काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल ‘वैभव’ले यथाशक्य छिटो युरोपेली मुलुकको मागपत्र प्रमाणीकरण र सेवा शुल्क निर्धारण गर्न सरकारसँग निरन्तर छलफल भइरहेको बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तृतीय उपाध्यक्ष पौडेलले सो जानकारी दिएका हुन् ।
उनले संघको वर्तमान कार्यसमिति व्यवसायीको हक हितमा लागिपरेको र कानुनी समस्या समाधानका लागि सरकारसँग निरन्तर लविङमासमेत रहेको बताए ।
गत वर्ष दर्ता भएर वैशाखमा नयाँ कार्यसमिति चयन गरेको संघले शुक्रबार झापाको बिर्तामोडमा स्थापना दिवस तथा साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख सुलभ श्रेष्ठ, संघका संस्थापक प्रथम उपाध्यक्ष अजयकुमार देव, संस्थापक सचिव सिपी पाठकलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका सल्लाहकार भानुप्रसाद शिवाकोटीसहित संस्थापकहरूलाई कदरपत्रले सम्मान गरिएको थियो ।
साधारण सभामा संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आफ्नै भवन, स्वास्थ्य बीमा, व्यावसायिक कर्जा, व्यवसायी राहत कोषलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव निरकुमार खत्रीले सञ्चालन गरेका थिए ।