
पर्सा : पर्साको उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाको ५८औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । शिक्षक, अभिभावक र विद्यार्थीहरूद्वारा वार्षिक उत्सव भव्यताका साथ मनाइएको हो ।
वार्षिक उत्सवको अवसरमा बोल्दै पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानले विद्यालयको सहयोगका लागि आफू दत्तचित्त भएको बताएका छन् । उनले विद्यार्थीको शैक्षिक उन्नयन र विद्यालयको भौतिक व्यवस्थापनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथ्यता ग्रहण गरेका नगरप्रमुख चौहानले सधैं विद्यालयको साथमै रहेको बताए ।
उनले वार्षिक उत्सवको उद्घाटन गर्दै वर्तमान परिस्थितिमा काम गर्न समस्या भएको बताए । उनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन पश्चात् स्थायी सरकार बनेपछि विद्यालयलाई क्याम्पसको रूपमा स्थापना गर्ने आश्वासन दिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजकुमार साहले अध्यक्षता ग्रहण गरेका थिए ।
अतिथिहरू पोखरियाका प्रथम नगरप्रमुख दीपनारायण रौनियार, विद्यालय जग्गा दाता शम्भुशरण प्रसाद कालवार, पोखरिया नगरपालिकाका उपप्रमुख रुवी ठाकुर, प्रथम उपमेयर सलमा खातुन, प्रमुख प्रसाशकीय अधिकृत रामविनय सिंह, लेखा अधिकृत मन्दीप महतो, वडाअध्यक्ष लक्ष्मण साह, नौसाद आलम, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, नेता निजामोदिन समानी, श्रीकिसुन चौहान, लगायतले बार्षिक उत्सवमा क्रिकेट, फुटबल, कबडी, दौड, हाईजम्प, लङजम्प लगायत खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले नृत्य प्रस्तुत गरेका थिए ।