काठमाडौं : कुवेतले प्रतिबन्ध लगाएको मदिरा सेवन तथा बिक्री वितरणमा संलग्न नेपालीहरूले चर्को मूल्य चुकाउनुपर्ने भएको छ । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै विदेशीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।
देश निकालामा पर्नेमा कम्तीमा ३५ नेपालीसहित ७१ जना विदेशी कामदार रहेको बताइएको छ । अवैध विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ जनाको मृत्यु भएको थियो भने १६० जना घाइते भएका थिए ।
कुवेती सञ्चारमाध्यमहरूले अवैध मदिरा कारोबारका मुख्य कारोबारी मानिएका ४ जनालाई मृत्युदण्डको सजाय हुनसक्ने आँकलन गरिएको छ । एक नेपालीले मिथानोल–आधारित पेय पदार्थ तयार गर्ने र बेच्ने गरेको यसअघि नै स्वीकार गरेको कुवेतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । देश निकालामा परेकाहरूलाई पुनः कुवेत प्रवेशमा आजीवन प्रतिबन्ध लगाइने भएको छ ।
हालसम्मको अनुसन्धानका क्रममा नेटवर्कका प्रमुख एक बंगलादेशी र तीन नेपाली सहयोगीसहित ६७ जनालाई पक्राउ गरिएको जनाइएको छ । विषाक्त मदिरा उत्पादनका ६ वटा कारखाना बन्द गरिएको छ भने धरपकड तीव्र पारिएको छ ।
पक्राउ पर्नेहरूमा अवैध बसोबासका मुद्दाहरूमा संलग्न र हालैका मृत्युहरूसँग सम्बन्धित विषाक्त मदिरा बनाउने कारखानामा कार्यरत रहेका छन् । कुवेतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवासीय र श्रम कानुन उल्लंघन गरेको आरोपमा २ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूमा भिसाको म्याद सकिएको, भिसा ओभरस्टे, फरार मुद्दाहरू र अन्य कानुन उल्लंघन गर्नेहरू रहेको गृह मन्त्रालयले जनाएको छ । अधिकारीहरूले कामदार र रोजगारदाता दुवै कानुनअन्तर्गत जवाफदेही हुनुपर्ने बताएका छन् ।