
काठमाडौं : नेकपा एमालेमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई उनको ११ वर्षे नेतृत्वकालका सारथी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिँदा ओली समूहले संकटमा नेतृत्वको रक्षा र पोखरेल समूहले पार्टी जोगाउन नेतृत्व परिवर्तनको नारा अघि सारेका छन् ।
महाधिवेशनको अन्तिम चरणमा ओलीले आफ्नो समूहको सूची बनाउँदै गर्दा सबै आकांक्षीलाई अटाउन सकेनन् । सोमबार दिनभरजसो समूहगत उम्मेदवार व्यवस्थापनमा नेतालाई निकै सकस परेको थियो । यद्यपि दुवै समूहले समूहगत प्रतिस्पर्धा तीव्र बनाएका छन् । केन्द्रीय निर्वाचन आयोगले आज मध्यान्ह १२ बजेबाट मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । देशभरका २ हजार २ सय ६२ प्रतिनिधिले पार्टी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदाताहरूलाई आफ्नो पक्षमा पार्न ओली र ईश्वर समूहका नेता भिडेर लागेका छन् ।
धेरै नेताको दाबीले ओलीलाई टिम व्यवस्थापनमा निकै सकस परेको छ । त्यो अप्ठेरो फुकाउन उनले विधान महाधिवेशनले तय गरेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेत घटाउने व्यवस्था आइतबारको अन्तिम बैठकबाट उल्ट्याए । तैपनि, आफूलाई विगतमा साथ दिएका नेताहरूलाई पद बाँड्न सकेनन् । जसका कारण कतिपय नेताहरु पोखरेलतर्फ लागेका छन् । यसले ओलीको शक्ति क्षण भएको र ईश्वरको पक्षमा माहोल बन्दै गएको पोखरेल समूहका सचिवका उम्मेदवार कर्णबहादुर थापाको दाबी छ । ‘एउटै नेतालाई तीनपटकसम्म नेतृत्व दिइरहने कुरा नै गलत थियो । हामीले नेतृत्व हस्तान्तरणको विषयलाई उठाउँदा थोरै नेताहरू मात्रै थियौं’, उनले मध्यान्हसँग भने, ‘महाधिवेशनको फिल्डमा आइपुग्दा ओलीका पक्षमा देखिनु भएका र कतै नखुल्नुभएका अधिकांश सिनियर नेताहरूको साथ ईश्वर पोखरेललाई मिलेको छ । यसले सकारात्मक परिणाम आउनेछ ।’
थापाले भनेझंै आइतबारसम्म ओलीको पक्षमा खुलेर लागेका नेताहरू ओलीको साथ छाडेका छन् । यसबाट ओलीमाथि दबाब बढाएको छ । ओलीले महाधिवेशन उद्घाटन कार्यक्रम सञ्चालकको भूमिका दिएसँगै महाधिवेशन प्रतिनिधिहरूले महासचिवको उम्मेदवार आँकलन गरेका उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको समूहबाट तय भएको उपाध्यक्षमा उम्मेदवारी दिएनन् । उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी मनोनयन गरे । महासचिवमा दाबी गर्दै आएका ज्ञवालीलाई रोकेर ओलीले साबिककै महासचिव शंकर पोखरेललाई अगाडि सारेपछि उनी मन दुखाउँदै बाहिरिए । टिमको सूची बनाउने अन्तिम छलफलमा समेत ज्ञवालीले आफू महासचिवबाहेकको पदमा उम्मेदवारी नदिने अडान लिएका थिए । तर उपाध्यक्षको सूचीमा राखिएपछि ओलीको सो निर्णय उनले अस्वीकार गरेका हुन् । उनले भने, ‘म एमालेको पदाधिकारी थिएँ । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो । तर एउटै व्यक्तिलाई दोहो¥याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ । मैले केन्द्रीय सदस्य मात्रै उम्मेदवारी दिएको छु ।’
अध्यक्ष ओलीले तेस्रोपटक नेतृत्वमा आउन वैधानिक मापदण्ड हटाएका थिए । त्यहीबाट आन्तरिक असन्तुष्टि चुलिएको एमालेमा नेतृत्व हस्तान्तर र पुस्तान्तरणको मुद्दा बोकेर पोखरेलले ओलीमाथि काउन्टर दिने टिम तयार भएको नेताहरूले दाबी गरे । यो महाधिवेशनमा कुनै प्रतिस्पर्धामा नउत्रिने घोषणा गरेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्वमाथि निकै टिप्पणी भइरहेको बताइन् । उनले मध्यान्हसँग भनिन, ‘पार्टीमा नेतृत्व हस्तान्तर र पुस्तान्तरणको विषयमा व्यापक छलफल भएकै थियो । तर ओली कमरेडले तीनपटक नेतृत्वमा जाने सोच बनाउनु नै गलत भयो । हामीले पार्टीलाई विधि विधान र पुस्तान्तरणको एजेन्डा स्थापित गराउन ईश्वर पोखरेलको समूह बनाएर महाधिवेशनमा जान बाध्य भयौं ।’
ओली प्यानलमा सदस्यमा परेका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन् । यसअघि उनी प्रशिक्षण विभाग प्रमुख थिए । १०औं महाधिवेशनमै पदाधिकारीको आकांक्षी पण्डित ओलीको टिमबाट उपाध्यक्ष बन्न खोजेका थिए । त्यसो नहुँदा पदाधिकारी पाउनेमा पक्का थिए । तर उनीभन्दा जुनियरलाई अघि बढाएर ओलीले पदाधिकारीको सूचीमा नपारेपछि रिसाउँदै फर्किएका थिए । उनले कुन प्यानलबाट उम्मेदवारीभन्दा पनि सचिवमा उम्मेदवारी दिएको बताए । ‘अहिले टिमको कुरा कुरा नगरौं । मैले सचिव पदमा उम्मेदवारी दिएको छु । आमप्रतिनिधिहरूले न्याय गर्नुहुन्छ भन्नेमा ढुक्क छु’, पण्डितले भने ।
