
- जेनजी विद्रोहका बेला नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर प्रहरीसँग विवाद गर्ने ३० वर्षीय यमबहादुर कँडेल धेरै समयसम्म भाइरल भए । सुरुमा प्रहरीसँगको भनाभनको भाषाले उनको मनोविज्ञानलाई धेरै हदसम्म संकेत गरेको थियो । ‘हेलो सर, मेरो आँखामा डर देख्नुहुन्छ ? ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन’ कँडेलले भनेको थिए, ‘मेरो आत्मा भगवानले लानुहुन्छ । देशको चिन्ताले गर्दा अहिले पनि सुत्नै सक्दिनँ ।’
प्रहरीलाई आफ्ना आमाबुवा र देशबारे सोच्न भनिरहेका धादिङ त्रिपुरासुन्दरी–५ स्थित थापाकटेरीका उनै युवाले झन्डै एक महिनापछि १९ असोजमा आफ्नै ५५ वर्षीया आमा राममायाको हत्या गरे । उनी मादकपदार्थ र लागूऔषधको कुलतमा थिए ।
- प्रहरी दमनमा संसद् भवनअघि २३ भदौमा स्कुल कजेलकै पोसाकमा युवालाई गोली लागेपछि जनआक्रोश सम्हालिसक्नुभएन । राजनीतिक दल र नेताहरू युवा आक्रोशको तारो भए । उनीहरूले वृद्धावस्थाका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणालाई पनि छाडेनन् । आक्रोशसम्म ठिकै होला तर अमानवीयता चर्कै देखियो । भ्रष्टाचार वा अरू कुनै कारणले उनीहरू दोषी हुन् भने कानुनीराजमा कानुनबाटै कारबाही हुनुपर्छ । तर २२/२४ वर्ष उमेरका देखिने युवाले आरजुलाई लातीले हानेर लडाएको दृश्य भाइरल छ । उनको कपाल तानिएको छ र निर्मम मुक्का प्रहार गरिएको छ । आन्दोलनकारी युवा सोध्छन्, ‘तँ र कुकुरमा के फरक छ ?’ निरीह आरजु भन्छिन्, ‘केही फरक छैन बाबु ।’ देउवालाई पनि उसैगरी टाउकोबाट रगत बग्नेगरी कुटपिट गरिन्छ ।
- पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकार भौतिकशास्त्रकी प्राध्यापक हुन् । खनाल एमाले अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री रहँदा उनी कतै विवादमा परिनन् । राजनीतिमा उनको खास चासो पनि देखिँदैन । तर २४ भदौमा नेतामाथिको आक्रोशमा उनै चित्रकार परिन् । ४० वर्ष प्राध्यापन गरेकी वृद्ध गुरुआमालाई युवाहरूले घरमै थुनेर आगो लगाए । जसोतसो उद्धार गरिए पनि उनले एउटा हात गुमाइन् । एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगेर उपचार गर्नुपर्यो ।
- आन्दोलनका नाममा २४ भदौमा देशभर लुटपाट मच्याइयो । भाटभटेनीमा घुसेर मानिसहरूले सामान ओसारे । भाटभटेनीमै आगो लाग्दा जलेर मृत्यु भएका १२ जनाको अझै सनाखत हुन सकेको छैन । नेताले देश लुटे भनेर गरिएको आन्दोलनले मौका पाउनासाथ जोकोही लुटपाट गर्दो रहेछ भन्ने पुष्टि गरिदियो ।
