२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

कांग्रेस बैठक : एजेण्डा विषयान्तर, वाक युद्धमा नेताहरू

shivam cement
जीवन शर्मा
२०८२ असार २० गते ०६:४५
कांग्रेस बैठक : एजेण्डा विषयान्तर, वाक युद्धमा नेताहरू

काठमाडौं : गत १६ असारबाट जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्तावित विषयगत एजेण्डाभन्दा बाहिर गएर नेताहरू ‘वाक युद्ध’मा उत्रिएका छन् । पार्टीको बैठकलाई सौहार्द, मर्यादित र व्यवस्थित बनाउँदै प्रस्तावित एजेण्डामाथि वैचारिक र समीक्षात्मक बहस गर्नुपर्नेमा नेताहरू एकअर्कोप्रति आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । 

जारी केन्द्रीय समिति बैठक नेताहरूको आपसी विष वमन गर्ने थलोका रूपमा विकास हुँदै गएको कतिपय नेताहरूले टिप्पणी गरेका छन् । सोमबारदेखि सुरू भएको बैठकमा विभिन्न १३ वटा एजेन्डाहरू तय भएपनि विषयवस्तुभन्दा बाहिर आसपी हिलो छ्याप्ने अभिव्यक्तिलाई निरन्तरता दिएका छन् । यसलाई व्यवस्थित गर्न स्वयम सभापति शेरबहादुर देउवालेसमेत सशक्त भूमिका निर्वाह गरेको देखिदैन् । बैठकमा बिहीबारसम्म करिव ६० जना केन्द्रीय सदस्यहरूले धारण राखिसकेका छन् । 

यसबीचमा एक पक्षले व्यक्तिगत रूपमा आक्रोश पोख्दै गर्दा अर्को पक्ष जवाफमा थप आक्रोशित हुने दृश्य सोमबारदेखि नै देखिन देखिएको छ । बैठकमा भएका गर्मागर्मीलाई नेताहरूले नै सार्वजनिक गरेर मिडियामा समेत छताछुल्ल बनाएका छन् । 

बिहीबार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी मोहन बस्नेतविरूद्ध खनिए ।  बुधबार महामन्त्री गगन थापाविरूद्ध बैठकमा कडा अभिव्यक्ति दिएका बस्नेतलाई काउण्टर दिदै शिवाकोटीले भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको टिप्पणी गरे । ‘भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको छ’, उनले भने ‘प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्रीविरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौं ? कांग्रेसमा मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन ?’ 

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बस्नेतले बुधबारको बैठकमा महामन्त्री थापाविरूद्ध आक्रमक अभिव्यक्ति दिएका थिए । ‘म अन्याय सहन्न, अन्तिमसम्म लड्छु, प्रतिकार गर्छु । धेरै महत्त्वकांक्षा बोकेर दौडिनेहरू होस् गर्नुस्, ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला ।’

आफूलाई अख्तियारले मुद्दा चलाउनमा महामन्त्री थापाको समेत भूमिका रहेको उनको दाबी छ । बस्नेतले भनेका छन’, ‘महामन्त्री गगनजी मलाई मात्रै होइन, बालकृष्ण खाणलाई पनि समाउनुपर्छ भनेर अख्तियारमा लाग्नुभयो, मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि ! तपाईंको बारेमा हामीले भनिदिएको छैनौं । महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न,’ बस्नेतले केन्द्रीय समिति बैठकमा भने, ‘यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन ।’

आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई महामन्त्री गगन थापाले फोहोरको संज्ञा दिएका छन् । केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै उनले भनेका छन्, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’ 

लोकतान्त्रिक पार्टीको बैठकलाई आम नागरिकले नजिकबाट हेरिरहेको र नेताहरूको यो खाले प्रवृत्तिबाट सिंगो पार्टी पङ्तिमा नकारात्मक सन्देश प्रवाह भएको पनि नेताहरू नै बताउँछन् । आफू र आफ्ना गुटका नेता ठिक अरू बेठिक भन्ने ढंगले प्रस्तुत हुनु सिंगो पार्टीहित विपरीत भएको नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे बताउँछन् ।

उनले भने ‘सर्वोच्च कार्यकारी समितिमा बसेका नेताहरू बैठकमा विषय केन्द्रित देखिएन । बहादुरी र क्रान्तिकारितले हामीलाई कही पनि पुर्‍याउँदैन । मुलुकको अवस्था के छ ? जनताको अवस्था के छ ? र लोकतान्त्रिक पार्टीको बैठकमा के भइरहेको छ भन्ने आम जनताले हेरिरहेका छन् । हाम्रो बैठक मुलुक, जनता र पार्टीको सांगठनिक अवस्थामा केन्द्रित हुनुपर्नेमा त्यस्तो देखिएन । बैठकमा जुन प्रवृत्ति देखा परेका छन, यसले समग्र कांग्रेसलाई नै हानी गर्दछ ।’

विधि र विधान विपरीतका गतिविधिलाई रोक्नुपर्ने आवाज उठाउने नेतालाई केन्द्रीय समितिकै साथीहरूले खुइल्याउनु जायज नभएको उनको तर्क छ । ‘लोकतन्त्रमा फरक मत राख्न पाइन्छ, आलोचना गर्न र गल्ती खोट्याउनु पर्छ नै । तर, यहाँ त व्यक्तिगत लाञ्छाना नै लगाउने गरी नेताहरू बैठकमा प्रस्तुत भएको देखिन्छ ।’ 

१० महिनापछि बसेको बैठकमा निकै तातेका नेताहरू एजेण्डामा केन्द्रित हुुनुुपर्ने नेताहरूले सुझाव दिएका छन् । बैठकको पहिलो दिनमै नेता डा.शेखर कोइरालाले पार्टीका नेताहरूले गरेका अवैधानिक विषयमा चर्चा गरेका थिए । केन्द्रीय सदस्य मनोनयनमा विधान मिचिएकोप्रति सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । 

देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका उनले भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’ उनले पार्टीभित्र अनुशासन नभएको समेत कोइरालाले बताए । शेखर कोइरालाको अभिव्यक्तिप्रति केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल र विनोद चौधरीले प्रतिवाद गर्दै आरोप–प्रत्यारोपको शृङ्खला सुरु गरेका थिए । 

कोइरालाले गठबन्धन, एमालेसँगको सहकार्य, भ्रातृ संगठन, सर्वोच्चबाट दोषी ठहर भएकाहरूलाई पनि बचाएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएपछि त्यसको प्रतिवादमा उत्रिएका सांसद चौधरीले पार्टीको विधानबमोजिम निरुपण भएको विषयलाई भविष्यमा पार्टी नेतृत्व गर्छु भन्ने व्यक्तिले विवादित बनाउनु दुःखद रहेको बताए ।

मंगलबारको बैठकमा डा कोइरालालाई प्रश्न गर्दै चौधरीले भनेका थिए, ‘गुटको राजनीतिका नाममा निजी क्षेत्रका आफूजस्ता मान्छेलाई छेक्ने र कांग्रेस उम्मेदवारलाई हराउन खुलेआम घर घरमा गएर विपक्षीलाई भोट माग्ने लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाललाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’ २०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सभासद रहेका उनी २०७४ मा नेपाली कांग्रेस प्रवेश गरी समानुपातिक उम्मेदवार बनेका थिए । कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य हुनका लागि १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने योग्यता छ ।  

ADV

सम्बन्धित खबर

Advertise