
काठमाडौं : शनिबार सुरु भएको नेकपा एमालेको ११औं महाधिवेशन भक्तपुरस्थित सल्लाघारीको खुला चौरमा भव्य उद्घाटन भयो । महाधिवेशन उद्घाटन समारोहमा सहभागी एमालेसहित पुराना राजनीतिक दलका नेताहरूले गत भदौ २३ को शान्तिपूर्ण आन्दोलनलाई स्वीकार गरे पनि हिंसात्मक गतिविधिलाई अस्वीकृत गरेको सन्देश दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झन्डोत्तोलनपछि सम्बोधन गर्दै भदौ २३ र २४ पछि आफूलाई लागेको आरोपको कूटनीतिक तरिकाले जवाफ दिएर जेनजी समुदायको मन जित्ने प्रयास गरे ।
प्रायः मैखिक भाषणमार्फत विपक्षी दल र विरोधी शक्तिमाथि जाइलाग्ने ओलीको शनिबारको लिखित वक्तव्य सरकारबाहेक सबै राजनीतिक दल र जेनजी पुुस्ताप्रति नरम थियो । ओलीले युवाको चाहनालाई स्वाभाविक लिएर जेनजीप्रति सद्भाव राख्दै भने, ‘असहमति राख्नुस्, आवाज उठाउनुस् । तर त्यो दलको विकल्पमा होइन । जायज विषय, जायज आवाज सम्मान योग्य हुन्छ ।’ उनले राजनीतिक उद्देश्य सत्ता परिवर्तन मात्रै नभई सुरक्षा, सुशासन र समृद्धि भएको स्पष्ट पारे । ‘राजनीति सत्ता बदल्ने खेल होइन, नागरिकको ज्यानको सुरक्षा र राष्ट्रिय स्वाधीनताको विषय हो ।’
सरकारको गैरसंवैधानिक नियुक्ति र संसद् विघटनप्रति खरो रूपमा उत्रिएका अध्यक्ष ओलीले सरकारले केही दिनअघि मात्रै जेजनजी अगुुवासँग गरेको सहमतिको दस्तावेजलाई नाटक र देशविरुद्धको षड्यन्त्रको संज्ञा दिए । लिखित भाषणमा केन्द्रित ओलीले पार्टीभित्रका प्रतिस्पर्धीलाई पनि खासै बिझाएनन् । उनीसँग अध्यक्षमा प्रयासी बन्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति उनले वैरभाव नदेखाए पनि पोखरेललाई उद्घाटन कार्यक्रममा कुनै जिम्मेवारी भने दिइएन । कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउनुुपर्ने महासचिव शंकर पोखरेललाई स्वागत गर्न दिँदा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी खोसिएको कार्यक्रममा सहभागी ईश्वर पक्षका नेता कार्यकर्ताहरू समूह समूहमा छलफल गर्दै थिए । उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यक्रम सञ्चालनको जिम्मा दिँदा कतिपय नेताहरूले भावी महासचिवका रूपमा स्वागत गरिएको हो कि भन्ने तर्क वितर्क गरिरहेका छन् । यद्यपि ओलीले पार्टी पंक्तिलाई एकताको सूत्रमा बाँध्न प्रयास गरेको सन्देश प्रवाह गरेका छन् ।
उनले भने, ‘हामी ११औं महाधिवेशनमा छौं । ११ मा दुईवटा एक हुन्छन् तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् । एक एमालेले अर्को एमालेसँग हात मिलायो, मन जोड्यो भने हामी ११ बन्छौं । तर रिस, घात–प्रतिघातमा गयौं भने हामी एकमै सीमित हुन्छौं ।’ उनको यो अभिव्यक्तिले आफ्नै नेतृत्वमा सर्वसहमतिका साथ एमालेलाई लैजानुुपर्ने दबाब दिएको सन्देश प्रवाह भएको एमालेलाई नजिकबाट नियाल्दै आएका वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताए । उनले भने, ‘अध्यक्ष ओलीको महाधिवेशन उद्घाटनको अभिव्यक्तिले आफ्नै नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्ने सन्देश दिएको छ ।’ तर उनको यो सन्देशले आन्तरिक प्रतिस्पर्धीलाई रोक्न सक्ने अवस्था नदेखिएको एमालेकै नेताहरूले बताएका छन् ।
सम्बोधनका क्रममा जेनजी आन्दोलनलाई सम्झिँदै उनले अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर अन्तै पुु¥याएको दाबी गरे । उनले भने, ‘युवा पुस्ताको चाहना र आवश्यकतालाई स्वाभाविक मानिए पनि त्यसलाई हाइज्याक गरेर गरिएको विध्वंस र त्यसपछि बनेको सरकार असंवैधानिक थियो । सरकारले जेनजी जेनजीसँग गरेको सम्झौता नाटक हो, देशविरुद्धको षड्यन्त्र हो । यस्ता नाटक मञ्चन गरेर निर्वाचन हुँदैन । सरकार जालो बनेको छ ।’ तत्कालको राजनीतिक निकास भनेको विघटित प्रतिनिधि सभाको पुनस्र्थापना नै भएको ओलीको दाबी छ । ‘संविधानलाई लिकमा फर्काउनुको विकल्प छैन । संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, हल्ला— यिनै चलिरहेका छन् । नेतामाथि मुद्दा, राहदानी र स्थान हद लगाएर कसरी चुनावको वातावरण बन्छ ?’ ओलीले सरकारप्रति प्रश्न गरे ।
जेनजी आन्दोलनपछिको तीन महिनामा पूर्ववत् अवस्थामा फर्कने कोसिसमा रहेको एमालेको महाधिवेशनमा उसका सहयात्री राजनीतिक दलका नेताहरूले समेत पुराना दलको शाख बचाउ एक ढिक्का भएको सन्देश दिएका छन् । एमालेका नेताहरूसँगै अतिथिका रूपमा निम्त्याइका नेपाली कांग्रेस, नेपाली कम्युुनिस्ट पार्टीसमेत जेनजीका मागलाई सकारात्मक लिए पनि सरकार गठन र अन्तरिम सरकारको कार्यशैलिप्रति असन्तुष्टि पोखेका छन् । महाधिवेशनको शुुभकामना दिन पुुगेका नेपाली कांग्रेसमा कार्यवाहक सभापति पूर्ण खड्काले नेताहरूप्रति सरकारले लगाएको स्थान हदकोको आलोचना गरे । यद्यपि उनले दल सच्चिएर र सुधार भएर अघि बढ्नुुपर्ने दाबी गरे । नेता खड्काले जेनजी आन्दोलनलाई स्वार्थी समूहले प्रयोग गरेर ठुलो राष्ट्रिय सम्पति ध्वस्त पारेकाले अब एमालेसहितका दलहरूले यसप्रति सचेत हुँदै अबका योजना बनाउनुपर्ने सुझाव दिए ।
खड्काले २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोगले बिनाआग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताउँदै अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराएका छन् । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भई निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्छ,’ कार्यवाहक सभापति खड्काले भने ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थान हदले धेरै प्रश्न उब्जाएको बताए । ‘नेताहरूका स्थानहदका निर्णयलगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरुरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ ।’ नागरिकको जिउधनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने कार्य भएको भन्दै नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी उनीहरूको सर्वस्व खतम पारिएको उनको दाबी छ । लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दल एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास नेता खड्काले स्मरण गराए । खड्काको अभिव्यक्तिले वर्तमान व्यवस्था र देशको संकटपूर्ण राजनीतिक अवस्थालाई सम्हाल्न राजनीतिक दलहरूको विकल्प नभएको स्पष्ट सन्देश दिएको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेमाथि भएको हमला राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै परिणाम भएको भन्दै प्रसंशा गरे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुुरुङले मुलुकको समस्या समाधानका लागि सबै दलहरू मिलेर जानुपर्ने बताए । मधेश केन्द्रित दलहरूले समेत सबै राजनीतिक दलहरू मुलुकको राजनीतिक संकट टार्न एकाताको विकल्प नभएको बताएका छन् ।