यी परिदृश्यले नेपाली समाजको अहिलेको मनोविज्ञान झल्काउँछ । सामाजिक सञ्जाल हेर्दा थाहा हुन्छ, नेपाली समाज कति असामाजिक भइसकेको छ । कुनै शीर्ष नेताको बर्थ डेमा आउने रिप र चर्चित कलाकार अझ महिलालाई गरिएको गाली हेर्दा समाजको ठुलो हिस्सा मानसिक समस्याले ग्रस्त देखाउँछ । त्यसमा युवाको संख्या ठुलो छ । अनि असन–इन्द्रचोकका भिडभाड सडक र गल्लीदेखि गाउँघरका पातला बस्तीसम्म एउटै स्वर छ, ‘नेपालमा भविष्य छैन ।’
विश्वविद्यालयका बेन्च खाली र अन्तर्राष्ट्रिय विमानस्थल भरिभराउ हुन थालेको धेरै समय भइसकेको छ । आफ्नो जमिन बाँझो राखेर मरुभूमिमा सिँचाइ गर्न जाने ती मजदुर पक्कै पनि हार मानेरै हिँडेका होलान् ! नेपालमा पढाइअनुसारको जागिर छैन, खेती गरेअनुसारको बजार छैन । उत्पादक र उपभोक्ताबीचको दूरी कम गर्न राज्यले पहल गर्नुपर्ने हो, त्यसमा सम्बन्धित निकाय मौन भएपछि आममानिस आजित त हुने नै भए । वडामा पियनको जागिर खानलाई नेताको चाकडी गर्नुपर्ने स्थितिबाट हैरान भएका युवापुस्ताले यही देशमा भविष्य देख्न मुस्किल त हुने नै भयो । पछिल्लो जेनजी आन्दोलनमा पोखिएको आक्रोश त्यसैको परिणाम भएको विश्लेषण गरिन्छ । आन्दोलन आवश्यक थियो थिएन, सफल भयो भएन त्यसको मूल्यांकन हुँदै गर्ला । तर आन्दोलनमा देखिएका दृश्यले युवापुस्तामा कुन हदसम्मको निराशा रहेछ भन्नेचाँहि छरप्रस्ट पारिदिएको छ ।
राजनीतिक अस्थिरता र कुशासन
देशको राजनीति आमनेपाली जनताको आशा र भरोसाको केन्द्र हो । तर नेपालको राजनीति जहिले पनि अस्थिर देखिन्छ । प्रजातन्त्र आउनुभन्दा पहिले होस् वा गणतन्त्रपछि नेपाली जनता शासनसत्ता र नेतृत्वबाट कहिले पनि खुसी हुन सकेका छैनन् । नेपालमा सरकार कहिले पनि टिक्दैन । गठबन्धनको सरकार नटिक्नु स्वाभाविक हो तर विगतको इतिहास हेर्ने हो भने बहुमतको सरकार पनि आफ्नो पूर्णकार्यकालसम्म अडिन सकेको छैन । २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको दुई तिहाइको सरकारलाई राजा महेन्द्रले अपदस्थ गरी शासनसत्ता हातमा लिएपछि दलीय राजनीतिमा अस्थिरताको यो शृंखला सुरु भएको हो । करिब ३० वर्षको संघर्षपश्चात् २०४६ मा प्रजातन्त्र पुनस्र्थापना र ४७ सालमा चुनाव भयो । चुनावबाट बहुमत प्राप्त दल नेपाली कांग्रेसले पाँच वर्षको शासनकाल पूरा हुन दुई वर्ष बाँकी हुँदै संसद् विघटन हुन पुग्यो । संसद् विघटपछि संसद्को ठुलो दल नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । त्यो पनि सफल हुन सकेन । राजनीतिक अस्थिरता, संसद् विघटन र पुनस्र्थापनामै अल्झिएको नेपाली राजनीतिमा ५६ सालमा निर्वाचन भयो । यो चुनावमा कांग्रेसले बहुमत ल्यायो तर प्रधानमन्त्री फेरिरहने प्रक्रियाले भने निरन्तरता पाइरह्यो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा यसै समयमा प्रधानमन्त्री भए । देउवाले यसै अन्योलताकै बीच संसद् विघटन गर्ने प्रस्ताव राजा ज्ञानेन्द्रसमक्ष पेस गरे र संसद् विघटन भयो । यसबाट नेपाली राजनीतिले अस्थिरताको फरक कोर्स सुरु गरेको राजनीतिक विश्लेषकको बुझाइ छ ।
त्यसपछि नेपालमा सुरु भइरहेको आन्दोलन र संघर्षले २०६३ सालमा प्रतिनिधि सभाको पुनस्र्थापना भयो । त्यसभन्दा पछिका अवस्था झन् खिँचातानी र लुछाचुँडीमै बितिरहेको देखिन्छ । २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले बहुमतनजिक भए पनि सफल हुन सकेन । २०६९ सालमा भएको चुनाव, २०७४ सालमा भएको चुनाव, २०७९ सालमा भएको चुनावबाट चयन भएका नेता, दल र नेतृत्व लगभग असफल देखिएका छन् । राजाको शासनदेखि जनताले आफैंले चुनेका प्रतिनिधिको शासनबाट नेपाली जनता आजित भइसकेका छन् । इतिहासदेखि वर्तमानसम्म नेपालको बहुमत प्राप्त दल कहिले पनि आफ्नो कार्यकालभरि सग्लो रहेन ।
राज्यसत्ता जहिले पनि पहुँचवालाको हातमै रहिरहने विकृत परम्पराबाट आजित जनताले देशप्रति आफ्नोपन महसुस गर्न नसकेको अभियन्ता खगेन्द्र सुनारको टिप्पणी छ । उनका अनुसार, नेपालमा भएको पछिल्लो समयको राजनीतिक परिवर्तन र जेनजी आन्दोलन पनि त्यसैको उपज हो । सत्ताकेन्द्रित राजनीति, दबाब र प्रभावमा परेर काम गर्ने शैलीले जनताको मनमा चोट परेको छ । अपेक्षाबमोजिम काम नभएपछि जनतामा छाएको निराशा नै जेनजी आन्दोलनमा देखिएको आक्रोश हो । आन्दोलनपछि नागरिकस्तरबाट गठित सरकारको कार्यशैलीबाट पनि जनता खुसी हुन नसकेको अवस्था छ । ‘यो सरकार पनि परम्परागत सरकारकै बाटोमा हिँड्न खोजेको आरोप लाग्न थालेको छ । तथापि केही आशा र भरोशा अझै जीवित छ, हरेस खाइहाल्नुपर्ने अवस्था छैन,’ सुनार भन्छन् ।
देशको राजनीतिले युवामा बढेको निराशा कम गर्न केही पहल गरेको जस्तो देखिन्छ तर दीर्घकालीन योजना बन्न सकेका छैनन् । प्रजातन्त्रपछिको यो ७८ वर्षको अवधिमा समेत जनतामा उही कुण्ठा देखिनुले जनभावना बुझ्न नेपालको राज्य र नेतृत्व असफल भएको सुनारको बुझाइ छ । नेपाल बहुजातीय र बहुभाषिक देश हो, जातीय, लैंगिक र पहिचानका आधारमा हुने भेदभावले नेपालप्रति उपेक्षित समुदाय जहिले पनि निराश छन् । ‘म दलित समुदायको हकहितका लागि आवाज उठाउँदै आएको छु, आज पनि राज्यबाट दलितमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार गरिन्छ, १३ प्रतिशत दलितको बसोबास भएको देशको सत्तामा कहिले पहुँच पुगेको छैन, ती व्यक्ति त स्वतः निराश हुने नै भए नि,’ उनी थप्छन्, ‘कसैले बोल्न दिँदैनन्, बोले पनि सुन्दैनन्, आफ्नै देशमा कुहिरोभित्र हराएको कागजस्तो भएर बाँच्नुपर्दा निराश त भइन्छ, यही निराशा चिर्न पहल हुँदै छ ।’
