काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको 'गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित' आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खण्डन गर्दै भनेका छन्, 'फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।'
टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई 'राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने' भन्दै जवाफ फर्काएका हुन् । उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, 'बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु- फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।'
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । उनले भने, 'म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।'