मान्छे मारेर समातिएका महारानी, बगौरा, जगती र प्रताप चिडियाखानामा आजीवन बन्दी बनेका छन् । जंगलको फराकिलो क्षेत्र गुमाएका यी बाघ साघुँरो पर्खालभित्र निरन्तर फन्को लगाउँदै तनावमा देखिन्छन् । उनीहरूको प्राकृतिक व्यवहारदेखि बासस्थानसम्म बदलिएको छ । यो कुनैबेला मान्छेको ज्यान लिएर अहिले मानिसकै सहारामा बाँचिरहेका तिनै बाघहरूको कथा हो ।

कसैको ज्यान जानेगरी शारीरीक चोट वा क्षति पुर्याए के हुन्छ ? मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ले जन्मकैदको सजाय तोकेको छ । जन्मकैद अर्थात् २० वर्षपछि अपराधमा संलग्न व्यक्ति घर फर्किन पाउँछ ।
अनि, मान्छे खाने बाघलाई नि ?
ठ्याक्कै कानुनी सजाय नतोकिए पनि नरभक्षी बाघलाई आजीवन चिडियाघरमा राखिँदै आएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केर २०८० वैशाखमा मान्छे मार्ने ‘महारानी’ होस् वा २०७७ चैतमा बर्दियाको बगौरीफाँटमा आक्रमण गर्ने बगौरा अहिले जाउलाखेलको सदर चिडियाखानामा छन् । उनीहरूसँगै चितवनको जगतपुरमा २०७५ पुसमा मान्छे मारेको ‘जगती’ र पर्साको प्रतापपुरमा २०७७ जेठमा मान्छे मार्ने ‘प्रताप’ पनि यहीँ छन् ।
जंगलमा आफ्नो क्षेत्र बनाएर बसेका बाघ चिडियाखानामा थुनिएपछि स्वभाव नै फेरिएको छ । ठुलो पर्खाल र फलामले बारेर उनीहरूको बासस्थान बनाइएको छ । त्यसलाई दुई भागमा छुट्याइएको छ । ‘बगौरा’ र ‘महारानी’ एकपट्टि बस्छन् भने ‘प्रताप’ र ‘जगती’ अर्कोपट्टि । जंगलको अनुभूति गराउन पर्खालभित्रै ससाना ओडार बनाइएको छ । बीचमा सानो पोखरी छ । छेउछाउमा झाडी पनि छ । झाडीका बीचमा पनि बस्न मिल्ने बनाइएको छ । तैपनि, बाघका लागि त्यो बासस्थान कुनै काराबासभन्दा कम छैन । उनीहरू त्यही पर्खालभित्रै छट्पटाएर यताउता डुलिरहन्छन् । एउटै ठाउँमा पटकपटक एकोहोरो फन्को लगाइरहँदो दृश्यले बाघको बेचैनीलाई झल्काउँछ ।
बाघ मांसाहारी र एकान्तप्रिय वन्यजन्तु हो । तर चिडियाखानाका बाघले न चाहे जति मासु खान पाउँछन् न त एकान्त वातावरण नै । निश्चित समयमा पाउने तोकिएको आहाराले उसको जीवनलाई संकुचित बनाइदिएको छ । चिडियाखानामा वन्यजन्तु हेर्न हरेक दिन सयौंको घुइँचो लाग्छ । त्यसले पनि बाघका लागि शान्ति छैन । ओडारसम्मै सुनिने हल्लाले बाघ राम्ररी सुत्नुसमेत पाउँदैन । आफैं सिकार गर्ने वातावरण त झन् छँदै छैन । सम्भवतः त्यसैको प्रतिक्रिया बाघहरूले गर्जिएर दिइरहेका हुन्छन् ।
पर्खाल पछाडिको भागमा बाघलाई आहारा दिन फलामकै ससाना कोठा बनाइएका छन् । ताकि बाघले आहारा दिन जानेमाथि नै आक्रमण नगरोस् । ती कोठामा मासु राखिदिएर बाघलाई बोलाइन्छ । पर्खाल र कोठा जोड्ने फलामकै ढोका छ । जसलाई माथिबाटै नियन्त्रण गरिएको हुन्छ । ती सबै बाघ हेरालुकै जिम्मा हुन्छ । यसका लागि उनीहरूलाई विशेष तालिम दिइने गरेको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले बताए । ‘त्यो ढोका खोल्दा सन्तुलन बिग्रिएमा बाघलाई चोट लाग्न सक्छ । त्यसैले विशेष सावधानी अपनाइएको हुन्छ,’ उनले भने । आहारा खाएपछि बाघलाई पुनः पर्खालभित्रै पठाइन्छ ।
संसारका सबै प्राणीलाई स्वतन्त्रता प्यारो हुन्छ । बाघ मात्र अपवाद छैन । लामो समय बन्दी जीवन बिताउनुपर्दा बाघमा पनि तनाव, आक्रोश र स्टेरियोटाइपिक बिहेवियर (बारम्बार एकै ठाउँ घुमिरहने) स्वाभाव हुने वाइल्ड लाइफ लेखक ददी सापकोटा बताउँछन् । साथै, अपर्याप्त स्थान र अनुचित हेरचाहले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्ने उनी बताउँछन् ।
चिडियाखानाका प्रमुख साह भने उचित व्यवस्थापन, प्रशस्त खुला स्थान, वातावरणीय समृद्धि र वैज्ञानिक हेरचाहले चिडियाखानाका बाघहरूको जीवनस्तर सुधार आएको बताउँछन् । सोही कारण जंगलमा बस्ने बाघको तुलनामा चिडियाखानाका बाघको आयु लामो हुने गरेको दाबी गर्दै उनी भन्छन्, ‘जंगलमा बस्ने बाघ आफ्नै तरिकाले बसेको हुन्छ । सिकार पाउँदा खान्छ, नपाए भोकै बस्छ । तर यहाँ समयसमयमा आहारा पाउँछ, सुरक्षित हुन्छ । त्यसैले यहाँ बस्ने बाघको आयु पाँच वर्ष भए पनि बढी हुन्छ ।’
साहका अनुसार, कतिपय बाघका लागि चिडियाखाना सुधार केन्द्र हो भने कतिपयका लागि वृद्धाश्रम । ‘मान्छे मारेका, वनमा आतंक मच्चाएका बाघहरू ल्याएर राख्छौं । तिनीहरूका लागि यो सुधारकेन्द्रको जस्तो वातावरण हुन्छ भने बुढा भएर सिकार गर्न नसक्ने अवस्थाका बाघका लागि चिडियाखाना वृद्धाश्रमजस्तै हो,’ उनले भने ।
चिडियाखानामा बाघले आहारा र बासस्थानका लागि संघर्ष गर्नुपर्दैन । तोकिएको आहारा नियमित पाउँछन् । घरेलु जनावरजस्तो स्याहारसुसार पाएपछि बाघहरू मोटाउँछन्, जसका कारण रोगी हुन सक्छन् । त्यसैले चिडियाखानाका मांसहारी वन्यजन्तुलाई सातामा एक वा दुई दिन उपवास राख्ने चलन संसारभर छ । सदर चिडियाखानामा पनि हरेक शनिबार बाघलाई उपवास राखिन्छ । केही वर्षअघिसम्म दैनिक ६–७ केजी राँगाको मासु खुवाउँदै आएकोमा पछिल्लो समय पाँच केजीका दरले आहारा दिने गरिएको छ ।
सुधारगृहजस्तो दाबी गरिए पनि एकपटक चिडियाखाना ल्याइएको बाघ कहिल्यै जंगलमा फर्काइन्न । त्यसैले त्यस्ता बाघ आजीवन यहीँ रहन्छन् । २०७५ फागुनमा चितवन राष्ट्रिय निकुन्जबाट बाहिर निस्केर मान्छे मार्ने बाघलाई चिडियाखाना ल्याउँदा ऊ भर्खर सात वर्षको थियो । चिडियाखानामा रहेका बाघमध्ये ठुलो, बलियो र हिंस्रक भएकाले उसको नामै महाराज राखिएको थियो । झन्डै १३ वर्षको उमेरमा एक वर्षअघि महाराज त्यही मर्यो । चितवन निकुन्जबाटै २०७१ कात्तिकमा ल्याइएको बाघले झन्डै एक दशक चिडियाखानामा बितायो । यसको एउटा खुुट्टा बाङ्गो थियो । त्यसैले बाघको नामै ‘बाङ्गे’ राखिएको थियो । केही साताअघि २० वर्षको उमेरमा बाङ्गे मर्यो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ वातावरण विज्ञ हरिभद्र आचार्य एकपटक चिडियाखानामा राखिएको बाघ फेरि वनमा लगेर छोड्न लायक नहुने बताउँछन् । ‘एकपटक ल्याएपछि बाघलाई सधैंका लागि चिडियाखानामा राखिन्छ,’ उनले भने । प्रकृतिको स्वतन्त्र वातावरणमा बस्ने, दौडधुप गर्ने र आफ्नो सिकार आफैं खोज्ने बाघ सदाका लागि चिडियाखानाको निश्चित क्षेत्रमा बस्न बाध्य हुन्छन् । प्राकृतिक रूपमा एउटा बाघले ४० वर्गकिलोमिटर क्षेत्र ओगटेर बस्छ । तर चिडियाखानामा त्यो सुविधा छैन । जसका कारण बाघले आफ्नो अनुकूलताअनुसार बाँच्नै बिर्सिसकेको हुने आचार्य बताउँछन् ।
वाइल्ड लाइफ लेखक सापकोटा पनि चिडियाखानाले बाघको संरक्षण, प्रजनन तथा जनचेतना अभिवृद्धिमा केही हदसम्म सहयोग पुर्याए पनि कैदको वातावरणले बाघको प्राकृतिक व्यवहारमा प्रतिकूल प्रभाव पार्ने बताउँछन् । स्वतन्त्र रूपमा दौडने, आहार खोज्ने र आफूखुसी बस्ने अवसरबाट वञ्चित हुँदा शारीरिक मात्र होइन, मानसिक रूपमा पनि बाघ तनावमा पर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘चिडियाखानामा राखिएका वन्यजन्तु प्रायः असजिलो वातावरण, भीडको कोलाहल तथा सीमित स्थानका कारण अस्वाभाविक व्यवहार देखाउँछन् । उनीहरूको स्वास्थ्यमा पनि दीर्घकालीन हानि पुर्याउँछ ।’
बढ्दै बाघको संख्या
२०१० मा आयोजित सन–पिटरबर्ग शिखर सम्मेलनमा बाघ पाइने १३ देशहरूले २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । जुन लक्ष्यलाई ‘टिएक्सटु’ नाम दिइयो । त्यसैअनुरूप जंगल, पानी, सिकार, सुरक्षाको वातावरण राम्रो बनाउने र जनचेतना फैलाउने कार्यक्रम गरिए । सोही प्रतिबद्धतालाई सघाउन नेपालले पानी र आहारको राम्रो सम्भावना भएको बाँके राष्ट्रिय निकुन्ज घोषणा गरेको थियो । ती सबै प्रयत्नको नतिजास्वरूप २०२२ सम्म आइपुग्दा नेपालमा बाघको संख्या दोब्बर होइन्, तेब्बर पुग्यो ।
अहिले नेपालमा बाघको संख्या ३ सय ५५ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०१० मा बाघको संख्या १२१ रहेकामा २०१८ मा २३५ र २०२२ मा बढेर ३ सय ५५ पुगेको हो । यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, बाँके राष्ट्रिय निकुञ्जमा २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ रहेको विभागले जनाएको छ । यही पुस १ देखि हुन लागेको बाघ गणनाले बाघको पछिल्लो संख्या यकिन गर्नेछ ।
बाघको संख्या बढ्दै जाँदा निकुञ्ज वरपरका बस्तीमा भने जनसंख्या पातलिँदै गएको छ । बाघबाट बर्सेनि दर्जनौंको ज्यान जाने गरेको छ । एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या अब बढाउन नहुने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । उनको तर्क थियो, ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन ।’
रिसालु ‘महारानी’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २०८० वैशाखमा ल्याइएको बघिनी हो, ‘महारानी’ । शुक्लाफाँटामा मान्छेमाथि हमला गरेपछि उसलाई चिडियाखाना ल्याइएको हो । महारानी अहिले सात वर्षको भयो । ऊ धेरै हिडिरहन्छ । उमेर सानो भए पनि स्वभाव भने रिसालु भएको बाघका हेरालु कृष्ण महर्जन बताउँछन् । महारानीलाई अर्को बाघ ‘बगौरा’सँगै राखिएको छ । यी दुई बाघको जोडीले केहीअघि डमरु पनि जन्माए । तर रिसको झोकमा महारानीले आफ्नै डमरुलाई आहारा बनाएको सुनाउँछन्, महर्जन । ‘बच्चा पायो । भाले बाघले बच्चालाई हानि पुर्याउँछ भनेर त्यो समयमा बगौरालाई छुट्टै राखेका थियौं । त्यही रिसमा बच्चै खाइदियो महारानीले,’ उनले भने । महारानी बगौराबिना एक्लै बस्न नसक्ने भएको छ । ओडारमाथि घाम थाप्न होस् वा छायामा बस्न, महारानी बगौरासँगै जान्छ । बगौरा साथमा नहुँदा गर्जिन थाल्छ ।
उग्र ‘बगौरा’
बर्दियाको बगौरी फाँटछेउ मानवीय क्षति पुर्याएपछि २०७७ चैतमा काठमाडौं ल्याउँदा ‘बगौरा’ १० वर्षको थियो । अहिले १५ वर्ष पुगेको बगौरालाई स्याहारसुसार गर्न भने सहज नभएको महर्जन बताउँछन् । उनका अनुसार, आहारा दिने समयमा बगौराले उग्र किसिमको व्यवहार देखाउँछ । त्यस्तै, उग्र व्यवहारले नै बगौरालाई चिडियाखाना ल्याउनुपरेको उल्लेख गर्दै उनी भन्छन्, ‘खाना दिँदा झम्टनै खोज्छ । खाउँला झैं गर्छ । यो मान्छे नै खाएको बाघ हो । सुधार्न ल्याइयो भनौं न ।’
महारानीसँगको प्रेममा बगौरा पनि रमाइरहेको देखिन्छ । चिडियाखाना थर्किनेगरी गर्जिरहने उसको बानी छ । गर्जिने र झम्टिने मात्र नभई उसले गर्ने अन्य क्रियाकलापबाट समेत सधैं चनाखो भएर बस्नुपर्ने अवस्था छ । ‘केही समयअघि पर्खालको छेउको रुखमा चढ्यो । नजिक जान सकिन्न टाढाबाट भनेको टेर्दैन । बल्लबल्ल तल झर्यो अनि सबैलाई भित्र आहारा खुवाउने ठाउँमा थुनेर रुख काट्नुपर्यो,’ महर्जनले भने । रुख पर्खालको उचाइसम्मको भएका कारण त्यहाँबाट उक्लिएर मानिसको बीचमा आउन सक्ने र अन्य जनावरबीच पनि आतंक मच्चाउन सक्ने भएकाले रुख काटेको उनी बताउँछन् ।
जिद्दी ‘जगती’
चितवनको जगतपुरबाट २०७५ पुसमा सदर चिडियाखाना ल्याइएकी बघिनी हो, जगती । मान्छेलाई आक्रमण गरेर क्षति पुर्याएका कारण उसलाई चिडियाखाना ल्याइएको हो । १० वर्ष पुगेको ऊ जिद्दी स्वभावकी छ । महर्जनका अनुसार, आहारा दिनेबेलासमेत अटेरी गर्छ । ‘आहारा नआइदिने । दुई बजेदेखि कुर्दाकुर्दा कहिले त बेलुकाको ७ नै बज्छ । साह्रै जिद्दीपना देखाउने,’ उनले जगतीको स्वभाव सुनाए । जगती धेरैजस्तो एकान्त वातावरण रोज्ने गर्छ । राति के गर्दो हो कुन्नि, दिनभर सुतिरहन्छ । चिडियाखाना घुम्न आउने मानिसले मुस्किलले उसलाई देख्छन् । ऊ मानिसको नजरबाट टाढै बस्न रुचाउँछ । त्यसैले खुला ठाउँभन्दा झाडीतिर गएर बसिरहन्छ । जिद्दी भए पनि जगती धेरै गर्जिंदैन । आराम पुगेपछि ऊ केहीबेर हिँड्छ । अनि फेरि बस्छ । जगतीको जोडी ‘प्रताप’ हो । ऊ अहिले गर्भवती रहेको महर्जन बताउँछन् ।
भद्र ‘प्रताप’
पर्साको प्रतापपुरमा मान्छे मारेका कारण २०७७ जेठमा जाउलाखेल ल्याइएको बाघको नाम प्रताप राखिएको छ । १२ वर्षको प्रताप न बगौरा जसरी उग्र व्यवहार देखाउँछ न जगतीजस्तो जिद्दी नै छ । ऊ कि त जगतीसँग समय व्यतीत गरिरहेको देखिन्छ, कि आफैंमा मस्त रहन्छ । हेरालु महर्जनका अनुसार प्रताप घुमिरहन्छ । गर्जिरहने बानी पनि उसको छैन । हेरालुले बोलाउँदा आहारा खान आइहाल्छ । त्यहाँ भएका बाघमध्ये प्रताप सबैभन्दा भद्र रहेको महर्जन बताउँछन् । भन्छन्, ‘यसले अरूजस्तो सताउँदैन । मासु खान पनि टाइममै आउँछ । जगती अगाडि आए ऊ पछि आउँछ, त्यत्ति हो । नत्र जाति छ प्रताप ।’
यो पनि पढ्नुहोस्–