नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अन्तरिम सरकार पूर्वअध्यक्ष केपी शर्मा ओली र आफूलाई पक्राउ गर्ने हल्ला चलाएर मिडिया ट्रायल गरिरहेको बताएका छन् । पूर्वप्रेमिकालाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा साईबर ब्यूरोमा बयान दिएपछि उनले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारका मन्त्रीहरु र काठमाडौं महानगरका मेयर बालेन शाहबिरुद्ध खनिएका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङबिरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा भ्रष्टाचारको उजुरी रहेकाले उनीबाटै छानबिन सुरु गर्नुपर्ने बस्नेतले बताए ।
‘भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौं। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं। तपाईंहरुलाई उचालेर र घाइतेको रगतमा होलि खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ’ उनको भनाई थियो, ‘सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौं। मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन। रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो। कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
घिसिङले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाउँदै छानबिन हुनुपर्ने बताएका छन् । यसैगरी, सम्पत्ति शुद्धीकरणको छानबिन अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्न भनेका छन् । ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले भने ।
सिंहदरबार, सर्बोच्च, शीतल निवासलगायतका सम्पदा जलाउन संलग्न भएकोभन्दै काठमाडौंका मेयर बालेन शाहलाई विदेशी दलालको आरोप पनि लगाए । राष्ट्रिय सम्पत्ति विध्वंस, प्रहरी हत्या र व्यक्तिका घरमाथि आक्रमण गरेर लुटपाट र आगजनी गर्नेमाथि कारबाही गर्न नदिएर गृहमन्त्री ओमप्रकाश अर्यालले अपराधिलाई ढाकछोप गरेको बस्नेतको दाबी छ । दोषीमाथि राज्यले कारबाही नगरे एमाले युवा संघले नै उनीहरुबिरुद्ध कारबाही चलाउने चेतावनी पनि उनले दिएका छन् ।
अर्को प्रसंगमा प्रतिनिधि सभा पुनर्स्थापना गरेर जेनजीका केही माग पूरा गर्न सकिने भएकाले एमाले त्यसतर्फ अगाडि बढ्ने पनि बताएका छन् । एमालेले औपचारिक निर्णय गरेर आफै अदालत जाने वा वकिलमार्फत जाने टुंगो लगाउने बस्नेतको भनाई छ ।