
काठमाडौं : विगतमा सांसदको शैक्षिक योग्यतालाई लिएर धेरै नै प्रश्न उठाइन्थ्यो । आन्दोलन र संघर्षबाट आएर चुनाव जित्ने अधिकांश नेताहरूको औपचारिक शिक्षा कमै हुन्थ्यो । यसपटकको निर्वाचनपछि भने सांसदको शैक्षिक योग्यतालाई लिएर सायदै प्रश्न वा टिप्पणी हुनेछ । किनभने, प्रत्यक्ष निर्वाचित आधाभन्दा धेरै सांसदले स्नातक उत्तीर्ण छन् ।
निर्वाचन आयोगलाई उनीहरूले उपलब्ध गराएको विवरणअनुसार, प्रत्यक्ष निर्वाचित एक सय ६५ सांसदमध्ये एक सय चार सांसदले स्नातक गरेका छन् । नौ सांसदले विद्यावारिधि (पिएचडी) गरेका छन् भने स्नातकोत्तर गर्ने सांसदहरूको संख्या ४५ छ । त्यस्तै, स्नातक तह उत्तीर्ण गरेकाहरू ५० जना रहेका छन् भने २२ जना सांसदले प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेका छन् । नौ सांसदले एसएलसी उत्तीर्ण गरेका छन् ।
यसरी हेर्दा ६३ प्रतिशत सांसद स्नातक उत्तीर्ण छन् भने प्लस टुमाथि पढेकाको संख्या ७६ प्रतिशत छ । अघिल्ला संसद्मा शिक्षित सांसदको संख्या योभन्दा निकै कम थियो । समानुपातिकतर्फबाट सांसदहरू निर्वाचित भइसकेपछि यो औसतमा केही हेरफर हुनसक्नेछ ।
‘अब विगतमा जस्तो एउटा विधेयकमा छलफल गर्दा अर्कै विधयेकको कुरा गर्नेजस्ता समस्या आउँदैनन् होला,’ संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले भने । यद्यपि, सांसदको योग्यता शैक्षिक उपाधिभन्दा जनताको इच्छा, आकांक्षा र भावनालाई सदनमा कुन रूपमा प्रस्तुत गर्न सक्छ भन्ने कसीमा जाँचिने उनी बताउँछन् ।
‘शैक्षिक योग्यता राम्रो हुँदा विषयवस्तुको बुझाइ र विचारको प्रस्तुतिसमेत प्रस्ट रूपमा गर्नसक्ने अवस्था बन्छ,’ उनले भने । विगतमा आफूले छलफल गर्नुपर्ने कतिपय विषयका लागि नेताहरूको भर पर्नुपर्ने अवस्था अबका सांसदहरूलाई हुँदैन भन्ने लागेको शर्मा बताउँछन् ।
चुनावी मैदानमा विद्यावारिधि गरेका ५५ जना उम्मेदवार थिए । तीमध्ये नौजना निर्वाचित भएका छन् । निर्वाचितमध्ये तनहँु १का स्वर्णिम वाग्ले, सर्लाही ४का अमरेशकुमार सिंह, नुवाकोट १का विक्रम तिमिल्सिना, नुवाकोट २का अच्युतम लमिछाने, रामेछापका कृष्णहरि बुढाथोकी र स्याङ्जा–१का धनञ्जय रेग्मी विद्यावारिधि हुन् । त्यस्तै, कैलाली–५ बाट निर्वाचित आनन्दबहादुर चन्द, डडेलधुराका ताराप्रसाद जोशी र नेकपा एमालेका तर्फबाट संखुवासभाका निर्वाचित अर्जुनकुमार कार्कीले पनि विद्यावारिधि गरेका छन् ।
रास्वपा उपसभापति स्वर्णिम वाग्ले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया–प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए । राष्ट्रिय योजना आयोगमा सदस्य तथा उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
अमेरिकामा नेपाली राजदूतका रूपमा काम गरिसकेका एमालेका कार्कीले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।
यसैगरी, कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी अमरेशकुमार सिंहले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । राजनीतिमा आउनुअघि उनी अमृत साइन्स क्याम्पसमा प्राध्यापकका रूपमा कार्यरत थिए ।
विक्रम तिमिल्सिनाले सन् २०२२मा ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । यस्तै, अच्युतम लामिछानेले दक्षिण कोरियाको योङ–इन विश्वविद्यालयबाट स्पोट्र्स एन्ड एक्सरसाइज साइकोलोजीमा विद्यावारिधि गरेका छन् । कृष्ण बुढाथोकीले त्रिभुवन विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले आर्थिक प्रदर्शन रेमिट्यान्सलगायत विभिन्न विकाससम्बन्धी विषयमा अनुसन्धान गरेका छन् ।
धनञ्जय रेग्मीले जापानको होक्काइडो विश्वविद्यालयबाट वातावरणीय पृथ्वी विज्ञानमा विद्यावारिधि गरेका छन् । उनले अमेरिकाको एरिजोना विश्वविद्यालयबाट पोस्ट–डक्टरल अनुसन्धान गरेका छन् । त्यस्तै, आनन्दबहादुर चन्दले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानमा अध्ययन गर्दै अमेरिकाको नर्थ क्यारोलाइना ए एन्ड टी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा प्राकृतिक पदार्थ रसायन तथा फार्माकोग्नोसी विषयमा विद्यावारिधि गरेका छन् । २०४८ सालदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरमा जित हासिल गरेका ताराप्रसाद जोशीले भने जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
विगतमा विद्यालय शिक्षा पार नगरेका नेताहरू राजनीतिको केन्द्रमा रहने गरेको गुनासो आमरूपमै सुनिने गरिएको थियो । अधिकांश सांसदको शैक्षिक योग्यता कम, लोकतान्त्रिक आन्दोलन, जेल वा भूमिगत संघर्षमा ज्यादा हुन्थ्यो । यसपटक भने प्रतिनिधिसभामा पढालेखा सांसदको बाहुल्य हुने देखिएको हो । संसद्मा युवाको समेत बाहुल्य रहने देखिएको छ ।