२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

पारिवारिक खटपटले सामूहिक हत्या

shivam cement
२०८२ असार २३ गते ०६:२०
पारिवारिक खटपटले सामूहिक हत्या

भोजपुर : शनिबार मध्यराति जिल्ला प्रहरी कार्यालय भोजपुरमा एक युवकले हडबडिंदै फोन गरे, ‘मैले ४ जनालाई छुराले मारेको छु, मेरो ज्यान खतरामा छ ’ । प्रहरी कन्ट्रोल १०० मा फोन आए लगत्तै प्रहरी सतर्क भए । आफूमाथि आक्रमण भएको र प्रतिकारमा आफूले पनि हानेको ती युवकले प्रहरीलाई बताए । 

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीका अनुसार प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट तत्कालै प्रहरीको टोली युवकले बताएअनुसारको घटनास्थलतर्फ खटिए ।

यो घटना हो भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीको, जहाँ राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए ।

त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।

घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका १६ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय साला सपन गिरीको छुरा प्रहार गरी हत्या भएको थियो ।

‘हत्या गर्ने’ राजेन्द्र राईलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा नियन्त्रणमा लियो ।

तर, राईले फोन गरेर घटनाबारे बताएको ठाउँमा भेटिएका थिएनन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरीले झण्डै आधा घन्टासम्म उनको खोजी गर्नु परेको थियो ।

चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ ।

आफ्ले नै हत्या गरेको भनेका राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बयान दिएका छन् । ‘उनी बिस्तारै–बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर दीपक श्रेष्ठले बताए ।

वडा नं. २ का वडाध्यक्ष राजकुमार तामाङका अनुसार सदरमुकामबाट यो स्थानमा पुग्न कम्तीमा ५÷६ घन्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि कम्तीमा २ घन्टा लाग्ने स्थिति थियो ।

बाँसको छाप्रोले बनेको घरभित्र खाटमा एकैठाउँ ६८ वर्षीय बेलबहादुर गिरी, सासू मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला पर्‍यो ।

राईलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । प्रहरीका अनुसार, प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन् । त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनको दाबी छ ।

पारिवारिक खटपट

राईले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए । ३० वर्षीय राई भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका थिए । त्यही बेला गिरीकी १६ वर्षीया छोरीसँग उनको प्रेम सम्बन्ध जोडिएको थियो ।

यसकारण हत्या

रामप्रसाद राई गाउँपालिका २ को धोद्लेखानी बोन्थिताङकी किशोरीलाई राईले खुब मन पराउँथे । गत वर्ष उनले किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गरेका थिए । १६ वर्ष उमेरकी ती किशोरीका परिवारले उनलाई विवाह गर्न मानेका थिएनन् ।

त्यसपछि राईले उनलाई भगाएर लगेका थिए । १ वर्ष अघि मात्रै भागेर भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राईको घर गएकी किशोरीलाई त्यहाँ बस्न सहज थिएन ।  

परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएकी थिइन् ।

स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन् ।  केही समयपछि नै राई उनलाई लिन ससुराली पुगेका थिए । 

‘तर, आमा र परिवारले त्यो विवाहलाई स्वीकारेका थिएनन्, पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा गएकी थिइन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

त्यसपछि चार÷पाँच दिन अगाडि राजेन्द्र श्रीमती लिन भन्दै गिरीको घरमा पुगेका थिए । ‘तर उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति झगडा भएको हु्न सक्छ’ ती अधिकृतले भने, ‘त्यसपछि सबैले मिलेर आक्रमण गरे भन्ने उसको दाबी छ ।’

किशोरी आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा उनले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममतापूर्वक हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।  

तर, घरका सबै सदस्यहरूको मृत्यु भइसकेकाले यो विषय अब पुष्टि हुन कठिन देखिन्छ । ‘राति आमाले छोरी लैजान नदिने लगभग निश्चित भएपछि विवाद भएको देखिन्छ’ उनले थपे, ‘राति ९, १० बजेतिरै विवाद सुरु भएको देखिन्छ भने ११, १२ तिर हत्या भइसकेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’

प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ । मृतक परिवार र राईसँग नजिक रहेका मानिसहरूसँग समेत सोधपुछ गरिरहेको छ । राई स्वयंले चाहिं हत्या स्वीकार गर्दै आफूले निको भएपछि सबै बताउने दाबी गरेको प्रहरी बताउँछन् ।

यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । त्यसबेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार, अधिकांश सामूहिक हत्याका घटनामा आरोपीले पछि आत्महत्या गर्ने गरेको देखिन्छ । ‘परिवार नै बितेपछि आफू बँच्दिन भन्ने मानसिकता पनि हुनसक्छ, भोजपुर घटनामा पनि प्रहरी ढिलो पुगेको भए जे पनि हुनसक्थ्यो’, एक अधिकृत भन्छन् ।

यसबीच सामूहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न जिल्ला अस्पताल लगिएको हो ।

धोद्लेखानी बोन्थिताङका गाउँलेले यसअघि कहिल्यै यस्तो बीभत्स घटना देखेका थिएनन् । राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन् । 

बिहान भाले नबास्दै प्रहरी गाउँमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी पाएको स्थानीय बताउँछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise