२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मतपत्रमा ढुंगा !

अधिकांश बदर मत दुई छाप लागेका

shivam cement
रुपेश आचार्य
२०८२ फागुन २७ गते ०६:२५
Shares
मतपत्रमा ढुंगा !

—‘मेचीदेखि महाकालीसम्म, पहाडदेखि तराईसम्म गरिबको नाम बेची अमिर(ले) लुट्छन् । टाइममा खाद(मल) पाउन दहडी(मेला) छोडेर जानुपर्छ .....विश्वासमा भोट दिएको छु जेन्जीबाबु —म किसान’ 
—‘नयाँ नेपाल बनाउनुपर्‍यो’
—‘भ्रष्टाचार हटाउनुपर्‍यो’

फागुन २१ गते भएको मतदानका क्रममा विभिन्न जिल्लामा मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाउनुको साटो यस्ता बेहोरा लेखेर वा लेखिएको चिर्कटो मतपत्रमा बेरेर बाकसमा खसालेका छन् ।

यसपटक मतपत्रमा विभिन्न ढंगले असन्तोष प्रकट गर्ने तथा एकै मतपत्रमा दुईवटा चिह्नमा स्वस्तिक छाप लगाइएको देशैभरि पाइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भण्डारीका अनुसार मंगलबार बेलुका अन्तिम परिणाम आउँदै गर्दा ग्रामीण भेगजत्तिकै सहरी क्षेत्रमा समेत बदर भएको मतको संख्या तीन दशमलव पाँच प्रतिशतको हाराहारीमा पाइएको छ । खासगरी प्रत्यक्षतर्फ बदर मतको संख्या समानुपातिक मतपत्रको तुलनामा अत्यधिक भएको उनले बताए ।  मध्यान्हले मंगलबार विभिन्न जिल्लाका निर्वाचन अधिकृतसँग यसबारे कुरा गर्दा केही चुनाव क्षेत्रहरूमा बदर मतको संख्या ६ प्रतिशतसम्म पुुगेको जानकारी दिए ।

काठमाडौं क्षेत्र नं १०की निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार बदर मतमध्ये सर्वाधिक संख्या दुुईवटा चिह्नमा स्वस्तिक छाप लागेका छन् । यसैगरी केही मतपत्रमा ल्याप्चे लगाइएको, कुनैमा कतै पनि स्वस्तिक छाप नलगाइएको र कुनैमा दुुवै चिह्नमा पर्ने गरी स्वस्तिक लगाइएको देखिएको छ ।

लमजुुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार त्यहाँ बदर मतपत्रमध्ये सबैभन्दा बढी संख्या एकभन्दा बढी चिह्नमा छाप लगाइएका मतपत्रको छ । प्रत्यक्षतर्फ सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार पहिलो, निकटतम प्रतिद्वन्द्वी दोस्रो क्रममा राख्ने हो भने पाँचौं मत बदर भएको हुने उनले बताए । ‘निर्वाचन प्रचारका क्रममा केही नेताले ‘तपाईंले पार्टी बदल्नुपर्दैन, एक भोटचाहिँ हामीलाई दिनुुहोस्’ भनेकोलाई नबुझेका कारण पनि एउटै मतपत्रमा दुईवटा स्वस्तिक छाप लगाएजस्तो देखिन्छ,’ उनले भने । 

रुपन्देही–३का मुुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले दुई चुनाव चिह्नमा छाप लगाइएका मतपत्रको संख्या करिब साढे चार प्रतिशत रहेको जानकारी दिए । त्यहाँ करिब एक दर्जन मतपत्र खाली भेटिएको, केही मतपत्रभित्र ‘समयमा मल नपाएको’जस्ता बेहोरा लेखेको चिर्कटा भेटिएको पनि उनले बताए । राजनीतिक दलका नेतालाई गालीगलौज गरिएका चिर्कटा पनि कतिपय मतपत्रमा भेटिएको समेत उनले बताए । 

रुकुुम–पश्चिमका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले आफ्नो क्षेत्रमा पनि  दुुई चिह्नमा छाप लगाइएका मतपत्रको संख्या तीन प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । ‘एउटा मतपत्रमा एक लहरका छवटै चिह्नमा छाप लगाइएको र अर्कोमा त सबै १२ वटै चिह्नमा छाप लगाइएको समेत भेटियो,’ उनले भने । जुुम्लाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त भने एकै मतपत्रमा एकभन्दा बढी स्वस्तिक छाप लगाउनुको कारण अज्ञानतावश नभई लापरबाही वा आक्रोश भएको बताउँछन् । ‘चन्दनाथ नगरपालिकाकै मतदान केन्द्रका मतपेटिकामा त्यस्ता मतपत्र भेटिनुको कारण अज्ञानता होइन लापरबाही हो,’ उनको तर्क छ ।

कैलाली–४का निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले आफ्नो क्षेत्रमा ल्याप्चे लगाउने र एकभन्दा बढी चिह्नमा छाप लगाउने मतपत्रको संख्या कुल पाँच प्रतिशतभन्दा बढी भेटिएको बताए । 

निर्वाचनको इपिसेन्टर भनिएको झापा क्षेत्र नं पाँचमा पनि एउटै मतपत्रमा दुईवटा स्वस्तिक छाप लगाइएका मतपत्र तीन प्रतिशतभन्दा बढी छ । त्यहाँका निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार कतै आक्रोश त कतै माग गरिएका चिटहरू फेला परेका छन् । 

पर्सा–४की निर्वाचन अधिकृत नूतन झाका अनुसार त्यस क्षेत्रमा पनि बदर मतमध्ये सर्वाधिक मतपत्रमा दोहोरो छाप भेटिएको छ । यसैगरी ल्याप्चे लगाइएका, कुनै पनि चिह्नमा छाप नलागेका मतपत्रसमेत त्यहाँ भेटिएका छन् । ‘एउटा मतपत्रमा त चुनाव चिह्नमाथि सानो ढुुंगा टाँसिदिएको समेत फेलापर्‍यो,’ उनले भनिन् । 

निर्वाचन आयोगले बर्सेनि मतदाता शिक्षा फैलाउन कुनै कसर बाँकी नराखे पनि अज्ञानता र आक्रोश पोख्नका लागि यसरी बदर गराइएका मतपत्रको संख्या उल्लेख्य छ । 

अघिल्ला निर्वाचनहरूमा पनि मत बदर नभएको होइन । विसं २०६२÷६३ पछि  पहिलो संविधानसभाको चुनावमा पहिलोपटक समानुपातिक प्रणालीमा मतदान गराइएको थियो । त्यतिबेला मतदानको तरिका र नियम नजान्दा बदर मत झन्डै ६ प्रतिशत पुगेको थियो । त्यस्तै, २०७०मा सम्पन्न दोस्रो संविधानसभा चुुनावमा चार दशमलव ९६ प्रतिशत र संविधान बनेपछिको पहिलो आमनिर्वाचन २०७४मा प्रदेशसभाको समानुपातिक निर्वाचनमा मतपत्रको जटिलता र गठबन्धनका कारण १४.५१ प्रतिशत मत बदर भएको थियो  । त्यस्तै, २०७९को संघीय तथा प्रदेश निर्वाचनमा क्रमशः पाँच दशमलव नौ र छ दशमलव ५५ प्रतिशत बदर मत रह्यो ।

बदरको हुनुको अन्य कारणहरूमा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुट्नु, स्वस्तिक छाप कोठा वा बक्सबाहिर लगाउनु, लाइन छुनु वा गलत ठाउँमा लगाउनु साझा समस्या देखिन्छ । स्वस्तिक छाप अस्पष्ट, धमिलो, धेरै मसी लागेको, पटक–पटक लगाएको, च्यातिएको र मतपत्रलाई राम्रोसँग पट्याउन नजान्दा एउटा छापको मसी अर्कोमा परेर मतपत्र बदर हुन जाने प्रवक्ता भण्डारी बताउँछन् । यद्यपि धेरै निर्वाचन क्षेत्रमा हातले समात्दा मतपत्रको कुनै भागमा मसी लागेको वा स्वस्तिक छाप कोठाभन्दा केही बाहिर परेको अवस्थामा समेत धेरै भाग परेको चिह्नलाई गणना गरी सदर गरिएको जानकारी उनले दिए । 

यसकारण हुन्छ मत बदर 

निर्वाचन आयोगका अनुसार मत बदर हुनुको कारण सबै समयमा एकै किसिमका छैनन् । ‘निर्वाचनको इतिहास’ र ‘बीपी–महेन्द्र टकराव’ पुस्तकमा उल्लेख गरिएअनुसार २०१५ सालको आमनिर्वाचनमा मतपेटिकाबाहिर खसेको मत बदर हुन्थ्यो । त्यसबेला उम्मेदवारका लागि छुट्टाछुट्टै मतपेटिका हुन्थे । मतपत्रमा ‘पहिलो आमचुनाव’ लेखिएको मतपत्र (चिर्कटो) पतपेटिकामा खसाल्नुपर्दथ्यो । बाहिर परेको मत बदर हुन्थ्यो । 

२०४८ यता भने मत बदर हुने अवस्था केही फेरियो । २०८२ सालसम्म आउँदा पनि मत बदर हुने क्रम जारी छ । बरु समयअनुसार यसका कारण र प्रवृत्ति फेरिएको छ । 

निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भए स्वतः बदर गरिएको छ । 

औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरेको पनि बदर भएको छ । 

मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको मतपत्र, उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएका मत्रपत्र बदर भएको छ । 

एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएका मतपत्र पनि गणना गरिएको छैन । 

एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत संकेतको चिह्न पर्ने गरी मत संकेत गरिएका, मत संकेत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएका, कुनै पनि उम्मेदवार वा दलको निर्वाचन चिह्नमा मत संकेत नगरिएका मतपत्र बदर भएको छ । 

निर्वाचन आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएका मतपत्र पनि सदर भएका छैनन् । 

मतपत्र मतपेटिकाभन्दा बाहिर राखिएका पनि सदर हुने कुरै भएन । जाली मतपत्र, पट्याएको मतपत्रभित्र कुनै मुद्रा, कागज वा अन्य कुनै वस्तु संलग्न गरेको वा कुनै रूपमा च्यातेको, प्वाल पारिएका मतपत्र पनि सदर भएका छैनन् । 

एउटा पट्याएको मतपत्रभित्र अरू मतपत्रसँगै एकसाथ पट्याइएका र उम्मेदवार वा दलको निर्वाचन चिह्न रहेको कोठामा र निर्वाचन चिह्न रहेका कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मत संकेत गरेका मतपत्र पनि सदर भएका छैनन् । 

निर्वाचन आयोगले मत बदर हुन नदिनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । यही फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म चलेको मतदाता शिक्षा कार्यक्रममा मत बदर हुन नदिने उपायबारे मतदातालाई जानकारी गराइएको थियो ।

तथापि, प्रत्यक्षतर्फ बदर मत पाँच प्रतिशतमाथि रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक तर्फको मतगणना जारी छ । मंगलबार साँझसम्म गणना भएको समानुपातिकतर्फको मतमा तीन दशमलव ९४ प्रतिशत मत बदर रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । 

सम्बन्धित खबर