काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।
योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले निजामति सेवा विधेयकमा चलखेल स्वीकार्य नहुने बताए । उनले यस विषयमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’
अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए । ‘यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौं । अहिले पनि त्यो प्रवृत्ति जारी छ,’ उनले भने ।