२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

माधव नेपालविरुद्ध झाँक्रीको टिप्पणी- 'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, नेतृत्व फेरौं'

Nada
२०८२ असार १५ गते १३:२६
Shares
माधव नेपालविरुद्ध झाँक्रीको टिप्पणी- 'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, नेतृत्व फेरौं'

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा गहिरो संकट उत्पन्न भएकाले पुनर्गठन गर्नुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेकी छन् । शनिबार लुम्बिनी प्रदेशमा पार्टी निकट युवा संघको भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि नै प्रश्न उठेको अवस्थामा अब "काँधमाथि मरेको सिनो बोकेर हिँड्न नसकिने" भन्दै अर्ली महाधिवेशनको माग गरेकी हुन् ।

ncell

उनले पार्टीभित्रको नेतृत्व संकट अध्यक्ष नेपालकै कारण आएको आरोप लगाउँदै भनिन्, “अब पार्टी पुनर्गठन गरेर अघि बढ्ने हो, संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशनबाट नयाँ नेतृत्व छानौं ।”

पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइ विशेष अदालतमा धरौटीमा रिहा भएका नेपालमाथि कानुनी र नैतिक संकट उत्पन्न भएको भन्दै झाँक्रीले पार्टी संरचना नै पुनर्गठन गर्नुपर्ने जिकिर गरिन् । “कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो, अरु कैयौं सदस्यमाथि पनि प्रश्न उठेका छन्,” उनले भनिन्, “अब पार्टीलाई संकटबाट उठाउने हो भने नयाँ बाटो रोज्नुपर्छ ।”

उनको धारणा अनुसार, वर्तमान केन्द्रीय समितिबाट पार्टी अघि बढ्न नसक्ने र त्यो संरचनाले पार्टीको विघटनलाई मात्र तिव्र बनाउने खतरा रहेको छ । झाँक्रीले मतदाता नामावली सारेर ल्याइएका र टीका लगाएर बनाइएका नेताहरूद्वारा पार्टी निर्माण सम्भव नरहेको भन्दै भनिन्, “अब हलबाटै नेतृत्व छानौं । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ ।”

एमाले विभाजनपश्चात माधव नेपालको नेतृत्वमा झाँक्रीले सक्रिय भूमिका खेलेकी थिइन् । तर पछिल्लो समय नेपाल र झाँक्रीबीचको सम्बन्धमा दरार देखिएको छ ।

पूर्वप्रधानमन्त्री नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको संलग्नता किटानी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । विशेष अदालतले साउन १३ गते उनलाई पुनः उपस्थित हुन तारेख दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर