– गोविन्दबहादुर कुँवर, लमजुङ
त्यो वर्ष गिरिजा शंकरले लगातार तीन वटा किताब छपाए । धेरै वर्षदेखि ती प्रकाशनको उज्यालोको पर्खाइमा थिए । यसरी लगालग प्रकाशित हुन पाउँदा ती पुस्तकहरु जति खुसी थिए, त्योभन्दा बढी नै गिरीजा शंकर थिए । त्यसो त तीन वर्ष अघि उनले आफ्नै श्रीमतीलाई प्रकाशक बनाएर छापेका दोमनपुरको कथा र अर्काे सानो कथाको किताब पनि भडाँरमा बजार जाने साइत कुरेर बसिरहेका थिए ।
दोमनपुरको कथा दोमनपुरको कथा मात्र थिएन उनको आफ्नै कथा पनि थियो । त्यसैले अरुले मान्यता दिए पनि नदिए पनि, उनी यसलाई आफ्नो जीवनोपन्यास भन्न रुचाउँथे ।
एक दिन उनले सोचे, “यी त मेरो जीवन भोगाइका कथाहरु हुन् । यिनलाई भँडारमा थुपारी राखेर के अर्थ भयो र ! यी त सहृदयी पाठकहरुबाट पढिन पर्छ । यिनलाई बेचेर एकाध किताब छाप्ने पैसा पार्नसके पनि उति हुन्छ ।”
अर्काे दिन एउटा झोलामा पाँच सात सेट किताब हालेर निस्कदै गर्दा उनकी पत्नी गिरीजा कुमारीले भनिन्, “ढ्याङ्ग्रे झोलामा किताब राखेर एकाबिहानै कता हो र ?”
“किताब बेच्न”, उनले भने ।
“लाज लाग्दैन ?”
“केको लाज आफूले लेखेको किताब बेच्न ? नराम्रो काम गर्न पो लाज मान्नु लाग्नुपर्च त !”
“आमाको दूध चुसेर पुगेन भनेर, बाउको घुँडो चुस्चु भने जस्तो !”
गिरीजाकुमारीले ओठ लेप्राइन् । उनी आफ्नो स्थानीय बजार दोमनपुर तिर लागे ।
उनी सरासर विशाल बैंकमा छिरे र एक सेट पुस्तक टेबलमा राख्दै भने, “प्रबन्धक ज्यू ! मेरो एक सेट पुस्तक बैंकले लिइदिन पर्यो ।”
“बैंकले लिन त मिल्दैन, तर सरको पुस्तक म व्यक्तिगत रुपमा लिन्छु नि !”
“एउटा सानो दराजमा भए पनि केही सान्दर्भिक र केही साहित्यिक पुस्तक हरेक कार्यालयमा हुनपर्ने”, उनको मनले भन्यो ।
दुई भाइको कुरा सुनेर अर्काे कोठामा कार्यरत सहप्रबन्धक प्रकाश बाहिर निस्के । उनलाई पनि गिरीजा शंकरले भने, “प्रकाश बाबू म त किताब बेच्न निस्केको, एक सेट लिनेकी ?” प्रबन्धक त्रिपाठीले थपे, “आफ्नो सरले लेखेको किताब लिइ हाल्नुहुन्छ नि, प्रकाशजीले ।”
“सरले भने पछि दोमनपुरमा कसले नलेला र सरको किताब । त्यो पनि दोमननपुरकै कथा”, प्रकाशले फुर्काए ।
“तिम्रो मुखमा सधैँ दूध र भात”, गिरीजाशंकरले खुसी हुँदै मनमनै भने । दोमनपुरका विश्व बैंक, नमूना बैँक, जनता बैंक सबैले त्यसरी नै एक/एक सेट किताब लिइदिए । त्यसैगरी सहकारी संस्थाहरु, सरकारी र निजी विद्यालयहरुले पनि कसैले एक/एक र कसैले दुई/दुई सेट किताब लिइदिए । गिरीजाशंकर उत्साही भए ।
त्यसपछि उनले घरदैलो गर्ने विचार गरे । उनले शैक्षिक, आर्थिक र सामाजिक पृष्ठभूमिको विश्लेषण गरेर एक सय जना सम्भावित ग्राहकको सूचि तयार गरे । तिनमा अधिकांश उनका पूर्वविद्यार्थी, शिक्षक मित्र, विभिन्न पेशाकर्मी, राजनीतिक कार्यकर्ता र व्यापारी थिए । उनको घरदैलो कार्यक्रममा हरेक दिन कुनै न कुनै अनुज मित्रले उनलाई साथ दिए । त्यसरी साथ दिनेमा हरिराम, रमेशकृष्ण, हर्षराम, ईश्वरीचन्द्रहरु थिए ।
उनको घरदैलो सोचेभन्दा रमाइलो भयो । कतिसँग लामो समय पछि भेटघाटको अवसर मिल्यो । आत्मीयता साटासाट भयो । धेरैले एक सेट नै किताब लिए । कतिले दोमनपुरको कथा मात्र लिए । कसैले सानो कथाको पुस्तक मात्र लिए । गिरीजाशंकरले भने दोमनपुरको कथा लिन प्रोत्साहित गरे । त्यसको मूल्य पनि अलि बढी थियो र त्यो उनको विशेष प्रिय पनि थियो ।
उनको लक्ष्यअनुसार उनी पन्चानब्बे प्रतिशत सफल भए, तर कति सूचिमा नाम नभएका सहृदयी साहित्य अनुरागीहरुले पनि उनको प्रस्ताव सहर्ष स्वीकारे र उनलाई लक्ष्यभन्दा बढी नै उपलब्धि दिलाए ।
बिक्री हिसाबले राम्रै भयो, तर कतिले किताब पूरै पढे, कतिले केही पृष्ठ मात्र पल्टाएर छोडे, त्यो विचारणीय छ । सामाजिक सञ्जालको बिगबिगी मच्चिएको वर्तमान समयमा किताब पढ्ने धैर्यता सितिमिति कहाँ पाउनु ?
