
काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद् पुनर्स्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गरेकी छन् ।
बुधबार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उनले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको बताइन् ।
उनले निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने बताइन् ।
संसद् पुनर्स्थापनको कुरा गर्नुले विगतको राजनीतिक दुर्घटना दोहोर्याउन खोजेको पुष्टि हुने उनले बताइन् । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको उनले बताइन् ।
उनले दलको साथ, सहयोग र सहभागिताबिना निर्वाचनको परिकल्पना गर्न नसकिने भन्दै मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनैपनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहर हुने बताइन् ।