आफैंलाई सर्वस्वीकार्य पात्रका रूपमा अघि बढाउने ओलीको प्रयत्नमाथि अन्तिम घडीमा आएर उनीनिकटका नेताहरूले असहयोग गर्ने स्थिति बनेको छ । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि विगतमा साथ दिएका नेताले अध्यक्ष ओलीको साथ छाडेको बताए । तत्कालीन ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका छन् । बास्कोटा अलि अघिदेखि ओली समूहबाट टाढै थिए । त्यस्तै, प्रदीप ज्ञवाली, लालबाबु पण्डितसहितको नेताहरू पनि ओलीसँग असन्तुष्ट छन् । तथापि, महाधिवेशनको प्रतिनिधि संख्या हेर्दा ओलीका पक्षमा बहुमत देखिन्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगत केही समयदेखि ओलीको काउन्टरमा राजनीतिक अभियानले चलाउँदै आएकी थिइन् । ओलीले पार्टीको संगठित सदस्यता खारेज गरिदिएपछि ओलीप्रति आक्रामक बनेकी विद्याकै बलमा पोखरेलले बनाएको टिममा नेताहरू थपिँदै गर्दा ओलीका पक्षमा नेता घटेको बताइएको छ । ओलीको टिममा पूर्वउपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङपुत्र सुहाङ पनि परेनन् । गत उपनिर्वाचनमा सुहाङले इलामबाट सांसद जितेका थिए । युवाको समूहबाट उनी केन्द्रीय सदस्य बन्न चाहेका छन् । कुनै सूचीमा नपरे पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको सुहाङ नेम्वाङले बताए । ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । ‘अब म स्वतन्त्र उम्मेदवारको रूपमा उपमहासचिव लड्छु,’ उनले भने । लामो समय अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेलको सूचीमा सचिव छन् । यस्तै, ओली टिमको सदस्य पद छोडेर अग्नि खरेलले पनि सचिवमा उमेद्वारी दिएका छन् ।
ओलीको टिम हाँक्ने नयाँ अनुहार
अध्यक्ष केपी शर्मा ओलीले आगामी टिम हाँक्ने नयाँ अनुहारलाई भित्र्याएका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका पुरानै अनुहारले स्थान पाए पनि सचिवमा नयाँ नेता स्थापित गर्ने ओलीको योजना छ । नौ सचिवमध्ये ६ जना नयाँ अनुहार समेटिएको छ । ओली समूहबाट सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । यी पदाधिकारीमा नयाँ अनुहार हुन् । १०औं महाधिवेशनपछि महेशबाहेकका नेताहरु स्थायी कमिटी सदस्य थिए । बस्नेत भने यसअघि पोलिटब्युरो सदस्य थिए ।
तारो बनाइएका शंकर
ओली प्यानलका महासचिव उम्मेदवार शंकर पोखरेल ११औँ महाधिवेशनमा गुटभित्र र बाहिरबाट तारो बनाइएका छन् । उनलाई दोहोरिनबाट रोक्न समूहभित्रैबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवद्वय प्रदिप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले कोशिस गरेका थिए । केही समय ओली उनलाई पदोन्नती बनाएर उपाध्यक्ष बनाउने मनस्थितिमा पनि पुगेका हुन् । तर, उपाध्यक्षमध्ये पहिलो वरियतामा को हुनेभन्नेमा समस्या देखियो । पोखरेल स्वयम्ले पनि महासचिवमै दोहोरिन चाहेपछि ओलीले सूची घोषणा गरे । ओली गुटमा महासचिव को हुनेभन्ने विवादले सुरेन्द्र पाण्डेलाई चुनाव जित्न सहयोग पुग्ने विश्लेषणसहित ईश्वर पोखरेल समूह उत्साहित देखिन्छ ।
महासचिवको दौडमा रहेका ज्ञवाली पदाधिकारी टिमबाट बाहिरिए भने भित्रभित्रै असन्तुष्टि बढेको छ । त्यसको सोझो असर पोखरेललाई पर्ने सम्भावना छ । ‘शंकर कमरेडलाई सबैले तारो बनाएका छन् । यो भोलिको नेतृत्व को हुनेभन्ने कोणबाट पनि होला । तर, संस्थापनको मत दायाँबायाँ हुन्न भन्ने विश्वास छ’ पोखरेलको सचिवालयका एक सदयले भने । एमालेभित्र ओलीलाई छाता मानेर शंकर र विष्णु पौडेलका दुई गुट सक्रिय छन् । उनीहरूमध्ये को पहिलो नेता बन्ने अस्वाभाविक प्रतिस्पर्धाले ओली समूहलाई धक्का लाग्न सक्छ । तर, त्यसको प्रभाव देशभर नभएकाले संस्थापनइतरले चाहेजस्तो नतिजा नआउने दाबी ओली पक्षको छ । नेता विष्णु रिमाललाई उपमहासचिव दोहो¥याइएकोमा पनि असन्तुष्टि छ । भानुभक्त ढकाललाई उपमहासचिवमा राखिएको थियो । लेखराज भट्टले सचिवमा नदोहोरिने अड्डी लिएपछि ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाइएको थियो ।