२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १०:३७
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ

मकवानपुर : बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।

प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मंगलवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले प्राकृतिक विपत्तिका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायलगायत अन्य संघसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत समन्वयकारी ढंगले परिचालन गरिने निर्णय गरेको छ । 

प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरिएको छ । प्रवक्ता तामाङका अनुसार संयन्त्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक एवं सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरू सदस्यको रूपमा रहेनछन् । संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए । 

त्यसैगरी प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण बासस्थान गुमेकालाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय भएको मन्त्री तामाङले बताए । विपत्तिबाट क्षतिग्रस्त भएका सडकको संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रदेशसभाबाट पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेशभित्र रहेका अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित वासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङले बताए । कूल ९३ जना मात्र भएका वनकरिया मकवानपुरको मनहरी गाउँपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत तथा लोपोन्मुख जाति हो । आफ्नै नाममा जग्गा नभएका कारण सरकारी आवासको सुविधाबाट यो समुदाय वञ्चित भएको छ ।

मुख्यमन्त्री बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरेको सरकारका प्रवक्ता तामाङले बताए । 

आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise