
रौतहट : मधेश प्रदेश सरकारमा मन्त्रालय भागबण्डालाई लिएर जनमत पार्टीभित्र असन्तुष्टि चर्किएको छ । पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री इन्जिनियर बसन्त कुशवाहाले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै कुशवाहाले जनमत पार्टीको उद्देश्य, एजेन्डा र जनताप्रतिको प्रतिबद्धता अनुसार सरकारमा निर्णायक भूमिका सुनिश्चित नभए तत्काल सरकार छोड्न तयार रहनुपर्ने बताएका छन् ।
उनको मुख्य आपत्ति उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अर्को दललाई दिइएकोमा छ । यसअघि जनमत पार्टीले सम्हालेको यो मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटमा हजारौं युवालाई रोजगारी दिने ऐतिहासिक कार्यक्रम समावेश गरिएको थियो ।
कुशवाहाले लेखेका छन्, “भागबण्डाको नाममा त्यो मन्त्रालय अरूलाई सुम्पिनु भनेको युवाको रोजगारीका सपनामाथि कुठाराघात गर्नु हो । युवाको भविष्यसँग खेलवाड गर्नु हो ।”
मन्त्रिपरिषद् विस्तारको क्रममा यो मन्त्रालय नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई दिइएपछि जनमतभित्र असन्तुष्टि बढेको हो ।
कुशवाहाले भनेका छन्, “यदि जनमत पार्टीको सिद्धान्त र जनताको भविष्य अनुसार भूमिका सुनिश्चित हुँदैन भने मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय लिन तयार हुनुपर्छ । सत्ता होइन, सिद्धान्त र जनताको भविष्य पहिलो प्राथमिकता हो ।”
जनमत पार्टी मधेश प्रदेशमा निर्णायक शक्तिका रूपमा स्थापित छ । पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्रीको जिम्मेवारीमा छन् ।
वरिष्ठ उपाध्यक्षको यस्तो सार्वजनिक अभिव्यक्तिले जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढाएको छ । यस्तो भएमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सातदलीय गठबन्धन सरकारको स्थिरतामाथि नै प्रश्नचिह्न खडा हुने देखिन्छ ।
मधेश प्रदेशको राजनीतिमा रोजगार सृजनालगायतका महत्वपूर्ण एजेन्डालाई भागबण्डाको नाममा बेवास्ता गरिएको यो विवादले नयाँ मोड लिने संकेत गरेको छ ।