२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

‘गाउँ–गाउँमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउन सरकार प्रतिबद्ध’

shivam cement
लालबाबु बानिया
२०८२ साउन ९ गते २१:१८
‘गाउँ–गाउँमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउन सरकार प्रतिबद्ध’

पर्सा : पर्साको ठोरी गाउँपालिका–४ स्थित निर्मलबस्तीमा निर्माण भएको निर्मलबस्ती खानेपानी आयोजनाको शुक्रबार विशेष समारोहबीच संघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका छन् । 

प्रमुख अतिथि रहेका मन्त्री यादवले करिब १ हजार घरधुरीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित निर्माण गरिएको सो आयोजना औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । 

मन्त्री यादवले धाराबाट आएको पानी आफैँ पिएर आयोजनाको शुभारम्भ गरेका ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । 

यस आयोजनाअन्तर्गत निर्मलबस्तीमा २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) जस्ता महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएका छन् । 

उद्घाटनपछि आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्तव्य दिँदै मन्त्री यादवले आयोजनाको सफल सञ्चालनसँगै स्थानीय बासिन्दाले अब नियमित, सुरक्षित र भरपर्दो खानेपानी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले लामो समयदेखि खानेपानीको अभाव व्यहोर्दै आएका स्थानीयहरूका लागि यो आयोजना एक महत्वपूर्ण उपलब्धि भएको बताए ।

मन्त्री यादवका अनुसार यस आयोजनाबाट १ हजार घरधुरीका २ हजार १६५ जना नागरिक लाभान्वित हुनेछन । उनले सरकार गाउँगाउँसम्म स्वच्छ र सुरक्षित पानी पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै खानेपानीलाई विकासको आधारभूत संरचना र नागरिकको मौलिक अधिकारको रूपमा व्याख्या गरे । उनले हाल तराई–मधेशका जिल्लाहरू गम्भीर जलसंकटको सामना गरिरहेको जनाउँदै यस्ता विषम परिस्थितिमा पनि सरकारले नागरिकलाई सुरक्षित पानी सुनिश्चित गर्न निरन्तर खटिरहेको बताए । 

साथै, मधेशको खानेपानी समस्या चाँडै समाधान हुनेमा आम नागरिकलाई विश्वास दिलाएका छन् ।

खानेपानी मन्त्रालयकै विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्ले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको उनले कार्यक्रममै जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, प्रमुख प्रशासनिक अधिकृत धर्मराज थापा, निर्मलबस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, वडा अध्यक्षहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise