२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संगीतकार वाग्लेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

ADV
मध्यान्ह
२०८१ असार २८ गते १८:१२
संगीतकार वाग्लेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले संगीतकार बिपी वाग्लेलाई संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ प्रदान गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशकसम्म क्रियाशील रहेर चर्चित बनेका वाग्लेले नेपाल सरकारबाट प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार पाए ।

काठमाडौंको सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित सो कार्यक्रममा काठमाडौं क्षेत्रका नौ जना प्रतिभावान व्यक्ति तथा संस्थालाईसमेत सम्मान गरिएको थियो । संगीतकार वाग्लेलाई असाधारण सिर्जनशीलता, उद्यमशीलता र नेपाली युवामा आफ्नो गीत/संगीतको माध्यमबाट सकारात्मक प्रभाव पारेको भन्दै देशव्यापीरुपमा प्राप्त आवेदकहरुमध्येबाट सर्वोत्कृष्ट युवा प्रतिभा घोषित गरिएको हो ।

विशेषगरी बालबालिकाका लागि उनले आफ्नो सांगीतिक प्रयास प्रस्तुत गरेका छन् । मनोरञ्जनका अलावा सामाजिक चेतना, रुपान्तरण र समग्र सामाजिक विकासमा केन्द्रित वाग्लेका गीतहरु नेपाली समाजको प्रमुख सांगीतिक बिकल्प बन्दै गएका छन् । सो समारोहमा वाग्लेले बालबालिकाको मनोरञ्जन र मनोवैज्ञानिक विकासका लागि थप गीतहरु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । निकट भविष्यमा धेरै सिर्जना सार्वजनिक गर्ने योजना रहेको उनको भनाइ थियो ।

विगत दुई दशकदेखि नेपाली गीतसंगीतको विकास र विश्वव्यापी मान्यतामा महत्वपूर्ण योगदान पुर्‍याएका वाग्ले प्रकृति प्रेम, ध्यान र बौद्धिक विकासजस्ता विषयवस्तुलाई सम्बोधन गर्ने विशेष क्षमता भएका संगीतकर्मी मानिन्छन् । आफ्नो संगीतलाई अन्य भाषामा अनुवाद गरी विश्व स्रोतासम्म पुर्‍याउने लक्ष्यअनुसार काम अघि बढिरहेको उनले बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय युवा प्रतिभा पुरस्कारले सम्मानित हुने व्यक्तित्वहरुको कलात्मक उपलब्धिलाई मात्र नभइ बृहत् मानवीय फाइदाका लागि उनीहरुले देखाएको समर्पणलाई पनि जोड दिइएको बताए । कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु, मन्त्रालयका सचिवहरु, सहसचिव तथा अधिकृतहरु तथा नागरिक समाजका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise