
काठमाडौं : नेकपा एमालेले पछिल्लो समय खेप्दै आएको आरोप हो– जातीय पहिचानमा रुचि देखाएन, समावेशिताप्रति कठोर बन्दै गयो । अझ २३ र २४ भदौको जेनजी आन्दोलनपछाडि भने एमालेलाई युवा विरोधी दलका रूपमा समेत कतिपयले चित्रित गरे । यस्ता यादव प्रश्नको जवाफ एमालेले ११औं महाधिवेशनको उद्घाटनबाट एकैसाथ दिने प्रयास गरेको छ ।
पहिलो उदाहरण हो– चुस्त व्यवस्थापन । खुलाचौरभित्र भएको कार्यक्रम व्यवस्थित थियो । प्रवेश गर्न र निस्कन मिल्नेगरी कुर्सी व्यवस्थापन गरिएको थियो । २० हजार कुर्सी राखिएका थिए भने बाँकी सहभागीले उभिएरै सहभागिता जनाए ।
दोस्रो पक्ष हो– मञ्च व्यवस्थापन । जो सांस्कृतिक रूपमा महत्वपूर्ण र हेर्दा पनि आकर्षक थियो ।
मञ्चमा प्रसिद्ध चाँगुनारायण मन्दिर र अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको थियमे । ११औं महाधिवेशन झल्किनेगरी अंग्रेजीको ‘वान’ र धरहराको कटआउटसमेत राखिएको थियो । एमाले अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई गौरवको विषयका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
भक्तपुर आफैंमा सांस्कृतिक सहरका रूपमा परिचित छ । जसको महत्व दर्साउनेगरी नै एमालेले महाधिवेशनस्थल छनोट गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मञ्चबाटै जानकारी गराए ।
तेस्रो पक्ष हो– सडक अवरोध भएको भनेर आलोचना नहुनु ।
विगतमा राजनीतिक दलहरूका गतिविधि उपत्यकामा हुँदा सडकमा सवारी आवागमन प्रभावित भएको, ट्राफिक जाम भएका विषयप्रति सामाजिक सञ्जालमा आलोचना हुन्थ्यो । तर भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा एमालेको ११औं महाधिवेशन उद्घाटन चलिरहँदा सडकमा सवारी चलिरहेकै थिए ।
एमालेले सन्देश दिनेगरी व्यवस्थापन गरेको चौथो पक्ष हो– अधिकतम झाँकी तथा नृत्य प्रर्दशन ।
काठमाडौं उपत्यकाको सांस्कृतिक पक्षलाई मञ्चबाटै प्रदर्शन गरेको एमाले महाधिवेशनमा विधि जातजातिका वेशभूषा तथा बाजागाजासहितका झाँकी तथा नृत्य प्रर्दशन भए ।
उद्घाटनस्थलमा समेत बिहानैदेखि आकर्षक झाँकी तथा नृत्यहरूले स्वागत गरिएको थियो ।
महाधिवेशनमा प्राथमिक उपचार सेवा (हेल्थ डेस्क)को व्यवस्था गरिएको थियो । नेता कार्यकर्ता तथा महाधिवेशनमा सहभागी हुन आएका प्रसेर जाँच गराइरहेका थिए । पानीको व्यवस्थासमेत गरिएको थियो । महाधिवेशनमा ढाका टोपी, नेपाली झन्डको राम्रै व्यापार भइरहेको थियो । जसले महाधिवेशनको माहोललाई रोचक बनाइरहेको आभास हुन्थ्यो ।
महाधिवेशनमा शुभकामना दिन विभिन्न १६ दललाई आमन्त्रण गरिएको थियो । एमालेको महाधिवेशनमा विदेशी पाहुनालाई नबोलाए पनि विदेशी पाहुनाहरूले सफलताको शुभकामना सन्देश पठाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार बीचमा सम्बोधन गरे । तीनवटा साना दलका प्रतिनिधिलाई बोल्न दिएपछि ओलीले सम्बोधन गरे ।
सधैं आक्रामक शैलीमा प्रस्तुत हुने ओली महाधिवेशनमा शालिन सुनिए । जेनजी आन्दोलनका मृत्यु भएकालाई श्रद्धाञ्जली दिए । विपक्षीप्रति पनि त्यति आक्रामक भएनन् ।
महाधिवेशनको समग्र व्यवस्थापन स्वयं एमालेका नेता/कार्यकर्ताले पनि रुचाएको पाइन्थ्यो । महाधिवेशनमा सहभागी सिन्धुलीका प्रवीन खड्का भन्दै थिए, ‘पुराना पार्टीप्रतिको आकर्षण कायमै छ ।’ उनी महाधिवेशन हेर्नकै लागि सिन्धुलीबाट काठमाडौं आएका हुन् । महाधिवेशनमा सहभागी हुन पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थक आएका थिए । सवारीसाधनमा झन्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौंमा प्रवेश गरेका थिए ।
शनिवबार सुरु भएको एमालेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । उद्घाटन भक्तपुरको सल्लाघारीमा भए तापनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।