काठमाडौं : नेपालको वित्तीय क्षेत्रमा नै पहिलो पटक वालेटमा रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ । डिजिटल वालेट खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको हो ।
यो सुविधाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन् । बचतमा न्यूनतम एक सय रुपैयाँबाट सुरु गर्न सकिने यस सुविधामा दैनिक, साप्ताहिक वा मासिक अनि बचतको अवधि ६ महिनादेखि ६० महिनासम्म छनोट गर्न सकिनेछ ।
नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने आरडी ब्याज दरअनुसार नै लागू हुने जनाइएको छ । प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपमै आफ्नो डिपोजिटको स्ट्याटस ट्रयाक गर्न पाउनेछन् भने रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुनेछ ।
बचतको बानी र सरल वित्तीय पहुँचका लागि यो सुविधा निकै नै उपयोगी रहने र हरेक व्यक्तिले यस ‘डिसिप्लिनरी इन्भेस्टमेन्ट टुल’ बाट लाभ लिन सक्ने कुरा खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहाल बताउँछन् । ‘यस सहकार्यबाट सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ’, मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिलसिनाले भने ।