काठमाडौं : विदेशमा नेपाली कामदारमा बढिरहेको एक्लोपन र असुरक्षा हटाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँग सहकार्य भएको छ ।
परियोजनामार्फत एनआरएनएले वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्ने नेपाली कामदारलाई सहयोग गर्ने भएको छ । नेपालबाट ठुलो संख्यामा नेपाली कामदार विशेषगरी खाडी मुलुक, मलेसिया र अन्य देशमा काम गरिरहेका छन् ।
नेपालीहरूको ठुलो संख्या वैदेशिक रोजगारमा रहँदा नेपाललाई महत्वपूर्ण आर्थिक लाभ भएको भएपनि अधिकांश कामदारले अपर्याप्त कानुनी सुरक्षा, कमजोर कार्यस्थल, रोजगारदाता परिवर्तन, मनोसामाजिक तनाव र गन्तव्य देशहरूमा सहयोग सेवाहरूमा सीमित पहुँचलगायत धेरै चुनौती सामना गरिरहेको सार्वजनिक भइरहेको छ ।
आप्रवासी अधिकार र मर्यादित काम परियोजनामार्फत स्विस विकास र सहयोग एजेन्सीमार्फत गन्तव्य देशहरूमा नेपाली कामदारहरूलाई सहयोग प्रदान गरिने आइएलओले बताएको छ ।
सम्झौतामा नेपालका लागि आइएलओ नेपालका डाइरेक्टर नुमान ओज्कान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का अध्यक्ष डा. बद्री केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताले गन्तव्य देशहरूमा विशेषगरी मध्य पूर्व र मलेसियामा एनआरएनको संस्थागत क्षमता अभिवृद्धि गरेर कामदारको अधिकार रक्षामा केन्द्रित गरिने बताइएको छ ।
परियोजनाले आप्रवासन सेवाहरू प्रदान गर्ने, आप्रवासी अधिकार र श्रम आप्रवासन मुद्दाहरूमा नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नीतिगत वकालत गर्ने, जोखिममा परेका आप्रवासीहरू विशेषगरी महिला र कागजात नभएका कामदारहरूका लागि मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग, भर्चुअल माध्यम र सूचना सामग्रीमार्फत जागरुक गराइने छ ।
आइएलओ निर्देशक नुमान ओज्कानले आप्रवासी नेपाली कामदारहरू देशको अर्थतन्त्रको मेरुदण्ड भएपनि उनीहरूले प्रायः असुरक्षित काम गर्ने अवस्था, सुरक्षाको अभाव र विदेशमा एक्लोपनको सामना गरिरहेको बताए । उनले एनआरएनसँगको साझेदारीमार्फत आप्रवासी कामदारहरूका लागि मानसिक स्वास्थ्य सहयोगमा लगानी गरिरहेको पनि बताए । उनले परियोजनाले नेपाली आप्रवासी कामदारहरूलाई सुरक्षित मात्र नबनाई सम्मान र अधिकार उपभोग सुनिश्चित गर्ने बताए ।
एनआरएनए अध्यक्ष डा. केसीले दुई दशकभन्दा बढीको इतिहास बोकेको एनआरएनएले ९० भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद्मार्फत विश्वभरका नेपाली आप्रवासीहरूको अधिकार र कल्याणका लागि काम गरिरहेको बताउँदै नयाँ साझेदारीले आप्रवासीहरूका लागि सेवाहरू सुदृढ गर्ने बहुमूल्य अवसर प्रदान गरेको बताए ।
उनले एनआरएनए प्रतिनिधिहरूलाई तालिम र नेपाली कूटनीतिक नियोगहरूसँग बलियो समन्वय गरेर नेपाली श्रमिकहरूलाई समयमै र भरपर्दो सहयोग बढाउने उल्लेख गरे ।