२०८२ भदौ २३ गते सोमवार / Sep 08 , 2025 , Monday
२०८२ भदौ २३ गते सोमवार
Ads

राजनीतिमा आउन पार्टीले भण्डारीलाई रोक्दैन : एमाले सचिव महासेठ

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते १५:२५
राजनीतिमा आउन पार्टीले भण्डारीलाई रोक्दैन : एमाले सचिव महासेठ

काठमाडौं  : नेकपा (एमाले)का सचिव रघुवीर महासेठले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै प्रकारको अन्तरविरोध नरहेको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने विषयले न पार्टीमा न ओलीसँग अन्तरविरोध नभएको महासेठले बताए ।

जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरे । उनले भने, ‘ओली र भण्डारीबीच अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेको चर्चा चलेको छ, तर त्यसमा कुनै पनि सत्यता छैन ।’

महासेठले भण्डारी अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा सक्रिय राजनीतिमा आउने पनि दाबी गरे । ‘यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आउनु हुन्छ भने पार्टी अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउनु हुन्छ’, उनले भने ।

संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी भण्डारीले असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

उनले एमाले र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको पनि दाबी गरे । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व गरिरहेको महासेठको दाबी छ ।  

महासेठले माओवादी अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले सहयोग गरिरहेको पनि दाबी गरे । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गरिरहनुभएको छ । उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टी पनि छन् । स्वतन्त्र सांसद पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,’ महासेठले भने, ‘त्यो सँगसँगै यो सरकारलाई, यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही सांसद पनि हुनुहुन्छ । जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा क्रियाकलाप गरिरहनुभएको छ ।’

सरकारविरुद्ध सत्ता गठबन्धनमा रहेका कुन सांसदले प्रयास गरिरहेका छन् भन्ने महासेठले बताएनन् । देशमा अहिलेको भन्दा कुनै पनि गठबन्धनको विकल्प नरहेको महासेठको दाबी छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise