२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

हामफालेर जोगियो ज्यान

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २८ गते २१:१४
हामफालेर जोगियो ज्यान

रौतहट : उपचार गराएर गणपति डिलक्सबाट घर फर्किँदै गरेका यात्रु हामफालेर ज्यान त जोगाए तर सँगै बसेका यात्रुलाई बचाउन सकेनन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा अरु बेपत्ता भएपनि तीन जना भने पौडिएर बाँच्न सफल भए ।

रौतहटको देवाही गोनाही नगरपालिकाका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रुले हामफालेर जीवन जोगाए । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसबाट नारायणगढ ल्याइएको छ । 

रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए ।

उपचार गरेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । 

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता डिस्चार्ज भएका छन् । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । 

शुक्रबार बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले बगाइ त्रिशूलीमा बेपत्ता भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागे पनि बस र यात्रु फेला परेका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise