२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

सल्यानमा गाईजात्रा सुरु, आठ रात नौ दिनसम्म चल्ने

shivam cement
प्रदीप मगर
२०८२ साउन २५ गते २०:४६
सल्यानमा गाईजात्रा सुरु, आठ रात नौ दिनसम्म चल्ने

सल्यान : आठ रात नौ दिनसम्म निरन्तर चल्ने प्रसिद्ध तथा सांस्कृतिक गाईजात्रा पर्व साँझदेखि सल्यानमा विधिवत् रूपमा सुरु भएको छ । 

भिमसेन थान मन्दिरबाट परम्परागत ‘घिन्ताङघिसी’ नाच (लठी जुधाएर खेलिने नाच)निकालिएसँगै सल्यानको सबैभन्दा लामो र आकर्षक मानिने यो जात्राको प्रारम्भ भएको हो । जनैपूर्णिमाको साँझ सदरमुकाम खलंगामा घिन्ताङघिसी नाचको बजार परिक्रमा गरेपछि जात्राको सुरुवात गर्ने परम्परा रहिआएको छ । 

जात्राको मुख्य दिन भने आइतबार हो, जसमा खलंगामा विशेष उल्लास र धूमधामका साथ गाईजात्रा मनाइँदैछ । जिल्लाका विभिन्न ठाउँबाट हजारौँ दर्शक खलंगा र श्रीनगरलगायत स्थानमा मौलिक जात्रा हेर्न आउने गर्छन् ।

आइतबारको प्रमुख आकर्षण घिन्ताङघिसी नाच नै हो । वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा प्रत्येक घरबाट निस्कने सयौँ नाच टोलीहरूले बजार परिक्रमा गर्छन् । बाजागाजा र नाचको रौनकले बजार गुञ्जायमान बनेको छ । जात्रा अवधिभर खलंगामा लाखे नाचसहित विभिन्न मौलिक नाचहरूको प्रदर्शन पनि गरिन्छ ।

यो जात्रामा २ दिन गाई जात्रा, रोपाईँ जात्रा, सिपाई जात्रा, बैरागी जात्रा, गणेश जात्रा, भिमसेन जात्रा, कृष्ण जागरण जात्रा र कृष्ण जन्मा जात्रा मनाइन्छ । जनैपूर्णिमादेखि सुरु भएको जात्रा कृष्ण जन्माष्टमीसम्म चल्ने नेवाः समाज सल्यानका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यसलाई सल्यानकै सबैभन्दा लामो र सांस्कृतिक रूपमा समृद्ध जात्राको पहिचान दिइएको छ । पुरानो इतिहास बोकेको गाई जात्राले नयाँ पुस्तासँगै केही आधुनिकता पनि जोडेको पाइन्छ ।

शारदा नगरपालिका–३ का नेवार समाजका अगुवा मौसम श्रेष्ठले भने, ‘पुरानो र अहिलेको गाई जात्रामा नाच्ने, गाउनेलगायत केही कुरामा युवाले आधुनिकता मिसाउने गरेका छन् ।’

उनका अनुसार, एक सेट लाखेका लागि सम्पूर्ण सामग्री खरिद गर्न सरदर एक लाख रुपैयाँ लागत लाग्ने गर्दछ। आर्थिक रूपमा झन्झटिलो हुने भएकाले प्रायः समिति, टोल तथा संस्थाहरू मिलेर मात्र जात्रा निकाल्ने गरिएको छ । उनले स्थानीय सरकारले चासो नदिएको गुनासो पनि गरे ।

करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको नेवार समुदायको लाखे नाचलाई जिल्लाभर संरक्षण तथा सम्बर्धन गर्न स्थानीय सरकार, नागरिक समाज र सरोकारवाला निकायहरूले चासो दिन आवश्यक छ । यस्ता ऐतिहासिक धरोहर बोक्ने अन्य जातिहरूको कला, संस्कार र संस्कृतिलाई पनि जर्गेना गर्न उत्तिकै जरुरी रहेको सरोकारवालाहरूको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise