२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेसको असन्तुष्टि

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ९ गते २१:१६
लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेसको असन्तुष्टि

बुटवल : लुम्बिनी प्रदेशको मन्त्री छनोटमा बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश समितिले आपत्ति जनाएको छ । प्रदेशको मन्त्री छनोट गर्दा पार्टीलाई पूर्णतय बेवास्ता गरेर एकलौटी केन्द्रले सिफारिश गरेको भन्दै लुम्बिनी प्रदेश समितिले असन्तुष्टी जनाएको हो । 

लुम्बिनी प्रदेश समिति सभापति अमर सिंह पुनले ध्यानाकर्षण पत्र जारी गर्दै संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरित निरकुंश शैलीमा मन्त्रीहरु छनौट हुँदा प्रदेश संरचना कमजोर हुने जनाएका छन् ।

प्रदेश पार्टीको अन्तर सम्बन्ध, अन्तर समन्वय र सहअस्तित्वमा सरकार गठन हुनुपर्ने भन्दै पार्टीका साथीहरुको मनोभावना विपरित गरिएको कार्यमा पुनर्विचार गर्न चेतावनी दिइएको छ । वैधानिक प्रकृया कुल्चेर गरिएको निर्णय नसच्चाए आफुहरु अप्रिय कदम चाल्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

‘संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेका बेलामाथि बसेर डण्डा चलाउने प्रवृत्ति ठिक होइन’, सभापति पुनले भने,’निर्णय पुनर्विचार नगरे साथीहरुसँग सल्लाह गरेर यथोचित निर्णय गर्छौं ।’ सरसल्लाह बिनै माथिबाट निर्णय थोपरिएको उनले बताए ।

केन्द्रीय नेतृत्वले पेलेर लैजान खोजेकाले पहिलो चरणमा ध्यानाकर्षण गराइएको उनले बताए । प्रत्येक पटक केन्द्रीय नेतृत्वबाट हेपिएको भन्दै उनले यसको प्रतिवाद गर्ने बताए । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि कांग्रेसले पाँच मन्त्री पाउने सहमति भएको थियो । कांग्रेस सभापति शेर बहादुर देउवाले पाँचमध्ये चार मन्त्री संस्थापन पक्षबाट सिफारिस गरेका थिए । बुधबार भएको मन्त्रीमण्डल विस्तारमा कांग्रेसका चार जना मन्त्रीले सपथ लिएका छन् । नाम सिफारिस भएपनि बर्दियाका जन्मजय तिमिल्सिना भने सपथ ग्रहणमा उपस्थित भएनन् । अन्तिम समयमा उनलाई सभापति देउवाले ब्याक गराएको बताईएको छ । संस्थापन पक्षकै तिमल्सिनालाई किन रोकियो भन्ने स्पष्ट भएको छैन ।

इतर पक्षका प्रचण्ड विक्रम न्यौपाने तथा संस्थापन पक्षका धनेन्द्र कार्की, सरोज थापा र बादशाह कुर्मीले मन्त्री पदको सपथ लिएका छन् । एउटा खाली रहेको स्थानमा कसलाई पठाउने भन्ने यकिन नभएको नेताहरुले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise