२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजु परियारले कतारवासीलाई छमछमी नचाए

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २९ गते १७:५१
राजु परियारले कतारवासीलाई छमछमी नचाए

दोहा, कतार : तेस्रो पटक आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका लोक तथा दोहोरी गायक राजु परियारले कतारवासी नेपालीलाई छमछमी नचाएका छन् । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएकाहरूसहित बाढी पहिरोबाट ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो सांगीतिक प्रस्तुति राख्न शुरु गरेका परियारले उपस्थितलाई छमछमी नचाएका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले सातौं वार्षिक साधारण सभाको अवसर पारेर शुक्रबार आयोजना गरेको बृहत् लोक तथा दोहोरी धमाका-२०२४ मा परियारले करिब एक घण्टा आफ्ना सांगीतिक प्रस्तुति दिए । करिब १५ सय दर्शक उपस्थित रहेको अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्डहलमा परियारले 'आमा तिम्रो दुधको भारा' गीत गाउँदै आफ्नो सांगीतिक प्रस्तुति शुरु गरेका थिए । उनले 'पहिलो माया', 'सुनपानीले छर्क मायालु', 'कति राम्री मगरकी छोरी', 'सुर्ती जर्दाले', 'जानेलाई जान देऊ माया', 'लालुपाते नुङ्यो भुइँतिर', 'नौ जाले मायाले'लगायतका दर्जन गीत गाए । हलमा उपस्थितले प्रस्तुति अवधिभर साथ दिइरहे भने परियारका फ्यान तथा प्रशंसकहरू स्टेजमै पुगेर खादा तथा श्री फूल (पैसा) लगाइदिएर सम्मानसहित माया व्यक्त गरेका थिए ।

कार्यक्रम शाखा कतारका अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले सरकारको निर्णयलाई सम्मान गर्दै आफू केही दिनमा नेपाल फर्कन लागेको बताउँदै आफूले अगाडि बढाएका योजना तथा सम्झौतालाई आफू पछि आउने राजदूतले निरन्तरता दिने विश्वास व्यक्त गरे । ढकालले करिब २ दशकदेखि श्रमिक सम्झौताको अद्यावधिक नभएको हुँदा त्यसलाई नयाँ शिराबाट अद्यावधिक गर्ने जिम्मा नयाँ आउने राजदूत र कतारमा रहेका नेपालीलाई छोडेको बताए । उनले आफूले गर्न चाहेका केही काम भने अपुरा रहेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा मौलिक लोक नृत्य, नौमती बाजासहित संस्थामा आबद्ध रहेका कलाकारहरूले समेत सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्तिममा भएको प्रत्यक्ष दोहोरीले उपस्थितलाई थप मनोरञ्जन प्रदान गरेको थियो । हरेक शुक्रबार गायन, नृत्य तथा वाद्यवादन विधामा प्रशिक्षण दिँदै आएको प्रतिष्ठानले प्रशिक्षणलाई फराकिलो रूपमा अगाडि बढाउने र कलाकारको हितमा राहत कोष स्थापना गर्ने लक्ष्य लिएको छ ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकारहरूसहित विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको कार्यक्रममा शाखाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए । सचिव कृष्ण दर्लामी, महिला सचिव रेशमी विश्वकर्मा र सहसचिव बाबु कौसलले सहजीकरण गरेको कार्यक्रमको समापन सभापति ढकालले गरेका थिए ।  'हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन' भन्ने मूल नाराका साथ सन् २०१७ नोभेम्बर १० मा तदर्थ समिति गठन गर्दै प्रतिष्ठान कतार शाखाको स्थापना भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise