष्ट्रेलियामा छन् । उनले सिड्नी र क्यानबेरामा रास्वपा निकट प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा गएका हुन् । उनले सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।
त्यस्तै सांसदहरू ढकाल र गौतम भारतको बैंगलोरमा छन् । उनीहरूले रास्वपाको कर्नाटक राज्य समिति गठन गर्दै फेसबुक मार्फत् जानकारी दिएका छन् ।
पार्टीका प्रभावशाली सांसद र नेताहरू एकैपटक देश बाहिर जाँदा संसद्भित्र पार्टीको उपस्थिति कमजोर भएको उनीहरूको भनाइ छ । ‘पार्टीले उठाएको महत्त्वपूर्ण मुद्दालाई सरकारले सुनेको छैन, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पनि साथ छोडेको छ । यस्तो अवस्थामा पार्टीका प्रभावशाली नेताहरू नहुनुको असर संसद्मा देखिएको छ’, ती नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनका अनुसार विदेशमा पार्टीको कार्यक्रम पछि सारेर गर्दा पनि हुन्थ्यो ।
रास्वपा भित्रै यसरी एकैपटकको विदेश लर्कोप्रति असन्तुष्टि पनि देखिएको छ । संसदमा अवरोधको नाममा उपस्थिति जनाउँदै खाली कुर्सी छाड्ने र बहिष्कार गर्ने शैलीले पार्टीको संस्थागत विरोध क्षमता कमजोर भएको विश्लेषण गरिँदैछ ।
‘रास्वपा लगातार सत्ता र परम्परागत राजनीतिक शैलीको आलोचक बन्दै आएको छ । तर आफ्नै सांसदहरूको कार्यशैली र विरोधको निरन्तरतामाथि प्रश्न उठिरहेका बेला संसदको मञ्च छाडेर विदेश भ्रमण गर्नुले पार्टीभित्रको अनुशासन र प्राथमिकताको असन्तुलन झल्काएको छ’, ती नेताले भने ।