काठमाडौं : पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई फकाउने दौडमा छन् । विप्लवसँग पार्टी एकता गर्ने निर्णय गरेको माओवादीले सोही निर्णय कार्यान्वयनका नाममा विप्लव फकाउने प्रयास जारी राखेको हो ।
पार्टी एकताको निर्णयलाई कार्यान्वयनका लागि विप्लव नेतृत्वको पार्टीसँग संवाद अघि बढाए पनि अहिले नै एकता हुने सम्भावना देखिएको छैन । यस विषयलाई लिएर गत साता पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विप्लवसँग भेटेर छलफल गरेका थिए । तर नेकपाका नेताहरूले अहिले नै पार्टी एकताको विषयमा छलफल नभएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले सोमबार फेरि विप्लवलाई भेटेका छन् । उनको सो भेटलाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको छ । पार्टीभित्र देखिएको असमझदारीलाई मत्थर पर्ने योजनाका साथ प्रचण्डले विप्लवलाई भेटेर नयाँ सन्देश दिएको नेकपा माओवादीलाई नजिकबाट नियाल्दै आएका राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
पार्टीभित्र मतभेद बढेको समयमा सोमबार प्रचण्ड एकाएक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निवास पुगेका थिए । पार्टीका उपमहासचिव नेता जनार्दन शर्मा ‘प्रभाकर’सँग मतभेद बढेको समयमा प्रचण्ड विप्लव निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्डले आफूले नेतृत्व छाडिहाले देशको पिल्लर नै ढल्ने हो कि भन्ने चिन्ता भएकाले पार्टीको अध्यक्ष बसिरहेको बताएका थिए । उनको अभिव्यक्तिको प्रतिउत्तरमा नेता प्रभाकरले प्रचण्डलाई शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने जवाफ दिएका थिए । यो सँगै दुई नेताबीचको झगडा अझै बढ्दै गएको स्पष्ट सन्देश दिएको छ । विप्लव नेतृत्वले गरेको कृषि खेतीको अवलोकनका नाममा उनलाई भेट्न पुगेका प्रचण्डको पार्टीभित्रको असन्तुष्टिलाई मोडेर साम्य बनाउने उपायका रूपमा समेत हेरिएको छ ।
यद्यपि दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक घटनाका विषयसँगै विशेषतः पार्टी एकताका विषयमा छलफल भएको नेकपाका पोलिटब्युरो सदस्य चन्द्र प्रकाश खड्का ‘असल’ले बताए । उनले भने, ‘उहाँहरूबीच समसामयिक विषयमा र पार्टी एकताका विषयमा पनि छलफल चल्यो ।’ उनका अनुसार दुई नेताबीच नेपालमा सञ्चालित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पनि छलफल भएको थियो ।
विप्लवसँग एकता गर्ने तयारी भएको लामो समय हुँदा पनि प्रचण्ड एकता गर्न सफल भएका छैनन् । यो भेटले एकताको सम्भावनालाई नजिक्याउँदै लगेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । ‘भेटले एकताको सम्भावना बढाएकाले विप्लवजीसँग छिट्टै एकता हुनेगरी दुवै पार्टीले संवाद अघि बढाएको हो,’ उनले भने । माओवादीले साउन १९ गते सम्पन्न भएको स्थायी समिति बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरे पनि नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले औपचारिक रूपमा पार्टी एकताको विषयमा संवाद नभएको बताएका छन् ।