
काठमाडौं : आन्तरिक महाधिवेशन र अन्तरपार्टी चुनावी प्रतिष्पर्धाको तयारी जुटेको नेपाली कांग्रेस दोहोरो दबाबमा छ । छोटो समयमा १५ औं महाधिवेशन सकेर आम चुनावमा होमिनुपर्ने दबाबमा रहेको कांग्रेस केन्द्रीय समितिले तल्लो तहका समितिलाई आवश्यक तयारीका सम्बन्धमा परिपत्र गरिसकेको छ ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरण र चुनावका लागि इच्छुक उम्मेदवारको नामा सिफरिससहितको जिम्मेवारी पार्टीले जिल्ला तहलाई दिएको छ । तर, केन्द्रको निर्देशनलाई जिल्ला तहले अबज्ञा गरेका छन् ।
मंसिर १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर मसान्तसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । मंसिर १५ मै मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक महिला असनवार्यसहित तीन जनाको नाम सिफारिस गर्न निर्देशनसहितको परिपत्र गरेका थिए ।
परिपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने ।’ त्यो सिफारिस गर्दा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको हुनुपर्ने पनि उल्लेख गरेका थिए ।
तर उक्त परिपत्रमा उम्मेदवार छनोटको विषय भएको अस्पष्ट भएको भन्दै जिल्ला कार्यसमितिहरुले स्पष्तट हुन चाहेपछि केन्द्रीय कार्यालयले १८ गते अर्को परिपत्र पनि जारी गर्यो । परिपत्रमा राष्ट्रियसभा र प्रदेशसभामा बहाल रहेका सांसदहरूको नाम सिफारिस नगर्न उल्लेख गरियो । बहाल रहेका जनप्रतिनिधि बाहेकका आकाँक्षीहरुलाई मात्रै त्यस पनि १ महिलासहित ३ जना नबढाई पठाउनु भन्ने निर्देशन छ । यद्यपि दुईवटै परिपत्रलाई मातहतका समितिले उल्लंघन गरेका छन् । प्रतिनिधिसभामा एक महिलासहित ३ जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन दिए पनि प्रत्यक्षतर्फ २० जनाको सम्म नाम राखेर पठाइएको छ । त्यो पनि तोकिएको समयमा गरिएको छैन् । केन्द्रले दिएको समयसिमा अनुसार मंसिर महिनाभरी सबै जिल्ला तथा प्रदेशबाट उम्मेदवराका प्रतिष्पर्धिहरुको सूची पठाइसक्नु पर्ने थियो । समय सिमालाई समेत उलंघन गरेको पाईएको छ ।
दुई पटकको सर्कुलर नमानेपछि कांग्रेस केन्द्रीय कार्यालयले फेरी मंसिर २५ गते अर्को परिपत्र जारी ग¥यो । परिपत्रमा मंसिर १५ र १८ गतेको परिपत्रमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नु भनि पूनः ध्यानाकर्षण गराएपनि जिल्ला तहमा मिलाउन नसकेर आएका जति सबैको नाम पठाएको जिल्ला सभापतिहरुले बताएका छन् । ‘केन्द्रको परिपत्रलाई उल्लंघट गरेको भन्दा पनि धेरै नेतासाथिहरुको दबाबलाई झेल्न नसकेर आकाँक्षिजती सबैको नाम केन्द्रमा पठाएका हौं’, ओखलढुंगाका सभापति तेजेन्द्र खनालले भने,‘ केन्द्रले निर्णय गरेर एक जनालाई टिकट दिइपठाउँछ । त्यसमा सबैले सहयोग गर्नुपर्छ ।’
बुधबार काठमाडौँ–७ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरेको उम्मेदवारमा सिफारिस भएका नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापाले जानकारी दिए । प्रदेशसभा सदस्यलाई सिफारिस नगर्न भने पनि नुवाकोट–२ बाट बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामा, रुपन्देही–१ बाट अब्दुल रज्जाक, सर्लाही–४ बाट विरेन्द्रकुमार सिंह, पर्साबाट जनार्दनसिंह क्षेत्रीसहितलाई सिफारिस गरेका छन् । त्यस्तै ओखलढुंगाबाट ६ जानको नाम सिफारिस गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीहरुले मापदण्डविपरीतका सिफारिस बुझेर राखेर पनि दर्ता नगरेको बताएका छन । ‘तीन पटक परिपत्र गरेपनि मापदण्ड विपरित सिफारिस आएका छन् । त्यस्ता सिफरिसलाई हामीले दर्ता नगरी राखेका छौं’, एक र्मचारीले मध्यान्हलाई बताए ।
तर, मातहतका समितिले त्यो निर्देशनलाई उल्लंघन गरेपछि अब पठाइएका सिफारिस कार्यान्वयन हुन्छन् कि हुन्नन् भन्ने प्रश्न उब्जिएको छ ।
उम्मेदवार सिफरिस मात्रै होईन १५औं महाधिवेशनका लागी क्रियाशील सदस्य नवीकरण र वितरणको काम समेत ढिला भइरहेको छ । पुस ३ गते सम्म पठाईसक्नुपर्ने नविकरण र ८ गते सम्म नयाँ क्रियाशीलको विवरण जिल्ला जिल्लाले नै तयार पारेका छैनन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि केन्द्रको मापदण्ड मातहतका समितिले पालना गर्नुपर्ने बताए । ‘क्रियाशील सदस्यता वितरण र नविकरणको काम समेत ढिला भइरहेको छ’, उनले मध्यान्हसँग भने,‘कांग्रेस अहिले दोहोरो दबाबमा परेकाले तल्लो तहका कार्यसमितिहरुले केन्द्रको निर्देशन फलो गरेमात्रै पार्टीले सफलता हासिल गर्छ । नत्र समयको चापले एकदमै कठिन हुन्छ ।’
कतिपय जिल्ला र क्षेत्रबाट तोकिएको मापदण्डविपरीतका सिफारिस भएर आएका विषयमा संसदीय बोर्डले निर्णय लिने उनले बताए । ‘केन्द्रले केन्द्रीय समितिको निर्णय अनुसार गरेको परिपत्र पालना गर्नु मातहत समितिको जिम्मेवारी हो । हामी एकदमै समयको चापवमा छौं । चुनावसँगै १५औं महाधिवेशनको तयारीका सम्बन्धमा क्रियाशील सदस्याताको काम चाडो सक्नु छ’ प्रवक्ता महतले भने ।