
जनकपुरधाम : मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको एउटा होटलबाट सुटुक्क नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि जनकपुरमा तनाव उत्पन्न भएको छ । मुख्यमन्त्री नियुक्तिको प्रक्रिया नमिलेको भन्दै सात राजनीतिक दलहरु विरोध जनाउँदै सडकमा उत्रिएका हुन् । मुख्यमन्त्री र प्रदेश प्रमुखका कार्यालयमा तोडफोड गरिएको छ ।
प्रमुख सचिवको कार्यकक्ष पनि तोडफोड भएको छ । तोडफोडमा सांसदहरुसमेत उत्रिएका छन् । प्रमुख सचिवको कार्यकक्षमा रहेको राष्ट्रिय झण्डासमेत फ्याँकिदिएपछि त्यसको विरोध भइरहेको छ ।
प्रदेश सांसदसहितको टोलीले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै अन्य मन्त्रालयहरुमा पनि ताला लगाएका छन् । गृह सञ्चार तथा कानुन मन्त्रालयमा अहिले मुख्यमन्त्रीको कार्यकक्ष राखिएको छ।
नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । केही सांसदहरुले भने तोडफोड रोक्न आग्रह गरेपछि स्थिति धेरै भड्किनबाट रोकिएको छ । अहिले सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ ।