
आँख मिचौली/लच्छी डाँडी/आइसपाइस्, लुकामारी, छुपनछुपाइ या आँखमिचौली/गुल्लीडन्डा/गोली या कन्चा/खोप्पीढुस/कबड्डी/एक्खटदुक्खट या लँगडी टाँग/गट्टा/लुडो र साँपसिढी/सतोलिया/चेस अर्थात् शतरंज, डोरी अर्थात् रस्सी घुमाएर खेलिने खेलहरू, चि मुसी चि/बोल मेरी मछली कित्ता पानी, तासका जुट पत्ती, किट्टी र चल सत्र/लट्टु आदि इत्यादि ।
यी सबै बाल्यकालमा मैले खेलेका खेल हुन् । कुनै आउटडोर, कुनै इन्डोर । यीमध्ये धेरै खेल खेल्दा पैसा लाग्दैनथ्यो । साथीहरूको संख्या धेरै या थोरै जति भए पनि हुन्थ्यो । लुडो, साँपसिढी, शतरंज या तासका खेल एक ठाउँमा बसेर खेले पनि अरू धेरै खेल जमिन या माटोसित जोडिएका खेल हुन्थे । त्यसैले घर आउँदा धुलो मैलो हुन्थें । विद्यालयको माध्यमिक तहमा पुगेपछि क्रिकेटसित पनि आत्मीय भइयो । फुटबल, ब्याडमिन्टनतिर पनि आकर्षित भइयो । यी खेलहरूसित परिचित भएपछि पैसाको आवश्यकता पनि पर्न थाल्यो । त्यसपछि पैसाको महत्व पनि बुझियो । आफूसितको बजेटले ब्याडमिन्टनका लागि कर्क किन्ने कि क्रिकेटका लागि ब्याटबल ? हिसाबकिताब गर्न थालियो । त्यसपछि आफ्नो आर्थिक हैसियतअनुसारको खेलसित जोडिन थालियो । यसले फाइदा के भयो भने आफूलाई आफ्नो क्षमता र हैसियत दुवै थाहा हुँदो रहेछ । कहिलेकाहीँ पैसाकै अभावका कारण आफूले चाहेको खेल खेल्न नपाएर खिन्नता बोध भए पनि आज आएर लाग्छ, हामीले आफ्नो हैसियतअनुसारको आर्थिक व्यवस्थापन गर्ने कौशल त्यति बेलै सिकेका हौँ ।
त्यतिखेर यी खेल मनोरञ्जनका लागि मात्र हुन् भन्ने लाग्थ्यो । तर आज आएर थाहा पाएँ, यी खेल मनोरञ्जनबाहेक स्थानीय संस्कृतिको हिस्सा पनि रहेछन् । पसिना र माटोसितको साइनो गाँसिदिँदा रहेछन् खेलहरूले । साथी र समाजसित अन्तक्र्रिया गर्ने रोचक माध्यम रहेछ खेलकुद । हरेक खेलसित उत्सुकता, उमंग, उत्साह, प्रतिस्पर्धा आदिका भाव जोडिएका हुन्छन् । यी भावले हामीलाई रचनात्मक र सिर्जनात्मकसँगै विविध किसिमका संवेग र संवेदनासित पनि जोड्छन् । यिनले हामीलाई नियमसित परिचित गराउँछन् र अनुशासनको पाठ पनि पढाउँछन् । कहिलेकाहीँ खेलमा परिमार्जन गरेर नयाँ किसिमको रचनात्मकतासित अभ्यस्त पनि बनाउँछन् । शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यसित पनि यी खेल जोडिएका हुन्छन् । यी खेलमा आफूसित खेलिरहेको अर्को पात्रको मनोविज्ञानको अध्ययन गर्न पनि सघाउँदा रहेछन् । म अहिले साहित्य लेखन क्षेत्रमा छु । म व्यक्तिका मानसिकतालाई बुझ्ने प्रयत्न गरिरहन्छु हरदम । यो सबै गुण मैले बाल्यकाल या किशोरावस्थामा खेलेको खेल र ती खेलसित जोडिएका मेरा साथीभाइसितको संगतबाटै प्राप्त गरेको हुँ । त्यसैले म जीवनपर्यन्त ती खेल, खेलका सहभागी साथीहरू, मैले लुटुपुटु गरेको जमिनको बास्ना, आफ्नै र साथीहरूको शरीरबाट बगेका पसिनाहरूको सुगन्धलाई कहिले पनि बिर्सन सक्दिनँ । म वर्तमानबाट जबजब विचलित हुन्छ, तबतब मलाई अतीतका यी यादहरूले सम्हाल्छन् । त्यसैले यी यादहरू अप्रत्यक्ष किसिमले मेरो मानसिक स्वास्थ्यका ओखती पनि हुन् ।
यी त भए मेरा निजी अनुभूतिहरू ।
तर खेल त हामीले मानेको धर्म र अंगीकार गरेका संस्कृति र परम्परालाई समृद्ध बनाउने सानदार कुरा रहेछ । शिव र पार्वती मनोरञ्जनका लागि कौडा खेल्दा रहेछन् । महाभारतमा त झन् पासाको खेलले युद्धसम्मको स्थिति ल्याएको विश्लेषण गर्न सकिन्छ । मधेश त बेलाबेलामा मुगल या अवध संस्कृतिसित पनि जोडिएको भूमि हो । त्यसैले मधेशले नबाबहरूले खेल्ने शतरंज, घुडदौड या चौपड खेललाई पनि बुझेको छ र यी खेलसित जोडिएको राजनीतिलाई पनि बुझेको छ । त्यसैले मधेश कहिलेकाहीँ आफ्ना नेताहरूसित असन्तुष्ट भएर सोध्छ, ‘हामी कहिलेसम्म तिमीहरूको शतरंजको गोटी भइरहने ?’
...
मैले नेपालगन्जसित जोडिएको आफ्नो बाल्यकाल र किशोर वयका अनुभूतिका आधारमा खेलबारे यति कुरा लेखेको हुँ । विद्यालय शिक्षाकै क्रममा वीरेन्द्र रनिङ सिल्डका बेला हुने एथलेटिक्स र त्यसबाहेकका भलिभल, फुटबल, ब्याडमिन्टनलगायतका खेलसित परिचित भएको हुँ । स्थानीय युवा हकी पनि खुब खेल्थे । पछि नेपालगन्ज शारीरिक सुगठन र भारोत्तोलनजस्ता खेलका लागि पनि प्रख्यात हुँदै गयो ।
खेल मनोरञ्जन, शारीरिक क्षमताको परीक्षण गर्ने प्रतियोगिता मात्र पनि होइन रहेछ । खेलाडीहरूमा राजनीतिक चेत पनि हुँदो रहेछ र त्यसले समाज रूपान्तरण या राजनीतिक परिवर्तनमा पनि उल्लेख्य भूमिका निर्वाह गर्दो रहेछ भन्ने कुरा नेपालगन्जका खेलाडीहरूले पञ्चायतकालमा गरेका प्रतिरोधी प्रयासले पनि पुष्टि गर्दो रहेछ ।
अब त नेपालगन्ज अन्तर्राष्ट्रिय परिदृश्यमा पनि चिनिन थालेको छ । र यसरी चिनाउने काम गरिरहेछ– नेपालगन्ज म्याराथनले । यसबाट साबित हुन्छ खेलकुद त अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान, परिचय र हैसियत स्थापित गर्ने महत्वपूर्ण माध्यम पनि रहेछ ।
खेलसित जीवन र जगतका फराकिला र विविध आयाम जोडिएका हुँदा रहेछन् । समाजका लागि शिक्षा जति महत्वपूर्ण छ, खेलकुद पनि उत्तिकै महत्वपूर्ण हुँदो रहेछ । स्वस्थ समाज निर्माणमा खेलकुद साह्रै महत्वपूर्ण हुने रहेछ ।
व्यवस्थापन गर्न जानियो भने खेल अर्थतन्त्रलाई मजबुत बनाउने कुरा पनि रहेछ । आज फुटबलसित खेलाडीको जीवन या भविष्य मात्र जोडिन्न, खेल सामग्री बनाउने उद्योग, रंगशाला आदि निर्माण गर्ने इन्जिनियरदेखि कामदारसम्म, टिसर्ट या अरू प्रचार सामग्री निर्माण गर्ने उद्योगधन्दासम्मका कुरा जोडिन्छन् । त्यससँगै जोडिन्छन् रोजगारका विविध आयाम र अवसर ।
छिमेकी भारतमै हेरौँ, क्रिकेट त्यहाँ संस्कृतिजस्तै भइसकेको छ । त्यससित अर्थतन्त्रका धेरै पक्ष जोडिएका छन् । देशको समृद्धिसँगै सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि पनि यो महत्वपूर्ण कुरा भएको छ ।
...
पढोगे, लिखोगे तो बनोगे नबाब
खेलोगे कुदोगे तो बनोगे खराब ।
घर परिवार या समाजमा व्याप्त यो मानसिकतामा हुर्किएको हुँ म । तर अहिले मेरै घरपरिवार, छरछिमेकी या म बाँचिरहेको समाजले खेलकुद र खेलाडीहरूलाई जुन सम्मान दिइरहेछ, त्यसले भविष्यमा खेलकुद भन्ने कुरा झनै गरिमामय हुने कुरा निश्चित छ ।
तर समस्या हाम्रो शासकीय चिन्तनमै छ । यसले खेललाई आज पनि उत्तिकै महत्व दिएको लाग्दैन । खेलकुदसित जोडिएका संस्थाहरूमा फोहोर राजनीति घुसेको छ । खेलाडीहरूको मनोबल बढाउने, उनीहरूको आर्थिक हैसियतको विकासका लागि राज्यले केही गरिरहेकै जस्तो देखिन्नँ । यो निराशाजनक परिदृश्य अवश्य हो । तर खेलकुद भन्ने यस्तो कुरा रहेछ, यसले अनेक संघर्ष गरेर भए पनि आफ्नो हैसियत र स्थान पक्का गरिछाड्दो रहेछ ।