२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ज्ञवाली र शाक्य महाधिवेशनमा उम्मेदवार नबन्ने, प्रतिस्पर्धात्मक राजनीतिबाट बिदा 

shivam cement
भावना पाठक
२०८२ मंसिर २८ गते १३:१२
Shares
ज्ञवाली र शाक्य महाधिवेशनमा उम्मेदवार नबन्ने, प्रतिस्पर्धात्मक राजनीतिबाट बिदा 

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन् । उनले आफू ७० वर्ष पुगिसकेकाले चुनाव नलड्ने घोषणा गरेका हुन् । 

भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरे । एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ । चुनाव नलड्ने घोषणा गरे पनि पार्टीमा सक्रिय रहने उनले बताए । 

२०२६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ज्ञवाली जिल्ला र क्षेत्रीय कमिटी हुँदै केन्द्रको राजनीतिमा स्थापित भएका थिए । २०४६ सालमा पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी २०४८ सालमा दाङ क्षेत्र नं ४ बाट संसदीय निर्वाचनमा उम्मेदवार बने । ०४९ सालमा पुन केन्द्रीय कमिटीमा निर्वाचित ज्ञवाली २०५४ सालमा नेकपा(एमाले)मध्यपश्चिमाञ्चल क्षेत्रीय समन्वय कमिटीको संयोजक बनेका थिए । 

२०५४ सालमै नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । २०५४ सालमै पुन केन्द्रीय कमिटी सदस्य र २०५५ सालमा स्थायी कमिटी सदस्य बनेर निरन्तर केन्द्रको राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाए । २०५८ सालमा केन्द्रीय सचिवालय सचिव र पुन:केन्द्रीय  कमिटी सदस्य भए । 

२०६४ सालमै दाङ क्षेत्र नं ४ बाट संविधान सभाको उम्मेदवार र केन्द्रीय पार्टी स्कुल विभागको प्रमुख बने । २०६५ सालमा नेकपा एमाले केन्द्रीय सचिवालयको सचिव बनेका उनी २०६६ सालमा नेकपा एमाले केन्द्रीय संगठन विभाग प्रमुख एवम् मध्यपश्चिमाञ्चल संयोजक बनेर काम गरेका थिए । २०७० सालमा ज्ञवाली समानुपातिक तर्फबाट संविधान सभा सदस्य भए । ज्ञवाली ८औँ महाधिवेशनमा सचिव र ९औँ र दशौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए।

२०६० सालमा स्थानीय विकासमन्त्री बनेका ज्ञवालीले विभिन्न पुस्तकहरू लेखेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य, कम्युनिस्टले ध्यान दिनु पर्ने तीन कुरा (पुस्तिका), अन्तरपार्टी संघर्षबारे, माओबादी उग्रवामपन्थ, विश्व कम्यूनिष्ट आन्दोलनको इतिहाजस्ता पुस्तकमार्फत उनले आफ्नो राजनीतिक सक्रियता सशक्त रूपमा प्रस्तुत गरे ।  

त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । 

२०३६ सालमा शाक्य पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् ।  देशमा बहुदल स्थापना भएपछि जेल मुक्त भएकी थिइन् । पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । उनी २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । दुईपटक मन्त्री भइसकेकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन् ।

पार्टीको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ र दशौँ महाधिवेशनबाट एमालेको उपाध्यक्ष बनेकी थिइन् । शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् । उनी २०७८ सालमा बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । 

नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेका बेला ज्ञवाली र शाक्यको यस्तो कदम सकारात्मक मान्न सकिने विश्लेषकहरू बताउँछन् । विधान संशोधनको विषयमा असन्तुष्टि पोख्दै आएका उनीहरूले उमेरहदमा आफ्नो समर्थन देखाउन चुनाव नलड्ने घोषणा गरेको कतिपयको ठम्याई छ । 

सम्बन्धित खबर