विचार र सिद्धान्त मिल्नेभन्दा अपराध लुकाउन मिलेमतो गर्ने, राजनीति भागबन्डा मिलाउन जोसुकैसँग मिल्ने, चुनावी गठबन्धन गर्ने, सरकार बनाउने र गिराउने खेलले आमजनता दिक्क भएका छन् । आफूलाई टिकाउन जे पनि गर्ने जुन प्रवृत्ति नेपालको राजनीतिमा देखिएको छ यसले युवा पुस्ता मात्र नभई नेपालीहरू चिन्तामा छन् ।
कमजोर अर्थतन्त्र र वैदेशिक रोजगार
नेपालको अर्थतन्त्रलाई धान्ने बलियो आधार विप्रेषण अथवा रेमिट्यान्स हो । गएको एक वर्षमा १७ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई १७ अर्ब २३ अर्ब २७ करोड पुगेको हो । झट्ट हेर्दा यो नेपालको आर्थिक वृद्धिका लागि राम्रो देखिए पनि दीर्घकालीन रूपमा यसले नेपालको विकासमा असर पु¥याउँछ । विदेशबाट पैसा नेपाल आएको मात्र होइन नेपालबाट कति श्रम विदेशका लागि प्रयोग भएको छ भन्ने कुरा मुख्य हो । विदेशमा बस्ने नेपालीले ‘नेपालमा केही गर्ने वातावरण नभएर विदेश आएका हौं’ भन्ने वाक्यलाई नेपालको राजनीतिले मनन गर्नुपर्ने देखिन्छ । दक्ष जनशक्ति विदेश जाने, नेपालमा बस्ने वातावरण छैन भनेर आक्रोशित व्यक्तिहरूले विदेश नै पहिलो माध्यम हो भन्दै प्रचार गरिरहने प्रवृतिले विदेश जानेको लहर बढ्दो छ । विदेश जाने संख्या गनेर र नेपालमा भित्रिने रेमिट्यान्सको हिसाब गरिरहँदा ख्याल गर्नुपर्ने कुरा के हो भने, साँच्चै नेपालमा केही गर्न नसकिने नै हो त ? नेपाल केही हदसम्म अर्थतन्त्रमा कमजोर भए पनि यहाँ केही गर्न सकिँदैन भन्ने भाष्य गलत भएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । पछिल्लो समयका युवाहरूमा रोजगारीको अभाव र देशमा व्याप्त भ्रष्टाचार पनि तनावको कारक बन्न पुगेको छ ।
यसका साथै युवा पुस्ता विक्षिप्त बन्नुको अर्को कारण आर्थिक वृद्धिदर घट्नु पनि होे । विश्व बैंकको तथ्यांकले सन् २०११/१२ देखि २०२३/२४ सम्म नेपालको औसत आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत रहेको देखाएको छ । सन् २०२२/२३ मा युवा बेरोजगारी दर २२ दशमलव ७ प्रतिशत पुगेको पनि विश्व बैंकको तथ्यांकमा उल्लेख छ । जुन दक्षिण एसियामा सर्वाधिक मध्येको एक हो । अझै भदौ २३ र २४ को विध्वंशले सन् २०२५/२६ मा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपणसमेत विश्व बैंकले गरेको छ । देशको अर्थतन्त्र कमजोर हुँदा विकास निर्माणका काम त परै जाओस् सामान्य जीवनशैली बाँच्न पनि असहज हुन्छ । यस्तो अवस्थामा युवापुस्तामा भोलिको भविष्य सम्झेर निराशा पैदा हुनु स्वाभाविक देखिन्छ ।
युवापुस्ताको तनाव र आक्रोशको अर्को मुख्य कारण भ्रष्टाचार मानिएको छ । जेनजी आन्दोलन पनि त्यसकै उपजका रूपमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार भ्रष्टाचार गर्ने देशको सूचकांकमा नेपाल १०७औं स्थानमा छ । गत वर्ष ३५ अंकसहित १०८औं स्थानमा रहेको नेपाल यस वर्ष एक अंक कम भएर ३४ अंकले १०७औं स्थानमा पुगेको हो ।
भ्रष्टाचार, सुशासन र घुसखोरीसम्बन्धी सर्वेक्षण तथा प्रश्नावलीको विश्लेषणका आधारमा ट्रान्सपरेन्सीले गरेको सर्वेक्षणबाट पछिल्ला १२ वर्षको अवधिमा नेपालको सिपिआई स्कोर र वरीयता हालसम्मकै उच्च देखिएको छ । विगतका वर्षमा नेपालको अर्थतन्त्र कमजोर भए पनि जेनजी आन्दोलनका कारण देशको अर्थतन्त्रमा झन् ठुलो समस्या आउने अर्थविद् डा. अधिकारी बताउँछन् । आन्दोलनका कारण गरिबी बढेर रोजगारी घट्ने बताउँदै उनले राजस्व, उत्पादन र युवामा निराशा बढेको बताएका हुन् । देशको उद्योगधन्दा बन्द हुने, लगानीको सुनिश्चितता नहुने र लगानीका लागि कर्जा प्रवाहमा हुने झमेलाले पनि युवाहरू नेपालमा बस्न मन गर्दैनन् । उद्योगधन्दा सञ्चालनमा राज्यबाट हुनुपर्ने सहजीकरणमा पनि राजनीतिक प्रभाव, एकै कामका लागि वर्षौंसम्म बेहोर्नुपर्ने झमेलाले सिप र क्षमता भएका युवा पनि नेपालमा बसेर काम गर्न डराउने स्थिति छ ।
सामाजिक दबाब र कमजोर मानसिकता
देशमा व्याप्त बेरोजगारी, भ्रष्टाचार र कुशासनले युवा पुस्तामा आक्रोश मात्र नभई असन्तुष्टि र मानसिक तनाव पनि देखिन थालेको छ । कुनै व्यक्ति असामान्य बन्नु, असामान्य व्यवहार गर्नु उसको व्यक्तिगत समस्या हुन सक्ला तर त्यो समस्याको लहरो नेपालको राजनीति र समाजसँग प्रत्यक्ष जोडिएको हुन्छ । समाजको दबाब र देशको परिस्थितिले व्यक्तिको आर्थिक र पारिवारिक जीवन जोडिएको हुन्छ । यही समस्या कालान्तरमा अपराधसम्म पुग्ने गरेको मनोविद् मधुविलाश खनाल बताउँछन् ।
निराशाकै कारण व्यक्तिले अपराध गर्छ भन्नेभन्दा पनि समाजमा हुने हत्या हिंसा र अपराधका घटनाले मानिसमा असुरक्षाको भावना पैदा हुन्छ, त्यही भावना निराशाको कारण बन्न पुग्छ । हत्या, हिंसा र बलात्कारजस्ता घटनालाई राजनीतिक पहुँचका आधारमा दबाउने, पीडकलाई उन्मुक्ति र पीडितलाई अझ बढी सामाजिक दबाब दिने नेपालको कमजोर न्यायप्रणालीले व्यक्तिको मनस्थिति कमजोर भएको देखिन्छ ।
समाजको दबाब र राज्यको बेवास्ता, जसले गर्दा मानिसहरूले आत्महत्याजस्तो गलत कदम चाल्ने गरेको प्रहरीको तथ्याकले देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा आत्महत्या गर्ने मानिसको संख्या ६ हजार ९ सय ७४ रहेको छ भने २०८०/८१ मा बढेर त्यो संख्या ७ हजार १ सय ९४ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा भने यस्तो संख्या ६ हजार ८ सय ५२ रहेको छ । पछिल्लो समय मानिसमा निराशा बढ्दा हुने आत्मग्लानिले आत्महत्याका घटना घट्ने गरेकोे बताउँछन् मनोविद् खनाल । सामाजिक सञ्जालमा युवापुस्ताले अधिक समय खर्चेका कारण पनि उनीहरूमा निराशा, चिडचिडाहट बढेको उनको भनाइ छ । ‘सोसल मिडियाका कारण बालबालिका साइबर बिलिङमा पनि परिरहेका छन् । जेन्जी प्रोटेस्ट पनि डिजिटल थकानले गर्दा भएको जस्तो देखिन्छ,’ खनालले भने । उनले पछिल्लो समयका बालबालिकाहरूले आफ्नो पहिचानको खोजी गर्दा आफूलाई रित्तो पाएको महसुस गर्ने गरेको पनि बताए । ‘मेरो रोल के हो त ? मलाई अरूले कसरी हेरिरहेका छन् । यसकारणले पनि जोखिमपूर्ण व्यवहारमा बालिबालिका थाहै नपाई पनि होमिएको देखिन्छ,’ खनाल भन्छन् ।
समाजमा भइरहेका विभिन्न किसिमका द्वन्द्व देख्दा हाम्रो भविष्य कता जाँदै छ ? भन्ने प्रश्न युवापुस्ताले आफंैसँग गरिरहेको पनि उनी बताउँछन् । साथै आफ्नो रुचि नभएको अध्ययन, काम गर्नुपर्दा पनि युवामा नैराश्यता देखिएको मनोविद् खनालको भनाइ छ । यस विषयमा परिवारबाट पनि दबाब सिर्जना हुँदा मानसिक अवस्थामा नकारात्मक असर पर्ने र त्यसले तनाव, निराशा बढेर आत्महत्याको बाटोसमेत रोज्ने गरेको उनले बताए । यस्ता समस्या रोक्न वा न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सामाजिकीकरण जस्ता व्यावहारिक कुरामा जोड दिई अध्ययन गराइनुपर्ने, अभिभावकले पनि रुचिअनुसारको अध्ययन वा काम गर्न आफ्ना सन्तानलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । यसका साथै देशमा रहेको दक्ष जनशक्तिको पहिचान गरेर रोजगारीको सिर्जना गरिदिन सरकार तत्पर रहनुपर्नेमा उनले जोड दिए । युवा पुस्तालाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा पनि उनको जोड छ । बालबालिका र युवा पुस्तालाई तनावमुक्त जीवन जिउन सिकायो भने समाज सभ्य बन्ने उनको भनाइ छ ।
देश बनाउन समय खर्चिने युवापुस्ता भट्टी र चौतारोमा बसेर देशले केही दिएन भन्दै दिक्दार भएका छन् । बेरोजगारी यसको मूल जड हो । नेपालमा पढाइअनुसारको काम नपाउने, ठाउँमा मान्छे भयो भने पहुँचकै आधारमा ठुला पोस्टमा नियुक्त हुने तर क्षमतामा भएर पनि समान्य मान्छे छायामा पर्ने प्रवृत्ति छ । जसले गर्दा युवाहरू कुलतमा फस्ने, आपराधिक कार्यमा संलग्न हुने गरेको तथ्यांक छ । निराशाले मनोरोग नै निम्त्याउने मनोविद् खनालको टिप्पणी छ ।
आक्रोश पोख्ने माध्यम बन्यो सञ्जाल
घट्दो नेपालको आर्थिक वृद्धिदर, विश्वको खराब सूचकांकभित्र नेपाल पर्नुले केही हदसम्म नेपालका जनता खुसी छैनन् भन्ने तथ्य प्रस्तुत गर्न सक्ला तर नेपालको सामाजिक सञ्जालमा पुराना दल र नेताप्रतिको असहिष्णु टिप्पणीले यसलाई प्रमाणित नै गर्छ । पुराना दलका कुनै शीर्ष नेताले जन्मदिनमा कुनै पोस्ट गरेको छ भने त्यसमा हार्दिक श्रद्धाञ्जली लेख्नेको संख्या उल्लेख्य हुन्छन् । नेपालका जनता अझ भनौं युवा पुस्ता पुराना दल र नेताले नै देश बिगारे, यिनैले देश लुटे भन्नेमा छन् । सामाजिक रूपमा अश्लील गालीगलौचमा उत्रिने पुस्ता जुनसुकै भए पनि ऊ मानसिक रूपमा कमजोर भएको मनोविद्हरूको बुझाइ छ । देशभित्रको व्याप्त निराशाले व्यक्तिभित्र आक्रोश भरिदिएको हुन्छ । आक्रोश व्यक्त गर्ने ठाउँ नहुँदा उसले सजिलो माध्यम सामाजिक सञ्जाललाई प्रयोग गर्छ ।
देउवा दम्पतीले कुटाइ खाँदा ‘ठिक्क पर्यो’ भनियो । कुट्दै गरेको भिडियो समाजिक सञ्जालमा पोस्ट भइसकेपछि ‘यिनीहरूलाई यस्तै हुनुपथ्र्यो’ भन्ने कमेन्ट गर्ने मानिसको संख्या र त्यही भिडियो सेयर गरेर वाहवाहै बटुल्ने पनि दर्जनौंमा देखिए । अलि पाका उमेरका कोही नेताको मृत्यु नै भए पनि बल्ल मन शान्त भयो भन्ने जमात पनि ठुलो छ । भदौ २३ गते आन्दोलनमा गोली चल्नुहुँदैन थियो, नहुनुपर्ने भयो तर त्यसको आक्रोशले २४ गते देश जलाइयो र भनियो बल्ल आनन्द भयो । जलाउनमा आमनागरिकदेखि उच्च दर्जाका कलाकारसम्म देखिए । एकथरीले देशका प्रशासनिक संरचनादेखि अन्तर्राष्ट्रियस्तरका होटल र सुपरमार्केटमाथि आक्रमण हुँदासमेत यो घटनाबाट भाइरल भइन्छ भन्दै तस्बिर र भिडियो लिई सञ्जालमा पोस्ट्याए । अर्काथरीले तिनै फोटा र भिडियोलाई सेयर गर्दै आक्रोश खुसीमा बदलिएको स्टाटस राखे । त्यो आक्रमणबाट भएको क्षतिले आफ्नो निराशाको पूर्ति भयो भन्नेहरू मानसिक रूपमा कमजोर हुने गरेको मनोविद् खनालको बुझाइ छ । सामाजिक सञ्जालको गलत प्रयोगले युवाहरू गलत बुझाइको सिकार भएका छन् । अभियन्ता सुनार भने देशलाई मात्र आफ्नो सम्झेर हुँदैन, देशले आफ्नो सम्झिएन भने हरेक नेपाली विक्षिप्त हुनु स्वाभाविक भएको बताउँछन् ।
आजको युग प्रविधिको युग हो । प्रविधिले विश्वलाई आफ्नै हत्केलाभित्र अटाइदिएको छ । हत्केलामा रहेको विश्वलाई हेर्दै हुर्केका नेपाली युवाले त्यहाँको रहनसहन र विलासी जीवनशैलीको सिको गर्न खोज्नु स्वाभाविक हो । नेपाल प्राकृतिक रूपमा जति धनी भए पनि आर्थिक रूपमा कमजोर अर्थतन्त्र भएको मुलुक पनि हो । विकसित देशसँग तुलना गर्दै हामी किन त्यस्तो हुन सकेनौं भन्ने आक्रोशले जोकोहीलाई निराश बनाउँछ । आफ्नो धरातल हेर्ने हो भने नेपाल युवा पुस्ताले भनेको जस्तो निराश भइहाल्नुपर्ने अवस्थामा नरहेको अर्थविद् डा. अधिकारीको बुझाइ छ । उनी सरकारलाई मात्र आजको युवाले दोषी बनाएर रोजगारीको अभाव भइरहेको भाष्य बनाइरहेको कुरा गलत भएको बताउँछन् । भन्छन्, ‘नेपालमै लगानी गर्ने क्षमता हुँदाहुँदै पनि विदेश जानेको जमात सानो छैन । यहाँ केही गर्नै नखोज्ने अनि नेपालमा केही हुन्न भन्ने गर्छन् । हुनलाई त गर्नुप¥यो ।’ महत्वोकांक्षा मात्र बढी नराखेर देशमा सम्भावना हुँदाहुँदै पनि वैदेशिक रोजगारीमा नगई देशमै श्रम गर्न उनले युवापुस्तालाई आग्रहसमेत गरे ।