२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते ०९:३९
हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ

मुस्ताङ : वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिंगा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिंगा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् ।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँद याम सुरु भएको भन्दै खिंगा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जौँलगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापर बाली छरेपछि वारागुङ मुक्ति क्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो ।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्ति क्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरक फरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिंगा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उनले बताए । खिंगाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ ।

सोमबार खिंगा गाउँमा सबै घरका स्थानीय नागरिक समाज घरमा एकतृत भएका थिए । समाज घरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाज घरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरूले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिंगा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिँदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिंगा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गरिन् । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ ।

यहाँको खिंगा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिंगा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानी पौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानी पौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए । 

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनै पर्ने प्रचलन रहेको बताए । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएर मात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताए । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उनले उल्लेख गरे ।

यहाँको खिंगा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise