काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाएकी हुन् ।
सरकारले हालै विषेश परिस्थितिमा बहुविवाह गर्न दिनेगरी कानुनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएका थिए । विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ ।
सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानून निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । सांसद राईले बहुविवाह गर्न पाउने कानून आए महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘बहुविवाहलाई छुट दिनेगरी सरकार किन कानुन बनाउन चाहन्छ ? जजसको स्वार्थमा ऐन बनाइँदैछ उहाँहरुलाई सोध्न चाहन्छु, आफ्नो ज्वाइँले दोस्रो बिहे गरेमा स्याबास ज्वाइँ भन्न तयार हुनुहुन्छ ? नत्र महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुने कानुन सरकारले किन ल्याउन चाहन्छ ?’