हुन त गिरीजाशंकरले किताब दिनुभन्दा पहिले दुईटा प्रश्न सोधेर मात्र किताब दिन्थे ।
१. तपाईँको किताब पढ्ने रुचि छकि छैन ? किताब पढ्ने गर्नुभएको छकि छैन ?
२. तपाईँसँग किताब पढ्ने समय छकि छैन ?
पहिलो प्रश्नमा, रुचि नै नभएको भनेर त कसैले स्वीकारेनन् । तर समयको अभाव रहेको सत्य धेरैले स्वीकारे । समय अभाव हुनुको मुख्य कारण दैनिक कार्य व्यस्तता र मोवाइल अर्थात् सामाजिक सञ्जाल नै थियो ।
एक बिहान रविकुमारलाई दोमनपुरको कथा थमाएर निस्कदैँ गर्दा सागर घले भेटिए । उनको मोटर साइकलक मर्मत गर्ने कार्यशाला छ । उनले झोला देखेर होकि, केहो सर भने । उनले म त किताब बेच्न हिनेको भनेर अघि बढे । उनी उनको सम्भावित ग्राहकको सूचिमा थिएनन् । तर घलेले किताब देखाउन आग्रह गरेकाले गिरीजा शंकर रोकिए र झोलाबाट किताब झिकेर दिए । उनले सबै पुस्तक ओल्टाई पल्टाइ हेरे र दोमनपुरको कथा लिन्छु भने । गिरीजाशंकरले उनले दिएको पाँच सयको नोटमा एक सय पचास फिर्ता दिए ।
उनको पुस्तक बिक्री लघुअभियानमा पहिलो र अन्तिम स्वफूर्त ग्राहक सागर घले नै रहे । पाँच प्रतिशतले किताब नलिनुका तर्कहरु चाखलाग्दा छन् । त्यसको विवरण यसरी खुलाए, गिरीजाशंकरले, उनकै शब्दमा : पढाइमा जेहन्दार स्नातक शिक्षक लता मेमको घर पुग्दा उनी घाँस काट्न निस्कदै रहिछन् । मैले उनलाई रोकेर किताब झिकेर दिएँ । उनले दोमनपुरको कथा त केही भाग पढिसकेको बताइन् । कथाको सानो किताबका पाना भने धेरैबेर पल्टाइन् र लिम् कि नलिम् गरिन् धेरैबेर र पछि लिन्चु है सर भनिन् । मैले जहिले लिँदा पनि भैहाल्छ नि भने ।
स्नातकोत्तर म्याम कवितासँग बाटोमा भेट भयो । उनी चोकमा निस्कदै थिइन् । मैले उनलाई राकेर किताब दिन खोजेँ । उनले म पछि लिन्छु है सर भनेर तर्किदै बाटा लागिन् । उनले पुस्तक नै हेर्न मन गरिनन् ।
स्नातकोत्तर ललित भाइको उत्तर झन् चाखलाग्दो छ, “दिनभरि पसलमा बस्नुपर्छ, साँझमा एकछिन सामाजिक सञ्जाल चलाउनै पर्यो । दिनभरिको थकाइले चाँडै नि सुतिन्छ, कति बेला पुस्तक पढ्नु र सर ?”
“होत नि !”
स्नातकोत्तर भाइ गणेशले भने, “झ सर ! मैले त आफ्नै पसलको बिल पनि पढ्न र त्यसको हिसाब गर्न भ्याएको छैन ।”
उनी दोमनपुरका ठूला व्यापारी हुन् । विचरा !
पढ्ने समय नै नभए पछि किताब लिने कुरा पनि भएन, दिने कुरा पनि भएन । आखिर किताब च्यातेर मसला पोको पार्ने कुरा पनि भएन । न त त्यसका लागि गिरीजा शंकरले किताब दिऊन् ? कतिलाई त उनले मुखै फोरेर त्यसो भनेका पनि थिए ।
आफ्नै साथीका छोरा जनार्दनलाई न पढ्ने रुचि थियो न समय नै । उसलाई आफ्नो व्यवसाय सम्हाल्नै भ्याइ नभ्याइ थियो । गिरीजा शंकरका आफ्नै आँखाले देखेको कुरा ! उनले त्यसै भने । गिरीजा शंकरको चित्त नबुझ्ने कुरा भएन ।
एक जना माध्यमिक विद्यालयका प्रधानाध्यापकले फोनमा जवाफ दिँदै भने, “सरले पनि किताब बेच्नु भको ? त्यसै दिनुपर्ने हैन र ?”
तर गिरीजा शंकरले बिलसमेत एक सेट किताब पठाए उनलाई र पाँच सय लिइ छोडे ।
आफ्नो उद्देश्यमा शतप्रतिशत सफल हुनु सानो कुरा हो त ? गिरीजा शंकर मख्ख छन् । लगानी पूरै त उनीजस्ता मोफसलका गुमनाम लेखन्ते कसको उठेको छ र ? तर पनि ठिकैको एउटा स्मार्ट साइजको किताब पाँच सय प्रति कुनै सुलभ प्रेसमा छाप्ने खर्च उनले दोमनपुरमा घरदैलो गरेर जोहो गरेका छन् । यो सानो कुरा होइन !
उनी दोमनपुरवासी प्रति अनुगृहित छन् । नहून् पनि किन ? आखिर उनी दोमानपुरकै माटाले त बनेका हुन् !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies