२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मन्त्रिपरिषद्ः अनुभवीलाई प्राथमिकता

ADV
भावना पाठक
२०८१ असार ३० गते ०७:००
मन्त्रिपरिषद्ः अनुभवीलाई प्राथमिकता

काठमाडौं : नेपाली कांग्रेसको समर्थनमा मुलुकको नयाँ प्रधानमन्त्री दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार साँझ ५ बजेसम्म दाबी पेश गर्ने समय भएकाले सोमबार मात्र शपथको कार्यक्रम राखिएको हो । 

‘आइतबार साँझसम्म दाबीको समय नै छ । त्यसपछि मात्र नियुक्ति प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनका अनुसार आइतबार साँझै प्रधानमन्त्री नियुक्त हुन सक्छन् । 

तर प्रधानमन्त्री निश्चित भइसकेका ओलीले आफ्नो मन्त्रिपरिषद् टुंग्याउनेगरी अगाडि बढिसकेका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउनेगरी ओलीले छलफल अगाडि बढाएका छन् । 

यद्यपि साना दलहरुलाई प्रधानमन्त्री नियुक्त हुँदा सामेल गराइएको छैन । कांग्रेस र एमालेको मात्र हस्ताक्षर राष्ट्रपतिको कार्यालय शितल निवासमा शुक्रबार राति बुझाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री आह्वान गरेका थिए । 

उक्त आह्वान बमोजिम ओलीलाई प्रधानमन्त्रीमा दाबी गरिएको छ । कांग्रेस र एमालेको सांसद संख्या जोड्नासाथ सरकार बन्ने भएकाले ओलीले प्रधानमन्त्री बन्नु अघि नै मन्त्रिपरिषद् टुंग्याउन लागिपरेका हुन् । 

नेताहरुका अनुसार केही दिन अगाडि नै उपप्रधानमन्त्रीहरुको टुंगो लागिसकेको छ । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बन्नेछन् । कांग्रेसमा अरु मन्त्रीहरु पनि लगभग टुंगो लागिसकेको नेताहरु बताउँछन् । 

सिंहसँगै रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरसिया मन्त्री बन्ने लगगभग पक्का छ । यद्यपि दीपक खड्का, दीपक गिरी, ऐनबहादुर शाही, हृदयराम थानी, अर्जुननरसिंह केसी, रामनाथ अधिकारी, किशोरसिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणाहरु पनि मन्त्रीका आकांक्षी छन् । 

विष्णु पौडेल अर्थमन्त्री निश्चित भएको एमालेबाट पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, विद्या भट्टराई, जुली महतो, कृष्णगोपाल श्रेष्ठ, दामोदर भण्डारी, ठाकुर गैरे लगायत मध्ये मन्त्री बनाउने तयारी चलिरहेको छ । यद्यपि मन्त्रालय भागबण्डा टुंग्याउन बाँकी रहेकाले मन्त्रीहरु पनि टुंगिएको छैन । 

प्रतिनिधिसभाको पहिलो र दोस्रो ठूलो दल मिलेकाले ओलीले यसपटक अनुभवी र काम गर्न सक्ने टीम बनाउन चाहेका छन् । ओलीकै भाषामा योग्य र अनुभवीलाई प्राथमिकतामा दिएर मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise