२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि कामदारको कोटा खोल्न माग

Nada
२०८२ भदौ ६ गते ०६:१०
Shares
मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि कामदारको कोटा खोल्न माग

काठमाडौं : मलेसियाली उत्पादन महासंघ (एफएमएम)ले म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि विदेशी कामदारको कोटा तत्कालै खोल्न माग गरेको छ । एफएमएमले केबल तीन क्षेत्र र १० उपक्षेत्रमा कोटा खोल्ने  सरकारको निर्णयले मलेसियाको आर्थिक प्रतिस्पर्धात्मकतालाई कमजोर बनाउन सक्ने चेतावनी दिएको छ ।

ncell

मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसन इस्माइलले मंगलबार सरकारले कृषि, वृक्षारोपण र खानी र तिनीहरूसँग सम्बन्धित १० उपक्षेत्रका लागि मात्र विदेशी कामदार कोटाका लागि आवेदन पुनः खोल्ने निर्णय गरेको सार्वजनिक गरेका थिए ।

बिहीबार एफएमएमका अध्यक्ष सोह थियान लाइले एक विज्ञप्ति जारी गर्दै  विदेशी कामदारको अभाव तीन क्षेत्रमा सीमित नरहेको बताउँदै म्यानुफ्याक्चरिङ, निर्माण, वृक्षारोपणसहित सबै क्षेत्रमा रहेको बताए । उनले भनेका छन्, ‘निर्माण, फर्निचर, रबर उत्पादन, खाद्य प्रशोधन, विद्युतीय सेवाहरू जस्ता उपक्षेत्रहरूले सबैभन्दा धेरै जनशक्ति आवश्यकताहरूको सामना गरिरहेका छन् ।’

उनले कोटा स्वीकृतिबाट म्यानुफ्याक्चरिङ क्षेत्रलाई बाहिर राख्ने कार्यले उत्पादन निरन्तरतालाई कमजोर पार्ने, लगानीलाई निरुत्साहित गर्ने र मलेसियाको विश्वव्यापी आपूर्ति शृंखला स्थितिलाई कमजोर पार्ने जोखिम हुने बताएका छन् ।

मलेसिया सरकारले  मलेसियाली लगानी विकास प्राधिकरणअन्तर्गत नयाँ लगानी गर्ने उत्पादन व्यवसायहरूलाई मात्र कोटाका लागि आवेदन दिन अनुमति दिइने बताएको छ ।

म्यानुफ्याक्चरिङमा नयाँ कोटा नखुल्दा धेरै कम्पनीले सम्झौता समाप्त भएका कामदारहरूलाई करार अवधि सकिएपछि पनि बिदा दिन आनाकानी गरिरहेका छन् । मलेसियाको म्यानुफ्याक्चरिङ क्षेत्रमा विदेशी कामदार खुला गरेमा नेपाली महिला कामदारले पनि रोजगारीको अवसर पाउनेछन् ।

सम्बन्धित खबर