काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले उक्त कम्पनी आफ्नो नाममा रहेको भएपनि भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गरे ।
उनले सांसद खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरे । शनिबारको सभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बैं रूपैयाँ असुल गरेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए ।
अर्यालले भिजिट भिसाको नाममा भएको बदमासीविरुद्धको आन्दोलनबाट पछि नहट्ने पनि जिकिर गरे ।
उनले भने, ‘सभामुख महोदय कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौं । हाम्रो आन्दोलन जारी छ । निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ ।’
उनले मन्त्रीको पिए बसेर भिजिट भिसामार्फत तस्करी गरेर जेल बसेकाहरु समेत यही संसदमा रहेको टिप्पणी समेत गरे ।