
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको जिकिर गरेका हुन् ।
जलाउनेहरूले नै देश चलाउने तमासा देखाइरहेको अध्यक्ष ओलीको भनाइ थियो । उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरू अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भइराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरू देखिएका छन् । जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ तिनै व्यक्तिहरू ।’
अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पारे ।