२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

७ बुँदे समझदारीमा सत्तारुढकै आशंका

ADV
शिव विक
२०८१ साउन ६ गते ०६:५५
७ बुँदे समझदारीमा सत्तारुढकै आशंका

काठमाडौं : नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच भएको सात बुँदे समझदारीलाई लिएर सत्तारुढ दलभित्र आशंका उब्जिएको छ । गत असार १७ मध्यराति दुई दलका शीर्ष नेताबीच संविधानमा पुनरावलोकन गर्ने सहितको समझदारी भएको थियो । उक्त समझदारीको जगमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आइतबार विश्वासको मत लिँदैछ । तर, सरकार निर्माणको जग मानिएको सात बुँदे समझदारी सार्वजनिक हुन सकेको छैन । 

दुई दलका बीचमा भएको समझदारी दुवै दलले अनुमोदन गरिसकेका छन् । तर, सार्वजनिक नहुँदा सात बुँदे समझदारी कार्यान्वयन हुनेमा सत्तारुढ दलबाटै आशंका भएको छ । कांग्रेस नेताहरू समझदारी सार्वजनिक गर्ने दायीत्व प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताउँछन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा दुई दलका बीचमा भएको सात बुँदे समझदारीबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने बताउँछन् ।

महामन्त्री थापा भन्छन्, ‘नेताहरुप्रति विश्वासनीयताको ठूलो परीक्षा छ यस पटक कांग्रेस–एमालेबीच जुन हस्ताक्षर गरिएको छ, सरकार आलोपालो चलाउने लगायतका विषय । यो तलमाथि हुँदैन भन्ने नेतृत्वले विश्वास दिलाउनुपर्छ ।’ 

जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा धेरैपटक धोकाधडीको राजनीति भएकाले यसपटक भएको समझदारी कार्यान्वयन हुनेमा आशंका रहेको बताए । सरकार आलोपालोमा चलाउनेलगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले संश चिर्नुपर्ने बताए । 

‘पार्टीभित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ । ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरुले हस्ताक्षर गर्नुभएको हो । उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ’ थापाले थपे, ‘तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ । कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौं । एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise