२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

कुवेतमा नेपाली घरेलु कामदारको बाढी

shivam cement
२०८२ साउन ७ गते ०६:४०
कुवेतमा नेपाली घरेलु कामदारको बाढी

कुवेत : नेपालबाट प्रतिबन्धित घरेलु कामदारमा कुवेत जाने नेपाली महिलाको संख्यामा ६१ प्रतिशतले वृद्धि भएको देखिएको छ । नेपाल सरकारले असुरक्षित भन्दै घरेलु कामदारको श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएको एक दशक पुग्न लागेको छ । तर कुवेतको  घरेलु श्रम बजारमा पुगेका नेपाली महिला कामदारको संख्याले कुवेती अधिकारीहरू र सञ्चारमाध्यमहरू आश्चर्यमा परेका छन् । उनीहरूले कुवेतमा नेपाली महिला घरेलु कामदारको बाढी नै आएको टिप्पणी गरेका छन् ।

अरब टाइम्स अनलाइनले २१ जुलाईको अंकमा लेखेको छ, ‘विगत एक वर्षमा घरेलु श्रमिकको अवस्थामा उल्लेखनीय परिवर्तनहरू भएका छन्, फिलिपिन्सका घरेलु कामदारहरूको संख्यामा तीव्र गिरावट आएको छ, विशेषगरी नेपाली र श्रीलंकाली कामदारहरूको संख्यामा ठूलो वृद्धि भएको छ ।

कुवेत केन्द्रीय तथ्यांक ब्युरोको गत मार्च ३१ सम्मको तथ्यांक अनुसार ४४ हजार ८५ फिलिपिन्सका घरेलु कामदारहरूले कुवेत छोडेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग २१ हजार नेपाली र १४ हजार श्रीलंकाली घरेलु श्रम क्षेत्रमा प्रवेश गरेका छन् ।

नेपाली कामदारहरू मात्र वर्षभरि ६१ प्रतिशतले बढेका छन् । कुवेत केन्द्रीय तथ्यांक ब्युरोको प्रतिवेदनले माली र बेनिनबाट पनि घरेलु कामदारहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको उल्लेख गरेको छ । मालीबाट आउने महिला कामदारहरूको संख्या दोब्बर भएको छ । भारतीय पुरुष घरेलु कामदारहरूको संख्या भने ३५ हजारभन्दा बढीले घटेको छ ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि अवैध बाटोबाट पठाउने मानव तस्करहरू मालामाल बनिरहेको घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधान बताउँछन् । कुवेतमात्रै नभइ खाडीका सबै मुलुकमा गरी एक लाखभन्दा बढी नेपाली महिला रहेकोे आंकलन गरिएको छ । उनीहरूमध्ये कयौं श्रम स्वीकृति बेगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडेका छन् । उनीहरूलाई पठाउन ट्राभल एजेन्सी र होटलवालाहरूले सबै मिलाउने गरेकोे र विमानस्थलमा कुनै सोधखोज नहुने गरेको बताइन्छ । 

नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालीन कर्मचारी र भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा तस्करमार्फत सेटिङ मिलाउने गरिएको पटक–पटक सार्वजनिक हुँदै आएको छ । खुलेआम मानव तस्करी हुँदा समेत वैधानिकरूपमा पठाउन पहल नहुनु गम्भीर चिन्ताको विषय भएको अध्यक्ष प्रधानले बताए ।

ADV

सम्बन्धित खबर

Advertise