२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

भन्सार छलीका सामानसहित एक जना पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ५ गते २०:४५
Shares
भन्सार छलीका सामानसहित एक जना पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको ठुलो परिमाणको सामान र मोटरसाइकलहरू नियन्त्रणमा लिइ गौर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले एकजना भारतीय नागरिकसहित करिब साढे १२ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

प्रहरीका अनुसार बुधबार बिहान प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा अवैध तस्करीको खुलासा भएको हो । बौधीमाई नगरपालिका वडा नं. ७ स्थित बंकुल क्षेत्रमा भारतको बिहार राज्य जिल्ला मोतिहारी ग्राम पञ्चायत बिजवनिया बस्ने २५ वर्षीय अर्जुन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यादवले ना ६ प ८०२१ नम्बरको मोटरसाइकलमा ७ बोरा मिष्ठा (गुड) लोड गरी भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारिएको थियो । बरामद गरिएको उक्त मोटरसाइकल र गुडको अनुमानित बजार मूल्य १ लाख १२ हजार ४ सय कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले पछिल्लो केही समयदेखि चलाएको स्वीप अप अपरेसनका क्रममा थप सफलता हात पारेको छ । जिल्लाका विभिन्न स्थानहरूमा गरिएका चेकिङका क्रममा आवश्यक कागजपत्र नभएका र अनुसन्धानको दायरामा रहेका थप ७ वटा मोटरसाइकलहरू पनि बरामद गरिएको छ ।

ती ७ वटा मोटरसाइकलको अनुमानित मूल्य एघार लाख ७५ हजार रहेको प्रहरीले जनाए ।

प्रहरीले बरामद गरेको गुड तस्करीमा प्रयोग भएको मोटरसाइकल र अन्य ७ वटा गरी १२ लाख ७० हजार ४ सय बराबरको अवैध सामान र मानिसलाई आवश्यक कानूनी कारवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बिष्णुप्रदीप बस्यालले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी र पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी कडा पारेको जनाए । ‘राजस्व चुहावट रोक्न र सीमावर्ती अपराध नियन्त्रण गर्न हाम्रो टोली निरन्तर सक्रिय छ,’उनले भन्ने । पछिल्लो समय रौतहट प्रहरीले भन्सार छलीकाविरुद्ध कडा कदम चाल्न थालेपछि सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा कमी आउने अपेक्षा गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर