२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कीर्तिमानी नियुक्ति : लीलादेवीले हाँक्नेछिन् मुलुकको प्रशासन

ADV
मुकुन्द लामिछाने
२०८१ साउन ११ गते ०६:५५
कीर्तिमानी नियुक्ति : लीलादेवीले हाँक्नेछिन् मुलुकको प्रशासन

काठमाडौं : मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

यो सँगै नेपालको इतिहासमा प्रशासनिक नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन् । निजामती प्रशासनको सर्वोच्च पदमा नियुक्त भएर इतिहास रचेकी गड्तौला आफूले नसोचेको जिम्मेवारी पाएको बताउँछिन् ।

मुख्यसचिव नियुक्तको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालबाट बधाइ भनेका छन् । उनले लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई । आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई ।’

प्रशासनिक अभिलेखअनुसार हालसम्म २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हालिसकेका छन् । विगतमा महिला परेका थिएनन् । पहिलोपटक गड्तौलाले महिलाका रूपमा स्थायी सरकार भनिने निजामती कर्मचारी प्रशासनकै सर्वोच्च पद सम्हाल्ने अवसर प्राप्त गरेकी हुन् । 

नवनियुक्त मुख्यसचिव गड्तौला तेह्रथुममा जन्मिएर आफूले पहाडी आम महिलाले गर्ने सबै काम गरेको बताउँछिन् । 

‘घाँस काट्ने, दैलो पोत्ने सबै काम गरेकी छु । सरकारी सेवामा प्रवेश गर्दा यो पदमा पुग्छु भनेर सोचेकी थिइँन’ उनी भन्छिन्, ‘काम गर्दा इमानदार भएर लागि परे जिम्मेवारी त पाइँदो रहेछ ।’ 

२०२३ भदौ १५ गते तेह्रथुमको पिप्ले हाल म्याङ्लुङ–४ मा  जन्मिएकी गड्तौला २०५२ सालमा निजामति सेवा प्रवेश गरेकी हुन् । कानून समूहबाट न्याय सेवामा शाखा अधिकृत बनेर प्रवेश गरेकी उनी मुख्यसचिव बन्ने अवस पाएकी हुन् । उनको कार्यकाल एक महिना केही दिन मात्रै बाँकी छ । 

गड्तौला आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । करिब ३५ वर्ष निजामती सेवामा बिताएकी गड्तौला उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकासमा जान्छिन् । 

गड्तौला २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी थिइन् ।  विसं २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएकी थिइन् । २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव रहेकी उनी असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव थिइन् । 

उनले नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरेकी छिन् । काठमाडौँ स्कुल अफ ल बाट ह्यूमन राइट्स एण्ड जेन्डर जष्टिसमा स्नातकोत्तर गरेकी गड्तौलाले राजनीति शास्त्रमा समेत एमए गरेकी छन् । 

लामो समय कानुन मन्त्रालयमा काम गरेकी उनी विधेयक मस्यौदामा बढी दख्खल राख्छिन् । उनीसँग गृह, जलस्रोत, ऊर्जा, उद्योग, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव छ ।

मख्य सचिवको दौडमा अन्य सचिवहरू तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी पनि थिए । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठ सचिवमा रहेकी गड्तौला निमित्त र कामु मुख्यसचिव हुँदै मुख्यसचिव हुन सफल भइन ।

सचिवमा भन यसअघि महिलाहरुले अवसर पाइसकेका छन् । प्रथम महिला सचिव चन्द्रकला किरण हुन । उनी २०४१ सालमा सचिव एकी थिइन् । त्यसपछि सेवा लम्साल महिला परराष्ट्र सचिव २०८० सालमा भइन । यसवर्ष गड्तौला कायममुकायम मुख्य सचिव हँदै मुख्यसचिव भएकी हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise