
अर्घाखाँची : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा.बेदुराम भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी देशको प्रमुख राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
मंसिर २४ गते अर्घाखाँचीको सन्धिखर्कमा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको एकता सन्देश सभामा बोल्दै भुसालले पार्टी एकताको पक्षधर आफूहरू पहिलेदेखि भएपनि अहिले आएर मात्र एकता सम्भव भएको बताए ।
उनका अनुसार देशमा देखिएका विभिन्न समस्याहरू समाधान गर्न नेकपा प्रतिबद्ध छ । उनले अर्घाखाँचीका स्थानीय, नेता तथा कार्यकर्तालाई साथ दिन आग्रह गर्दै भने, ‘निर्वाचन फागुन २१ मा होस् वा अन्य दिन, अब नेपाली कम्युनिष्ट पार्टी तपाईंहरूलाई नेतृत्व दिने प्रमुख शक्ति बन्नेछ । तपाईंहरूले होस्टेमा हैसे गर्नुस्, हामीलाई जिताउने जिम्मेवारी तपाईंको हातमा छ ।’
भुसालले नेपाल संभावनाले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै कृषि, वनस्पति, सिंचाइ परियोजना, नदी तथा रोजगारीको अवसरलाई सदुपयोग गर्ने पार्टीको प्रतिबद्धता दोहो¥याए । युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने आश्वासन पनि उनले दिए ।
भुसालले विगतमा नेकपालाई जनताले दिएको जनसमर्थन जोगाउन नसकेको आरोप केपी शर्मा ओलीमाथि समेत लगाए ।
कार्यक्रममा नेकपाका नेता चन्द्रप्रकाश खनालले नेपालमा दुईतिहाई जनमत वामपन्थी शक्तिहरूकै भएको दाबी गर्दै विखण्डनकै कारण समाजवादी क्रान्ति अधूरो रहेको बताए । १६ वाम घटकको एकतालाई कार्यान्वयनमा लैजानै विकल्प नभएको उल्लेख गर्दै उनले नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व नै कम्युनिस्ट आन्दोलन र स्वाधीनताको रक्षा गर्न सक्षम रहेको दाबी गरे ।
खनालले एमालेलाई दक्षिणपन्थी धार, माओवादीबाट निस्किएका तथा मोहनविक्रम पक्षलाई संकुचित धारका रूपमा उल्लेख गर्दै ती घटक पनि एकतामा सहभागी हुने वातावरण बन्दै गएको बताए ।
कार्यक्रममा सुदर्शन बराल, चन्द्रबहादुर खड्का, सुषिला सिर्पाली, पिताम्बर भुसाल, पिताम्बर सारु, राजेन्द्र भुसाल, सुशील भट्टराई, नारायण शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रम पार्टीका केन्द्रीय सदस्य ठाकुरकुमार विकको अध्यक्षता, केन्द्रीय सदस्य छमकुमारी खनालको स्वागत मन्तव्य र केन्द्रीय सदस्य रामबहादुर चौहानको सञ्चालनमा सम्पन्न भएको थियो ।