२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ४ गते २१:२६
दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

रौतहट : दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछुत जस्ता समस्याले पेशा गर्न बाधा पुर्‍याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेशामा टिक्न गाह्रो भएको उनीहरूको भनाइ छ ।  

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेश प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एण्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार संञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । 

तालिमका सहभागीहरूले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, उल्टै पत्रकारका रूपमा जाँदा पनि विभेद गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो पनि गरे । 

क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक सामग्रीमेत नहुँदा गैरदलित पत्रकार सरह काम गर्न नसकिएको भनाई पनि उनीहरूको थियो । 

तालिमका क्रममा सहभागीहरूले मधेश प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लिखित प्रावधानहरू पालिकाहरूले नै पालना नगरेको जस्ता सवाल उठाएका थिए । 

साथै अहिले पनि जातीय विभेदका घटना दोहोरिइरहेका र कानूनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा पनि उनीहरूले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

तालिमका अवसरमा मधेश प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले आफूहरूबीच एकातिर पत्रकार क्षमता विकासको अवसर पहिल्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो समुदायका उत्पीडनका घटना पनि उजागर गनुपर्ने दायित्य छ भन्दै थपे‘आफूहरू नै अभाव र पीडाबाट गुज्रिरहेका बेला एकैपटक २ वटा जिम्मेवारी पूरा गर्न निकै कठिनाई भोग्नुपरेको छ ।’

तालिमका क्रममा प्रशिक्षक डा.विजयप्रसाद मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र त्यसले पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराएका थिए । त्यस क्रममा मिश्रले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्यौल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे सुझाएका थिए ।  

अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, एङ्गलिङ गर्ने, त्यसलाई प्रस्तुत गर्ने तरिकाबारे बताएका थिए । साथै उनले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिएका थिए ।

आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील तुल्याउन दलित पत्रकार सञ्जालका पदाधिकारीलाई यस्तो क्षमता विकास तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए । खासगरी दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ संगठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीहरूलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको जानकारी गराए ।

ADVADV

सम्बन्धित खबर

Advertise